नेकपाका ९नेता रिहा, पुनः गिरफ्तार गर्ने प्रहरीको योजना


कास्की : उच्च अदालत पोखरा बार एसोसिएसन भवनबाट मध्यरात गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका कास्कीका जिल्ला सेक्रेटरी आक्रोशसहित ९ जना विद्यार्थी नेताहरुलाई रिहा गर्न अदालतले दोस्रो पटक आदेश दिएको छ ।

मंगलबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहस सुनुवाईपछि उच्च अदालत पोखराका माननीय मुख्य न्यायाधिश यज्ञप्रसाद बस्याल र माननीय न्यायाधिश रामप्रसाद खनियाको संयुक्त इजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पोखराको आदेश अनुसार रिहा भएको भनिएका नेकपाका नेता तथा कार्यकर्ताहरुमा कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’, नेकपा कास्कीका जिल्ला सदस्य एवंम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक मिलन राई, अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल (क्रान्तिकारी)को पिएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एवंम सहिद पुत्र सुजन सापकोटा, सचिब राजन साउद र गगन परियार रहेका छन् ।

उच्च अदालत पोखराले अदालतका रजिस्ट्रारको उपस्थितिमा उनीहरुलाई रास्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत पोखरा बार एसोसिएसनका पदाधिकारीको रोहबरमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेश वमोजिम रास्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत द्वय ज्योतिप्रसाद घिमिरे र टंक खनाल तथा उच्च अदालत पोखरा बार एसोसिएसनका अध्यक्ष रोहितराज बास्तोलाले उनीहरुलाई बुझेको कागज गरेका छन् ।

अदालतमा आफुहरु रिहा भएको कागजमा सहीछाप गरिसकेका उनीहरुलाई आज (मंगलबार) पनि फेरी गिरफ्तार गर्ने तयारी गरिएको समाचार प्राप्त भएको छ ।

उच्च अदालत पोखरा परिसरमा रहेको बार एसोसिएसनको भवनबाट मध्यरात उनीहरुलाई गिरफ्तार गर्दा ब्यापक बिरोध भएपछि उनीहरुलाई अदालत परिसर बाहिर निस्कनासाथ गिरफ्तार गर्ने तयारी कास्की प्रहरीले गरेको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, अदालत परिसर बाहिर निस्कना साथ प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ लैजाने तयारी गरिरहेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँबाट राजद्रोह सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

२०७६ असार ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :