बाँके खोला हत्याकाण्डका मृतकका परिवारलाई क्षतिपूर्ति दिन नेकपाको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्लाको बाँके खोलामा ठेकेदारहरूको लापरबाहीका कारण खाल्डोमा परी १२ वर्षीय अमितकुमार यादवको मृत्यु भएको घटनाकाविरुद्ध आक्रोशित सर्वसाधारणमाथि जनपद र सशस्त्र प्रहरीले अन्धाधुन्द गोली चलाउँदा स्थानीय केवल महराको मृत्यु र दर्जनौँ जनसमुदाय घाइते भएको घटनाको निन्दा र भत्र्सना गरेको छ । नेकपाले राज्यको त्यस प्रकारको स्वेच्छाचारी र क्रूरताको घोर विरोध एवम् भत्र्सना गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको शीघ्र उपचार गर्न र हत्यारालाई तत्काल कारबाही गर्न पनि माग गरेको छ ।

नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले सोमबार वक्तव्य जारी गरी भनेका छन्, ‘बाँके खोलाको दुवैतर्फ ठेकदारहरूले प्रशासनसँग मिली सञ्चालित अवैध क्रसर उद्योगले व्यापक मात्रामा प्राकृतिक दोहन र जथाभाबी उत्खनन् गर्ने गरेकै कारण त्यहाँ बन्न गएको खाल्डोमा परी १२ वर्षीय अमितकुमार यादवको मृत्यु भएको छ । यसको विरोधमा आन्दोलित सर्वसाधारण जनसमुदायमाथि जनपद र सशस्त्र प्रहरीले अन्धाधुन्द गोली चलाउँदा स्थानीय केवल महराको मृत्यु र दर्जनौँ जनसमुदाय गम्भीर घाइते भएका छन् । हाम्रो पार्टी राज्यको त्यस प्रकारको स्वेच्छाचारी र क्रूरताको घोर विरोध तथा भत्र्सना गर्दछ । साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको शीघ्र उपचार र हत्यारालाई तत्काल कारबाहीको जोडदार माग गर्दछ ।’

पार्टीले अत्यधिक प्राकृतिक दोहन गर्ने सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न सम्बन्धित सबैलाई आग्रह पनि गरेको छ । वक्तव्यमा भनिएको छ, ‘बाँके खोलामा स्थानीय प्रशासन र केही जनप्रतिनिधिहरूलाई मोटो रकम खुवाई अत्यधिक प्राकृतिक दोहन गर्ने सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ । अन्यथा त्यससँग सम्बन्धित सबै पक्षको उचित भण्डाफोर र आवश्यक कारबाही गर्न आम जनसमुदायका साथमा हाम्रो पार्टीले पहल कदमी अगाडि बढाउनेछ ।’

वक्तव्यमा भनिएको छ, ‘पुलिस प्रशासनको ज्यादतीविरुद्ध स्थनीय जनताले गरेको प्रतिरोधप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता र उच्च सम्मान रहेको छ । तर त्यसलाई निहुँ बनाई हाम्रो पार्टीका कार्यकर्तालाई फसाउन राज्यले गरेको षड्यन्त्रको पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ । जनताले स्वतस्फूर्त गरेको त्यो आन्दोलनको निहुँमा हाम्रो पार्टीका कार्यकर्तालाई फसाउने कोसिस गरिएमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्नेछ ।’

अरुणको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘क्रसर उद्योगका ठेकेदार, घुस्याहा जनप्रतिनिधि र प्रशासनकाविरुद्ध आम जनसमुदायलाई अझ बढी भण्डाफोर गर्न र आवश्यक आन्दोलन गर्न हाम्रो पार्टी अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :