कञ्चनजङ्घालाई जबाफ !

कविता

यतिबेला
म वयस्क बनिसकेपछि
तन्नेरी कञ्चनजङ्घालाई हेरिरहेको छु
कञ्चनजङ्घा मुसुक्क मुस्कुराउँदै
मलाई प्रश्न गरिरहेको छ
झस्काउन खोजिरहेको छ
समय चलिरहेको छ
परिस्थिति अदलबदल भैरहेको छ
रौँहरू
बगरमा सिरु फुलेझैँ
फुल्न खोजिरहेका छन्
म अडिएर कञ्चनजङ्घालाई सुन्दैछु
किनकि
कञ्चनजङ्घा मात्र यस्तो साक्षी हो
जसले मेरो धेरै पुरानो सभ्यतादेखि
आजको वयस्क समयसम्म नियालिरहेको छ
चमचम चहकाएर
लाखौँको वाहवाहीबाट पुलकित बनेर
कञ्चनजङ्घा मतिर फर्किएर
मलाई भन्दैछ
म सुन्दैछु
मेरो फेदीमा चौँरी पाल्ने शेर्पाले
अहिलेसम्म राम्रो खानै सकेन
ताप्लेजुङका अग्ला पहाडहरूमा
खच्चड डोहोर्याउनेहरूले
अहिलेसम्म राम्रो लाउनै पाएनन्
अग्लो पहाडको चेपबाट झुल्किने
बिहानीको झुल्के घाम
नित्य अस्ताइरहेको छ त्यसैगरी
तर म निहालिरहेको छु रातमा पनि
पाँचथरका पाखाहरूमा बस्नेहरूले
धित मरुन्जेल पानी कहिल्यै पिउन पाएनन्
तेह्रथुमका बेसीहरूमा
लेकबाट झरेर माटो कोट्ट्याउने किसानले
उपचार कहिल्यै पाउन सकेन
इलामका चुरेहरूमा बाख्रा चराउनेहरू
चोयाको डोको र थुन्से बनाउनेहरू
तराईका बजारबाट नुन बोक्नेहरूले
कहिल्यै न्याय पाएनन्
झापाका किसानहरू, मजदुरहरू
सुकुमबासी र ज्यालादारीहरूले
द्यसनङ्ग्रा खियाउँदै
तरतर पसिना बगाए पनि
छरछर रगत बगाए पनि
राम्रो कहिल्यै खान पाएनन्
राम्रोमा कहिल्यै बस्न पाएनन्
हेर ! तिनैको जिन्दगी
पशुतुल्य छ आज पनि
मालिकले दास बनाइरहेका छन्
महाजनहरूले गोरुलाईझैँ जोतिरहेका छन्
कञ्चनजङ्घा निरन्तर हेरिरहेको छ
मुसुक्क मुस्कुराएर मोरङलाई पनि हेर्दैछ
सुनसरीलाई पनि
पूर्वका धेरै पहाडहरू कञ्चनजङ्घाको आँखाबाट
हट्न सकेका छैनन्
त्यतिबेलादेखि जतिबेला हाम्रो सभ्यता
जीव भएर ताते गर्न खोजिरहेको थियो
र यतिबेला हामी भूमण्डलीकरणको
तातोतातो लुटका लप्कासँग
नजिकबाट भिडिरहेका छौँ वयस्क बनेर
कञ्चनजङ्घा फेरि प्रश्न गर्छ मलाई
तँ अझै कति लड्छस् ?
तेरा आफ्नाहरूको तैँले कहिल्यै याद गर्नु पर्दैन ?
तँ आफूले आफ्नो ख्याल राख्नु पर्दैन ?
कञ्चनजङ्घा आफूलाई मात्र खुसी ठान्छ सायद !
दुनियाँको बिजोग बयान गर्छ
तर ऊ सग्लो उभिएर हाँसिरहन्छ
मानौँ ऊ मात्र यो दुनियाँमा खुसी छ !
मलाई पनि केही बोल्न मन छ !
केही भन्न मन छ, आफ्नै जीवनलाई हेरेर
हो ! कञ्चनजङ्घाले सदिऔँदेखि हेरेजस्तै
मैले पनि हेरेको छु र बुझेको छु !
मालिकले लुटिरहेका कयौँ मलिन अनुहारहरू
उपचार नपाएर छट्पटिएका हजारौँ जनहरू
खान नपाएर तड्पिरहेकाहरू
बस्ने सानो झुपडी नभएर सडकमा भौँतारिएका
सुकुमबासी र दुखियाहरू
ती सबै मेरा आफन्तहरू हुन्
मेरो आफ्नै नजिकका हितैसीहरू हुन्
मेरा नातेदारहरू हुन्
कञ्चनजङ्घालाई थाहा रहेनछ
मेरो आमाको कानमा सुन छैन
आङमा राम्रो सारी छैन
तर अहँ कहिलै सुन ल्याइदे भन्नुभएन
बरु भन्नुभयो– छोरा ! त्यो छिमेकी अस्पतालमा छ रे
पैसा नभएर छट्पटिएको छ
जा ! गएर सकेको सहयोग गर
म मेरी आमाको सपना, चाहना पूरा गर्दैछु !
किनकि ती सबै दुःखीहरू मेरी आमाका आफन्तहरू हुन्
मेरी आमालाई त्यति बेला दुःख लाग्नेछ
जतिबेला मैले मात्र मेरा लागि
सुखको आकाङ्क्षा राख्ने छु र एक्लै रमाउनेछु
आमा त्यतिबेला मूर्छित बन्नेछिन्
जतिबेला म आफ्नो उद्देश्यबाट भाग्नेछु
र आमा त्यति बेला ढल्नेछिन् जति बेला
मैले कञ्चनजङ्घाजस्तै निर्जीव दर्शक बनेर
दुनियाँको दुःखको अगाडि मुसुक्क मुस्कुराउनेछु
हाँस्नेछु…
त्यसैले
भयो ! कञ्चनजङ्घा मलाई तेरो आदर्श
तेरो अर्ती चाहिएको छैन
मलाई त बरु तेरो साथ चाहिएको छ
दुनियाँलाई भनिदे ! क्रान्तिकारी यस्तो जात हो
जसले मलाई युगयुगसम्म हाँस्न सक्षम बनाइराख्न सक्छ

२०७६ असार ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :