व्यक्तिहत्याको विरोध : सडकदेखि सदनसम्म


काठमाडौं : प्रहरीको गोलीबाट मारिएका नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको विषयलाई लिएर चौतर्फी विरोध भएको छ । राजनीतिक पार्टीका नेतालाई नक्कली भिडन्तकानाममा नियन्त्रणमा लिएर कुमार पौडेलको हत्या भएको भन्दै सत्तारूढ पार्टीका नेता–कार्यकर्ताले नै विरोध गरेका छन् भने पौडेल हत्याकाण्डको विषय संसद्मा समेत प्रवेश गरेको छ । संसद्मा सत्तापक्ष र प्रतिपक्षका सांसद तथा विभिन्न पार्टीसँग सम्बद्ध पार्टीका नेता, कार्यकर्ता, भ्रातृसङ्गठनका नेताहरूले समेत कुमार पौडेल हत्याकाण्डका बारेमा सरकारसँग जबाफ माग गरी राजनीतिक व्यक्तिको हत्यामा सरकार उत्रिएको भन्दै सरकारी कदम ठीक नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सरकारी नेकपाका नेता शिवकुमार मण्डल, काङ्ग्रेस नेता दिलेन्द्रप्रसाद बडु, मीना पाण्डे, जनार्दन शर्मा ‘प्रभाकर’ लगायतले संसद्मै कुमार पौडेल हत्याकाण्डकाबारेमा सरकारसँग जबाफ माग गरेका छन् । उनीहरूले आस्थाका आधारमा व्यक्तिहत्या गर्न नहुने भन्दै घटनाको प्रकृति हेर्दा मुठभेड नभई नियन्त्रणमा लिएर गोली हानिएको बताएका छन् । उनीहरूले संसद्मा सरकारलाई प्रश्न गरेका छन्– मुठभेडमा मारिएको व्यक्तिको हात कसरी पाँच–छ ठाउँमा भाँचिन्छ ? सांसदहरूले पौडेल हत्याका विषयमा सदनलाई जानकारी गराउन माग गरे । उक्त विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागिएको छ । चौतर्फी दबाबपछि संसदीय सुनुवाइ समितिले हत्याकाण्डको छानबिन गर्न एक समितिसमेत गठन गरेको छ । यता राष्ट्रिय मानवअधिकार आयोगले पनि उक्त हत्याकाण्डको अनुसन्धान सुरु गरिसकेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले सरकार व्यक्तिहत्यामा उत्रेको र फासिवादी शासनको अभ्यास गरेको बताएका छन् । साथै उनले यो सरकार नक्कली कम्युनिस्ट सरकार हो भन्ने कुरा उनका व्यवहारले पुष्टि गरेको बताएका छन् ।

यसैबीच पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता लोकेन्द्र बिष्टमगरले के कुमार पौडेल भिडन्तमै मारिएका हुन् त भन्ने प्रश्न गर्दै सरकारलाई रक्तप्यास जागेको हो कि भन्दै कतै कानुनले आत्महत्या गरेको हो भनी सिंहदरबारसँग जबाफ माग गरेका छन् ।

चर्चित सिने कलाकार एवम् ‘नो ट्याक्स, नो एनसेल’ अभियानकी अभियन्ता रेखा थापाले भनेकी छिन्, ‘यो राज्यआतङ्कको एक भद्दा रूप हो । यो नालायक र पाखण्ड सरकारले राजनीतिक आस्थाका आधारमा मानिस मार्नु गैरकानुनी काम हो ।’ नरबहादुर कार्कीको गिरफ्तारीपछि कलाकार थापाले भनेकी छिन्, ‘कुनै पार्टीको समर्थन गर्न पनि नपाइने यो कस्तो गणतन्त्र हो ?’

यस्तै सत्तारूढ पार्टीनिकट विद्यार्थी सङ्गठनका नेता केशव रावलले गृहमन्त्रीका नाममा चिठी लेख्दै भनेका छन्, ‘गृहमन्त्रीको हैसियतमा रामबहादुर थापा ‘बादल’ ले गरेका काम निषेधित एरिया तोक्ने, फेक इन्काउन्टर, विप्लव नेकपासँगका फेक २ भिडन्त र दुई नेताको हत्या, केही टिप्पणी र संसद्को सम्बोधन, नेकपामाथिको प्रतिबन्ध, आस्थाकै आधारमा पक्राउ, धरपकड, झूट्टा मुद्दासम्म आइपुग्दा र पञ्चायती शासनको झल्को आएको छ ।’ रावलले फेक इन्काउन्टर र भिडन्तको छानबिन गर्न माग गर्दै गृहमन्त्री कम्युनिस्ट आदर्शबाट च्यूत भएको कारण देश भड्खालोमा फस्न लागेकाले गृहमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।

यस्तै अर्का विद्यार्थी नेता जागृत रायमाझीले फेसबुकमा स्टाटस लेख्दै दोहोरो भिडन्तका नाममा नेकपाका नेतामाथि गरिएको हत्याको कारण बादल खुमबहादुर खड्काभन्दा एक थोपा रगतले पनि फरक नभएको बताएका छन् । यसैबीच व्यक्तिहत्याको विरोधमा नेकपाले एकदिने नेपालबन्द गरेको छ भने विभिन्न विरोधका कार्यक्रम पनि गर्दै आएको छ भने हत्याको बदला लिने र दमनको प्रतिरोध गर्ने घोषणा गरिसकेको छ ।

यसरी राजनीतिक आस्थाकै आधारमा गरिएको यस प्रकारको व्यक्तिहत्याका कारण केपी वली सरकार र रामबहादुर गृह प्रशासनको चौतर्फी आलोचना भएको छ ।

२०७६ असार ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :