बलिदानको महत्व

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
– भूपी शेरचन

वर्गसङ्घर्षमा त्याग, शौर्य, साहस र बलिदानको ठूलो अर्थ र महत्व छ । अत्याचारी सत्ताबाट भएका अनेक किसिमका शोषण, दोहन, थिचोमिचो, अन्याय, अत्याचारका विरुद्ध अभिव्यक्त जनआक्रोश अन्तिममा कम्युनिस्ट पार्टीको नेतृत्वमा आन्दोलन, सङ्घर्ष, विद्रोह, युद्ध हुँदै क्रान्तिमा सङ्गठित हुन्छ, मुखरित हुन्छ र अत्याचारी सत्ताहरू ढल्छन् । त्यतिखेरसम्म आइपुग्दा जनस्तरबाट, पार्टीका शुभचिन्तक, समर्थक, कार्यकर्ता र नेतृत्व स्तरबाटै सबैभन्दा बढी त्याग, शौर्य, साहस र बलिदानको आवश्यकता पर्छ, परेको छ । यो वर्गसङ्घर्षको अनिवार्य नियम हो । महान् जनयुद्धमा तत्कालीन नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ देखि केन्द्रीय सदस्यहरू विशाल, कुमार, प्रताप, रामवृक्ष, सुनील, कृष्ण सेन ‘ इच्छुक’ लगायत कयौँ केन्द्रीय र स्थापित नेतृत्वको बलिदानीले यसलाई प्रमाणित गरेको थियो । क्रान्तिमा बलिदानको मूल्य, मर्म, अर्थ र महत्वलाई स्वीकार्नैपर्छ र गौरव गर्नुपर्छ । एकीकृत जनक्रान्तिका महान् सहिदहरू धनरूप बटाला, सनराइजदेखि तीर्थ घिमिरे ‘राजु’, महान, दीपेन्द्र, प्रज्वल शाही, निरन्तर हुँदै रामकुमार श्रेष्ठसम्म आइपुग्दा नेपाली वर्गसङ्घर्ष बलिदानको उच्च मूल्यबोध र आवश्यकता बढिरहेको प्रमाणित भएको छ ।

बलिदानबिना परिवर्तन र मुक्तिको अपेक्षा गर्नु बिनाअर्थको आदर्शवाद मात्र हो । इतिहासमा स्पार्टाकसको नेतृत्वमा भएको दासविद्रोहदेखि गत शुक्रबार रामकुमार श्रेष्ठको बलिदानसम्म आइपुग्दा बलिदान आमूल परिवर्तन अर्थात् क्रान्तिको एउटा अनिवार्य सर्त हो र यो पार गरेर मात्र लक्ष्यमा पुगिन्छ भन्ने प्रमाणित हुँदै आएको छ र भएको छ । नेकपाका महासचिव कमरेड विप्लवले भन्नुभएको छ, ‘हामी सहिदको रगत खेर जान दिनेछैनौँ ।’ एकीकृत जनक्रान्ति स्पार्टाकसको दासविद्रोहदेखि जनयुद्धसम्मका त्याग, शौर्य, साहस र बलिदानको समुच्च हो र समग्र क्रान्ति हो । त्यसैले विगतदेखि वर्तमानसम्मका सबै विद्रोह र बलिदान वैज्ञानिक समाजवाद स्थापनाका लागि ऊर्जा हुन् । सम्पत्ति हुन् । भविष्यले मात्र होइन, वर्तमानले नै यिनको उचित मूल्याङ्कन गर्नुपर्छ । क्रान्ति सफल पारेरै बलिदानको उचित मूल्याङ्कन गर्न सम्भव छ । परिस्थिति त्यही अवस्थातिर अग्रसर छ ।

नेपालमा निरङ्कुश राणाशासक जङ्गबहादुरका विरुद्ध विद्रोहको झन्डा उठाउने लखन थापाको विद्रोह र बलिदानलाई प्रथम बलिदानका रूपमा सङ्गठित गरिएको छ । यद्यपि बलिदानको कोटा त्यसअघि पनि चुक्ता भएका बहसहरू उठेका छन् । त्यसपछि उठेको विद्रोह र बलिदानको शृङ्खला ऊभन्दा ऊ कीर्तिमानलाई पछि पार्दै अघि बढिरहेको छ ।

राणाशासनविरुद्ध मकैको खेतीका नायक कृष्णलाल अधिकारी हुँदै ०९७ सालका गङ्गालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्रीलगायत चार सहिद, ०७ सालको विद्रोह र थीरबम मल्ल, ०७ पछि चिनियाँकाजी श्रेष्ठ, भीमदत्त पन्त, हुँदै झापा विद्रोह र त्यस विद्रोहका नायक सहिदहरू, कमरेड आजाद, हुँदै राजन रायमाझीसम्मका सहिदहरूले वर्गसङ्घर्षको यही अनिवार्य नियम पूरा गरेर क्रान्तिलाई ऊर्जा दिएका छन् । ०४६ सालको जनआन्दोलनका सहिदहरूको त्याग र शौर्यले २०५२ सालदेखि आरम्भ भएको जनयुद्धलाई ऊर्जा दियो र दिलबहादुर रम्तेलदेखि सुरेश वाग्ले ‘वासु’ हुँदै जनयुद्धका नौ हजारभन्दा बढी सहिदहरूले बगाएको रगतको ऊर्जाले एकीकृत जनक्रान्ति सफलताको दिशामा अघि बढिरहेको छ ।

महासचिव विप्लवले भन्नुभएको छ, ‘हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ । साथै राज्यआतङ्क, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न विशेष आह्वान पनि गर्दछौँ ।’

वर्तमान केपी–पीके सरकार जनविद्रोह दमन गरी बलिदानको मात्रा बढाउने षड्यन्त्रमा रहेको कुरा धनरूपदेखि रामकुमारसम्म आइपुग्दा छर्लङ्गै देखिएको छ । व्यक्तिगत स्वार्थबाट मुक्त भएर क्रान्तिमा होमिएको महान् व्यक्तित्वले मात्र सहिदजस्तो महान् पदवीको दाबी गर्न सक्छ । म जितेर आउँछु, नत्र सहिद बन्छु र पार्टीको झन्डा ओढ्छु भन्ने हिम्मत जोसुकैले गर्न सक्तैन । प्रचण्ड–बाबुराम र रामबहादुर थापाहरूले जनयुद्धका महान् सहिद, बेपत्ता योद्धा र घाइते अपाङ्ग योद्धाहरूका सपना प्रतिक्रियावादी सत्तासँग साटे पनि क्रान्ति र परिवर्तनका लागि नेपाली माटो सदा तयार छ भन्ने एकीकृत जनक्रान्तिमा रहरलाग्दो उमेरका युवाहरूको लामबद्धता, त्याग, शौर्य र बलिदानले प्रमाणित गरेको छ । सम्पादकीय

२०७६ असार ४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्