मजदुर नेतालाई बिनासर्त रिहा नगरिए कडा सङ्घर्ष गर्ने चेतावनी (विज्ञप्तिसहित)

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घले आफ्नो सङ्गठनका केन्द्रीय सदस्यसमेत रहेका अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर सङ्घका अध्यक्ष लोकेन्द्र थापालाई सरकारले असार ९ गते बिहान ललितपुर खोकना दोबाटोबाट बिनाकारण गिरफ्तार गरी हिरासतमा राखेको भन्दै तत्काल बिनासर्त रिहाइको माग गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष लोकबहादुर पल्लीमगरले बिहीबार प्रेस वक्तव्य प्रकाशित गर्दै गिरफ्तार मजदुर नेतालाई बिनासर्त रिहा नगरिए कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

सङ्गठनका कार्यवाहक अध्यक्ष मगरले वक्तव्यमा भनेका छन्, ‘यसबेला हाम्रो सङ्गठन श्रमिकवर्गको सुन्दर सपनामाथि घात गर्ने तत्वहरूकाविरुद्ध निर्णायक सङ्घर्षका पक्षमा छ । आम श्रमिकको एक मात्र उद्देश्य वैज्ञानिक समाज व्यवस्था स्थापना गर्ने रहेकाले अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ निर्दिष्ट लक्ष्यप्रति पूर्ण प्रतिबद्ध छ ।’

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा चित्रण गर्दै वक्तव्यमा भनिएको छ, ‘ यतिखेर नेपाली श्रमजीवी जनताले आफ्नो अधिकारको लागि फेरि एकचोटी जाग्नु पर्ने अवस्था आएको छ । कथित कम्युनिस्ट सरकारको रबैया एकपछि अर्को हिंसात्मक बन्दै गएको छ । श्रमजीवी मजदुर, किसान, उत्पीडितवर्ग र समुदायको त्याग, तपस्या र बलिदानबाट प्राप्त राजनीतिक अधिकारमाथि बुट बजार्दै पञ्चायती शैलीको दमनमा राज्य उत्रेको छ । हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधप्रति मूकदर्शक बनिरहेको सरकार आफैँ निर्दोष तथा निहत्था जनतामाथि क्रूरता प्रदर्शन गरिरहेको छ । बहुमतको घमण्डबाट साँढेझैँ बनेको गृह प्रशासन श्रमिक मजदुरमाथि झम्टिरहेको छ ।’

मगरको वक्तव्यमा भनिएको छ, ‘जनघात, राष्ट्रघात, महँगी, बेरोजगार समस्या अझै पनि ज्यूँकात्यूँ छन् । संविधान र कानुनलाई धज्जी उडाउँदै सर्वसाधारण श्रमिकलाई पक्राउ गर्ने, झूट्टा मुद्दा लगाउने र यातना दिने कार्यले राज्यको ज्यादती कतिसम्म निर्लज्ज छ भन्ने विषय आम श्रमजीवी जनतामा छर्लङ्गै छ । सामाजिक दलाल पुँजीवादी राज्यसत्ता कुन वर्गको सेवामा समर्पित छ भन्ने विषय उसैको फासिवादी गतिविधिबाट प्रस्ट हुन्छ । असफल संसदीय व्यवस्थाको असली पहरेदार बनिरहेको केपी–पीके मण्डली गरिब, दुःखी, असहाय श्रमिक जनतामाथि जङ्गली बर्बरता कायमै राख्ने षड्यन्त्रमा तल्लीन रहेको छ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :