सङ्खुवासभामा प्रहरी दमनविरुद्ध नेकपा सडकमा

असार १९ देखि २१ गतेसम्म देशव्यापी सङ्घर्ष

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको विरोधमा यही असार तीन दिने सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्राप्त जानकारी अनुसार नेकपाले असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस निकाल्ने निर्णय गरेको छ । त्यसैगरी २१ गते देशव्यापी विशाल जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी नेकपाको केन्द्रीय कार्यालयले रातो खबरलाई दिएको छ ।

सरकारले असार १६ गते सङ्खुवासभा जिल्लाको सिलिचुङ १ सिसुवाटार होङ्लामा जनताको घरमा बास बसिरहेका नेकपाका नेता–कार्यकर्तामाथि अन्धाधुन्द गोली प्रहार गरेको थियो । उक्त घटनामा नेकपातर्फ क्षति नभए पनि सरकारी दमन तीव्र बन्दै गएपछि नेकपाले त्यसकाविरुद्ध सङ्घर्ष घोषणा गरेको हो । सरकारले जेठ ७ गते भोजपुरमा तीर्थ घिमिरे ‘राजु’ र असार ५ गते सर्लाही इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरिसकेपछि हत्या गरेको थियो । सरकारी दमन र हत्याको देशव्यापी विरोध भइरहेको सन्दर्भमा प्रहरीले सङ्खुवासभा, कालीकोटलगायत जिल्लामा व्यापक दमन सुरु गरेको छ । नेकपाले सबैखाले दमनको विरोध गर्दै आएको छ ।

२०७६ असार १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :