सरकारी दमन र प्रतिरोध सङ्घर्ष

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला देशव्यापी रूपमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने एकीकृत जनक्रान्तिको महान् अभियानमा अगाडि बढिरहेको छ । हाम्रो अभियानको लहर अभियानको व्यापकता र यसको बहुआयामिक सफलता देखी आम न्यायप्रेमी जनसमुदायमा उत्साह, उमङ्ग र आशाको रक्तसञ्चार भएको छ भने अर्कोतर्फ यसको सफलता निकट आउँदै गरेको यसको विजय र आफ्नो तथाकथित व्यवस्थाको शर्मनाक पराजयबाट अत्ताल्लिएर सामाजिक फासिवादी दलाल सरकारले हाम्रो पार्टी र क्रान्तिकारी आन्दोलनलाई प्रतिबन्ध लगाउँदै हाम्रो पार्टीका नेता, कार्यकर्ता र समर्थकविरुद्ध हत्या, गिरफ्तार र झूट्टा मुद्दाको अनैतिक अभियान नै चलाएको छ ।

सरकारले हाम्राविरुद्ध कपोलकल्पित घटनाहरू बनाउने, राजनीतिक आन्दोलनलाई अपराधसँग जोड्ने र एकीकृत जनक्रान्तिले राखेको सुन्दर समाज निर्माणको अभीष्टमाथि विष बमन गर्ने र कतिसम्म भने हाम्रो अभियानलाई आतङ्कवादसँग जोडेर हामीलाई निर्मूल र निस्तेज गर्न राज्यशक्तिको दुरुपयोग गरी हाम्रा विरुद्ध प्रहरी प्रशासन परिचालन गर्ने र हाम्रा निहत्था कार्यकर्तालाई आफ्नो कब्जामा लिई गोली प्रहार गरेर हत्या गर्ने घृणित कार्यमा यो फासिवादी दलाल सत्ता उत्रिएको छ । अब क्रान्तिकारी पार्टी न्यायप्रेमी जनसमुदाय र देशभक्त शक्तिहरू मिलेर प्रतिरोध सङ्घर्षको उठान गर्नुपर्ने बाध्यात्मक परिस्थिति हाम्रो अगाडि आइपुगेको छ ।

के हामी तयार छौँ ?

जब राज्य राजनीतिक सङ्घर्षमा पराजित हुन्छ, जब शासकहरू वैचारिक सङ्घर्षमा पराजित हुन्छ, जब सत्ता आफ्नो व्यवस्था स्थापित गर्ने उद्देश्यमा शर्मनाक पराजय बेहोर्छ, उसले आफ्नो सत्ता रक्षार्थ बन्दुकको प्रयोग गर्दछ र क्रान्तिकारीहरूलाई बन्दुकको घेराभित्र कैद गर्ने दुष्प्रयास गर्दछ । आज हाम्रो आन्दोलनको अगाडि राज्यद्वारा तेस्र्याइएको बन्दुक मुख्य चुनौतीका रूपमा आएको छ । क्रान्तिका विरुद्ध, जनताको न्यायपूर्ण आन्दोलनका विरुद्ध उठेका मुठीभर दलालहरूको दुस्साहसपूर्ण बन्दुकका विरुद्ध के हामी न्यायपूर्ण बन्दुक उठाउन सक्छौँ ? पक्कै पनि सक्छौँ र सक्नुपर्छ । फेरि पनि प्रश्नहरू छन्– के बन्दुक नै समाधान हो त ? पक्कै पनि होइन तर बाध्यात्मक परिस्थितिले हामीलाई त्यतै धकेलिरहेको अनुभूति हुँदैछ । इतिहाससिद्ध कुरा यो पनि छ– सामन्ती, रूढिवादी सत्ताद्वारा जनता र क्रान्तिका विरुद्द उज्याइएका हतियारहरू जति नै शक्तिशाली हुन्, ती नयाँ विचार र जनताको शक्तिसँग हारेका छन् । अहिलेको परिवेशमा दलाल सामाजिक फासिवादीहरूले हाम्राविरुद्ध उज्याएका शक्तिशाली हतियारहरू पनि हाम्रो एकीकृत जनक्रान्तिको नूतन विचारसँग पराजित हुनेछ मात्र हामीले हाम्रो आदर्श ठानेको, हाम्रो जीवन मानेको सहिदको रगतले लत्पतिएको एकीकृत जनक्रान्तिको झन्डालाई पक्डिँदै प्रतिरोध सङ्घर्षमा होमिन जरुरी छ । असत्यको हार र सत्यको जितलाई रोक्ने शक्ति यो बह्माण्डमा कसैसँग छैन । हामी न्यायको बाटोमा छौँ । हामी सत्यको यात्रामा छौँ र हामी जित्छौँ–जित्छौँ ।

हाम्रो आह्वान छ सुरक्षा निकायका अफिसर तथा जवान साथीहरूसँग– यो सङ्घर्ष कुनै पनि सुरक्षा निकायसँगको होइन । हाम्रो आन्दोलन दलाल संसदीय व्यवस्था र यसले खडा गरेको भ्रष्टाचार, कमिसन, लुट, राष्ट्रघात, जनघातका विरुद्ध हो । हामी के मान्छौँ भने हरेक क्षेत्रमा रहेका इमानदार, देशभक्त नागरिकहरू एकीकृत जनक्रान्तिका सिपाही हुन् र हरेक क्षेत्रमा देशलाई टाट पल्टाउने दलालहरू यसको निसानामा छन् । देशलाई बर्बादीको खाडलबाट मुक्त गर्ने दायित्व सबैको बराबरको हो । आउनुहोस् सहकार्य गरौँ । दलालहरूको विरुद्धमा संयुक्त सङ्घर्षको उठान गरौँ । बन्दुकले सत्ता टिकेको इतिहास छैन र अब पनि टिक्दैन ।

२०७६ असार १३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :