नेकपाका केन्द्रीय सदस्य ओली रिहा, दाङमा राजनैतिक तथा वैचारिक कार्यक्रममा अभिनन्दन


दाङ : नेकपाका केन्द्रीय सदस्य बलबहादुर वली ‘सितल’ २७ दिनपछि सुर्खेत प्रहरीको हिरासतबाट बुधबार रिहा भएका छन् । दाङको ९ नं. एरियामा बुधबार आयोजना गरेको राजनैतिक तथा वैचारिक कार्यक्रममा उनलाई सम्मान तथा अभिनन्दन गरिएको हो ।

सो पार्टीको भेरीब्युरो इन्चार्ज सितललाई गत जेठ ७ गते सुर्खेतमा प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको थियो । २७ दिनपछि रिहा भएका सितललाई दाङ जिल्ला इन्चार्ज सविनले टिका, फूलमालासहित अभिनन्दन गरे । सितलसँगै गिरफ्तार भएका पार्टीका सुर्खेत जिल्ला सेक्रेटरी यमराज पनि रिहा भएका छन् ।

अभिनन्दनपछि मन्तव्य राख्दै सितलले फासिवादी कदमले वर्तमान केपी ओली सरकार असफल सावित भएको बताए । उनले सरकार विभिन्न क्षेत्रमा भ्रष्टाचारको जालोले झनझन जेलिँदै गएको, देशका राष्ट्रिय स्रोत तथा सम्पत्तिको रक्षा गर्नुको साटो बिक्री गरेको र दलालीकरण बढेको, आफ्नै आन्तरिक अन्तरविरोध तथा उसको कार्यशैलीको चौतर्फी विरोध हुनुले सरकार असफल सावित भएको दावी गरे ।

२७ दिनपछि हिरासत मुक्त भएका सितलले अर्को एक प्रसंगमा कथित बहुमतको सरकारले प्रतिबन्ध लगाए पनि कानुनी ढंगले आफ्नो पार्टी प्रतिबन्धित नभएको कुरा अदालतले पुष्टि गरिसकेकाले सबै नेता कार्यकर्तामा नआत्तिएर आफ्नो अडानमा अडिग हुन अपिल गरे । कार्यक्रममा प्रशिक्षण दिँदै दाङका इन्चार्ज सविनले राजनैतिक रुपले आफूहरु प्रतिबन्धलाई खारेज गरिसकेको दाबी गरे ।

आफुहरुको पार्टीलाई प्रतिबन्ध लगाउनुको कारणहरु उल्लेख गर्दै उनले पहिलो आफ्नो पार्टीले दलाल पुँजीवादी व्यवस्थाको विरुद्धमा लडेकोले पार्टी दिन दुई गुणा रात चौगुणाको हिसाबले सुदृढीकरण भइरहेको दावी गरे ।

कार्यक्रममा दाङका सेक्रेटरी विक्रम, जिल्ला कार्यालय सदस्य प्रदिप वली लगायतले राजनैतिक तथा वैचारिक प्रशिक्षण दिएका थिए । एरिया इन्चार्ज तिलक योगी र एरिया सेक्रेटरी रुद्र ओलीले पनि मन्तव्य राखेका थिए भने कार्यक्रममा भर्खर जेलबाट रिहा भएका जीवनलाई पनि अभिनन्दन गरिएको थियो ।

२०७६ असार ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :