एकीकृत जनक्रान्तिको स्कुल र नयाँ विश्व–सभ्यता

 

२०७४ साल भदौमा नेकपाका महासचिव कमरेड विप्लवले केन्द्रीय स्कुलको उद्घाटन गरेपछि अभियानात्मक रूपले देशभर स्कुलहरू सञ्चालन भए । ती स्कुलमा कति प्रशिक्षित भए र केकस्ता प्रश्नहरू गरिए ? साथै यो एकीकृत जनक्रान्तिको कम्युनिस्ट स्कुल कसरी नयाँ विश्व मानवसभ्यतासँग जोडिएको छ ? के पुँजीवादी विचारकहरूले भनेजस्तो ‘सभ्यताको अन्त्य’ भएको हो ? हैन भने वास्तविकता र विकल्प के हो ? यी विषयमा थुप्रै ग्रन्थहरूको आवश्यकता होला तर यहाँ सङ्क्षिप्त चर्चा गरौैँ ।

स्कुलका गतिविधिहरू

२०७४ भदौदेखि २०७५ फागुनसम्म, पूर्व ताप्लेजुङको हेल्लोकदेखि पश्चिम डँडेल्धुराको जोगबुढासम्म, उत्तर हिमालदेखि दक्षिण तराईसम्म जम्माजम्मी २४ वटा स्कुल सम्पन्न भए । एउटा स्कुलमा न्यूनतम् १२ देखि अधिकतम् ८० जनासम्म नेता–कार्यकर्ता सहभागी भए र समग्रमा ९ सय ६० जना प्रशिक्षित भए । मालेमावादका तीन सङ्घटक अङ्ग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयहरूमा स्कुल भयो । जम्मा ५ सय ७६ कक्षाहरूमा ३० श्रमका र ४५ जति विज्ञानप्रविधिका क्लास भए ।

यो अभियान स्कुलिङ विभागको नेतृत्वमा प्रशिक्षकका रूपमा पार्टी महासचिवदेखि स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय र क्षेत्रीय ब्युरो सदस्यले भाग लिए भने केही विषयगत विज्ञहरू पनि आमन्त्रित प्रशिक्षकका रूपमा सहभागी भए । उत्सुकतापूर्ण जिज्ञासासहितका थुप्रै प्रश्नहरूले भरिएका दिमागहरू, आक्रोशित अमिलिएका भारी मनहरू र औपचारिक शरीरहरू लिएर स्कुलमा प्रवेश भएकाहरू स्कुल सकिँदा सापेक्ष स्पष्टतासहित आशावादी र खुसी भएर निस्किए ।

स्कुलमा प्रश्नोत्तर

सभ्य मानिस भएर बाँच्ने आफ्नो सङ्घर्षमा मानिसहरूलाई आउने समस्या र हुने असफलताले कहिलेकहीँ विज्ञानको सीमा र नयाँ नियमको उद्घाटन गरिदिन्छ । हो, जनयुद्धको असफलताले पनि समाज विज्ञान मालेमाको सीमा र थप नियमको उद्घाटन गरिदिएको छ । परिणामतः एकीकृत जनक्रान्तिको नयाँ स्कुल खडा भएको छ । यसले एकातिर बाह्य साम्राज्यवादी, संशोधनवादी हमलाको प्रतिवाद गर्नुछ भने अर्कोतिर आफ्नै वृत्तमा मालेमावाद र क्रान्तिप्रतिकै आशङ्का र अविश्वासको सामना गर्नुपर्नेछ । त्यसैले अहिले उठेका र उठाइने प्रश्नको उत्तर दिँदा परिभाषा, व्याख्या र छलफल समावेश गर्नुपर्ने देखिन्छ ।

क्रान्तिमा फेरि पनि पहिलेको जस्तो हुँदैन र जितिन्छ भन्ने के ग्यारेन्टी छ ?

हो, विज्ञानमा ग्यारेन्टी हुन्छ र हुनुपर्छ । तर माओले भनेझैँ समाज विज्ञानमा कहिलेकहीँ ‘वर्गसङ्घर्षमा सामेल शक्ति सन्तुलनका कारण सही विचारको पनि हार हुन्छ ।’ भने कहिलेकहीँ असफलताले विज्ञानको सीमा र थप नियमको पनि उद्घाटन गर्दछ । विगत क्रान्तिमा वस्तुगत रूपमा क्रान्तिको रणनीति र कार्यनीति, समग्रमा कार्यदिशामा आवश्यक विकास गर्न नसकेर र आत्मगत रूपले नेतृत्वले उचित बलिदानका लागि आँट नगरेर क्रान्ति हारियो । अब त्यसो हुनेछैन किनकि हामीसँग सामाजिक क्रान्तिको विज्ञान मालेमावाद छ र यसमा आधारित भएर क्रान्तिको नयाँ कार्यदिशा विकास गरेका छौँ । साथै देश र जनताको मुक्तिका लागि आवश्यक पर्ने बलिदानका निम्ति पनि तयार भएका छौँ । त्यसैले विगतको जस्तो क्रान्ति हुनेछैन । हाम्रो भविष्य उज्ज्वल छ र सफल हुनेछौँ ।

पार्टीले विकास गरेको एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा के हो र यो कसरी सफल हुन्छ ?

मालेमावाद– सशस्त्र जनविद्रोह र दीर्घकालीन जनयुद्ध– का आधारभूत सार्वभौमिक पक्षसहित समकालीन परिवर्तित समाजका नगरसमाज, मध्यमवर्गको विकास, विज्ञानप्रविधिको विकास, मिश्रित नेपाली समाजको बनोट, राष्ट्रवादी धारा, दलाल पुँजीवाद र भूपरिवेष्ठिततालगायत नयाँ विशेषतालाई सम्बोधन गर्दै विकसित क्रान्तिको नयाँ कार्यदिशा नै एकीकृत जनक्रान्तिको कार्यदिशा हो ।
यो कार्यदिशा पुरानो समाजको गर्भबाट नयाँ समाजको जन्ममा ‘सुडेनी’ को भूमिकाका रूपमा क्रान्तिमा बलप्रयोगको अनिवार्यताको माक्र्सवादी मान्यतामा आधारित छ । यसका थप विशेषताहरू सङ्क्षिप्तमा यसरी उल्लेख गर्न सकिन्छ :

भौतिक विज्ञान र समाज विज्ञानलाई एकीकृत गर्ने, जनता, सेना र विज्ञानप्रविधिलाई एकीकृत गर्ने, गाउँ र सहरलाई एकीकृत गर्ने, सर्वहारा वर्ग, मध्यम वर्ग र राष्ट्रवादीलाई एकीकृत गर्ने, दीर्घकालीन जनयुद्धका तीन चरण र स्वरूपलाई एकीकृत गर्ने, दुस्मनको घेरा साँघुरो र मित्रको घेरा फराकिलो पार्ने, दलाल पुँजीवाद र उत्तरसाम्राज्यवादविरुद्ध केन्द्रित हुने, क्रान्तिलाई सरल र जनप्रिय बनाउने र आजको असमान, अशान्त, असभ्य विश्वको विकल्प समान, शान्त र सभ्य नयाँ विश्व दिने ।
यो कार्यदिशा जनता, सेना, विज्ञानप्रविधि, गाउँ र सहर, सर्वहारा श्रमिक वर्गसँग मध्यम वर्ग र राष्ट्रवादीलाई एकीकृत गर्दै अनि दीर्घकालीन जनयुद्धका तीन चरण र स्वरूपलाई एकीकृत गर्दै मूलतः दुई स्वरूप र चरण हँुदै मध्यम दूरीमा सम्पन्न हुन्छ ।

वैज्ञानिक समाजवाद भनेको के हो ? यसमा के हुन्छ ? बुर्जुवा समाजवाद जो अहिले सरकारी पार्टीले भन्छन् र वैज्ञानिक समाजवादमा के फरक छ ?

वैज्ञानिक समाजवाद सङ्क्रमणकालीन समाजको एक निश्चित राजनीतिक रूप हो जहाँ कम्युनिस्ट विचारको नेतृत्वमा निरन्तर क्रान्तिद्वारा मानव सिर्जित वर्गीय शोषण, असमानता, दमन र अशान्तिको अन्त्य हुन्छ । साथै सम्पूर्ण रूपमा पूर्ववर्ती समाजको विचार, उत्पादन पद्धति, राजनीति र संस्कृतिको पनि अन्त्य हुन्छ र यसले अनिवार्यतः वर्गशोषण र विभेदरहित राज्यविहीन मानव जातिकै उत्कृष्ट सभ्यता र संस्कृतिसहित स्वतन्त्र, समुन्नत, शान्त, समानतामा आधारित र समृद्ध समाजव्यवस्था साम्यवादमा पु¥याउँछ । यसलाई वैज्ञानिक समाजवाद भनिन्छ ।

वैज्ञानिक समाजवादको राजनीति कम्युनिस्ट वैचारिक नेतृत्वमा दलाल पुँजीवाद र उत्तरसाम्राज्यवादविरोधी जनताको संयुक्त शासन तथा राजनीतिक प्रभुत्व हुन्छ । महासचिव विप्लवका शब्दमा विगतको असफलताबाट शिक्षा लिएर अब ‘जनवाद र अधिनायकत्वलाई वैज्ञानिक’ बनाउन आवश्यक छ । चुनावी प्रतिस्पर्धामा कुनै नेता चुनिने योग्यता उसको ‘राज्यसम्बन्धी दृष्टिकोण, जनताप्रतिको समर्पण र समग्र आचरणलाई’ बनाइनुपर्छ । अहिलेको औपचारिक लोकतन्त्रको ठाउँमा वास्तविक लोकतन्त्रको अभ्यास गर्नुपर्छ । अहिलेको चुनावमा जनता चुन्ने र दलाल पुँजीपति चुनिनेमा सीमित छन् । त्यसैमा पनि देशबाहिर रहेका आधा करोड मतदाताले मतदान गर्नै पाउँदैनन् । वैज्ञानिक समाजवादको अर्थनीति भनेको एकीकृत अर्थनीति हुन्छ । जस्तो कि जनतालाई नयाँ जनवादी (पुँजीवादी¬¬), कार्यकर्तालाई समाजवादी र नेतालाई साम्यवादी अर्थनीति हुनेछ । यो एकीकृत अर्थनीतिमा जनताको निजी पुँजीमा हस्तक्षेप नगरी सामाजिक पुँजीको श्रेष्ठता पक्डिन प्रोत्साहित गरिन्छ । विप्लवको भनाइमा ‘वैज्ञानिक समाजवादमा व्यक्तिका निजी स्वतन्त्रता र आवश्यकताको ग्यारेन्टी गरेरै त्यो साम्यवादमा प्रवेश गर्न सक्छ ।’ प्रारम्भमा उत्पादनका मुख्य साधनहरूलाई राज्यको स्वामित्वमा लिएर व्यवस्थापन गरिन्छ अर्थात् जनताका आधारभूत आवश्यकताहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको जिम्मा राज्यले लिएर हल गर्छ र दलाल उत्पादन सम्बन्धको अन्त्य गरिन्छ । यसरी सामाजिक पुँजीको नेतृत्वमा सामाजिक र निजी पुँजी एकीकृत हुन्छ । यो ‘दुईको एकमा संयोजन’ को दर्शनबाट मुक्त मिश्रित आर्थिक नीति हुनेछ जहाँ सामाजिक र निजी पुँजीको स्वस्थ प्रतिस्पर्धा तथा मैत्रीपूर्ण सङ्घर्षमा सामाजिक पुँजीले आफ्नो सर्वश्रेष्ठता कायम गरेर मात्र त्यसमा आधारित वैज्ञानिक समाजवाद साम्यवादतिर अग्रसर हुन सक्छ ।

वैज्ञानिक समाजवादको संस्कृति जनवादी, प्रगतिशील र वैज्ञानिक हुन्छ । यो पनि महासचिव विप्लवले भनेझैँ जनवादी र वैज्ञानिक समाजवादी संस्कृतिको एकीकृत संस्कृति हुन्छ भने राष्ट्रिय (जातीय) नीति भनेको वर्गीय मुक्तिसहित जातीय, लैङ्गिक, क्षेत्रीय मुक्तिको नीति हुनेछ ।
नेपालको दलाल पुँजीवादी सत्तासँग रहेको नेपाली श्रमिक जनताको प्रधान अन्तरविरोधको समाधान नयाँ जनवादले हैन, वैज्ञानिक समाजवादले मात्र गर्न सक्छ । यो गतिशील दुनियाँमा पुरानो पुँजीवादलाई नयाँ पुँजीवादले हैन, वैज्ञानिक समाजवादले मात्र जित्न सक्छ किनभने नयाँ जनवाद भनेको कम्युनिस्ट पार्टीको नेतृत्वको राष्ट्रिय पुँजीवाद भनेको हो । त्यसैले नयाँ जनवादको ठाउँमा वैज्ञानिक समाजवाद अगाडि सारिएको हो । वर्गविभाजित समाजमा सत्ता पनि वर्गीय हुने भएकाले अहिलेको सरकारी समाजवाद श्रमिक जनतालाई शोषण, दमन र उत्पीडन गर्ने शोषक, दलाल पुँजीपति वर्गको समाजवाद हो भने वैज्ञानिक समाजवादमा श्रमिक वर्गको मुक्ति, स्वतन्त्रता र समृद्धिसहित सर्वहारा वर्गको समाजवाद हो । यो आधारभूत रूपमा भिन्न हुन्छ ।

उत्तरसाम्राज्यवाद भनेको के हो ? किन माक्र्स, लेनिनको घोषणाविपरीत पुँजीवाद अहिलेसम्म बाँचिरहेको छ ?

उत्तरसाम्राज्यवाद भनेको अति उत्पादनमा आधारित अति केन्द्रित, एकाधिकारवादी, सङ्कीर्ण, अधिनायकवादी, विखण्डनकारी, अतिक्रमणकारी भूमण्डलीय निगम पुँजीवाद हो ।

यसले सामान्यतः विश्वभरि विशेषतः उत्पीडित राष्ट्र र जनतालाई चर्को, अमानवीय शोषण, दमन र उत्पीडन गर्दछ । परिणामतः आज विश्वका केही दर्जन व्यक्तिको हातमा विश्वका आधा जनसङ्ख्याको भन्दा बढी पुँजी केन्द्रीकरण हुन पुगेको छ र त्यो केन्द्रित पुँजीको नेतृत्व केही निश्चित निगमले गरिरहेका छन् जसलाई नाफाको एक मात्र उद्देश्यले भूमण्डलीय चरित्र ग्रहण गरिरहेको निगम पुँजीवाद भनिन्छ । आजको विश्वको नेतृत्वदायी पुँजी यही भएको छ र आफ्नो उद्देश्य पूरा गर्न प्रतिकूल राष्ट्र, राज्य, राजनीति, संस्कृति र नेतृत्वलाई एकीकृत रणनीतिद्वारा निल्दै गएको छ । हो, यसैलाई अर्थराजनीतिक परिभाषा दिँदा उत्तरसाम्राज्यवाद भन्नु नै सही देखिन्छ । यसको सोझो र सरल अर्थ पछिल्लो अवस्थाको साम्राज्यवाद भन्ने हुन्छ । लेनिनले साम्राज्यवादको संश्लेषण गरेको १०० वर्ष पुगिसकेको छ । आज त्यो लेनिन र माओको पालाको जस्तो छैन । नयाँ चरित्र र विशेषतासहित छ । यसमा सबै सहमत नै देखिन्छन् तर के भनेर परिभाषित गर्ने भन्नेमा मतान्तर छन् । साम्राज्यवादको संश्लेषण गर्दा लेनिनले ‘मरणासन्न पुँजीवाद’ भनेका थिए तर किन मरेन ? आज यही प्रश्न जोडदार रूपमा उठाइन्छ । चाहे नेपालमा चैतन्य मिश्रले उठाऊन्, चाहे पछिल्ला अर्थशास्त्री थोमस पिकेटीले । यद्यपि पिकेटीले माक्र्सकै आलोचना गर्दा पुँजीवाद मर्ने माक्र्सको भविष्यवाणी गलत भएको भनेका छन् । तर उनीहरूले माक्र्सवादमाथि आक्रमण गर्नलाई अल्पकालीन रूपवादी टिप्पणी गरेका हुन् ।

खासमा पुँजीवाद गतिशील भयो । नाफा कमाउने आफ्नो आधारभूत चरित्र जोगाउन नयाँनयाँ रूप ग्रहण गर्दै गयो । माक्र्सको शब्दमा आफैँलाई ‘क्रान्तीकृत’ गर्दै गयो । विज्ञानप्रविधि र सूचनाप्रविधिको विकासलाई प्रोत्साहित गर्दै प्रयोग ग¥यो । बबको शब्दमा ‘मालको फेटिसिज्मका कारण पैदा हुने बुर्जवा व्यक्तिवाद’ जो माक्र्सवादले हल गरिसक्यो, यसलाई यत्ति धेरै उचाल्यो जुन व्यक्तिवादको कारण मानिस समाजबाट अलग्गियो । समाजका विरुद्ध गयो । कथित स्वतन्त्र बजारको दास भयो तर तथाकथित पुँजीवाद व्यक्तिगत स्वतन्त्रताको सङ्गीतमा लठ्ठिएर मस्तराम भयो । तर यो सबै उसले राज्यशक्तिको प्रयोगद्वारा ग¥यो । पुँजीवादको सारभूत चरित्रमा बुझाइको एकरूपतासहित आफू केन्द्रित भैरहन सक्यो र बदलिएको रूप देखाएर जनतालाई भ्रमित पार्दै र विरोधीलाई विखण्डित गर्दै आफू बाँचिरहन सफल भइरह्यो । त्यसैले गतिशील पुँजीवाद तथा साम्राज्यवादको पछिल्लो स्वरूप नै उत्तरसाम्राज्यवाद हो जो आफ्नो अवश्यम्भावी मृत्यु कुरेर मात्र बाँचिरहेको छ । माक्र्सको शब्दमा यसले आफ्नै ‘मलामी’ उत्पादनमा वृद्धि गरिरहेको छ । अन्तिम परिणाममा उत्तरसाम्राज्यवाद रक्षात्मक छ र त युद्धोन्मुख छ ।

पार्टीले मालेमावादकै विकास गर्ने मान्यता अगाडि सारेर के विकास ग¥यो त ? विपरीतको एकत्वको नियमसम्बन्धी पार्टीको संश्लेषणले विचारको सङ्घर्षलाई त निषेध गर्दैैन ?

हो, पार्टीले सामाजिक क्रान्तिको विज्ञान मालेमावादको नै विकास गर्ने मान्यता अगाडि सारेको छ । यो सन्दर्भमा पार्टीको आठौँ महाधिवेशनको महत्वपूर्ण योगदान छ । जस्तो कि वैज्ञानिक समाजवादका क्षेत्रमा ‘एकीकृत जनक्रान्ति’ को नयाँ कार्यदिशा दिएको छ भने राजनीतिक अर्थशास्त्रका क्षेत्रमा ‘उत्तरसाम्राज्यवाद’ को संश्लेषण गरेको छ । त्यस्तै दर्शनशास्त्रका क्षेत्रमा भौतिक विज्ञानको विकास (हकिन्सको एकीकृत भौतिकीको सिद्धान्त) लाई दार्शनिकीकरण गर्दै ‘संसारको व्याख्या र बदल्ने मुख्य’ हैन, ‘बदलिएको वस्तुको निरन्तर रक्षा र विकास मुख्य’ हुने मान्यतासहित विपरीतको एकता र सङ्घर्षको नियम पार्टीमा यान्त्रिक रूपमा लागू गरिनु नहुने दृष्टिकोण अगाडि सारेको छ ।

मालेमावादको विकासका सन्दर्भमा सर्वप्रथम माओको यो भनाइ राखौँ, ‘द्वन्द्वात्मक भौतिकवाद विश्व भौतिक एकताको सिन्द्धान्त विकास गर्न तथा त्यसलाई प्रकृति र मानव समाजको इतिहासमा विस्तार गर्न सक्षम छ ।’ तर यो सन्दर्भमा एकातिर बदलिएको वस्तुस्थितिमा मालेमाको विकास गर्ने नाममा त्यसको आधारभूत सार्वभौमिक मान्यता नै बदल्ने दक्षिणपन्थी संशोधनवाद र अर्कोतिर मालेमावादको रक्षा गर्ने नाममा नयाँ बदलिएको परिस्थितिलाई सम्बोधन गर्न नसक्ने संकीर्ण जडसूत्रवाद मुख्य समस्या हुन् । यी समस्यासँग जुझ्दै क्रान्तिकारीले साहसका साथ मालेमावादको विकास गर्न आवश्यक हुन्छ र पार्टीले त्यो साहस गरेको छ ।

माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्य ‘विश्वदृष्टिकोणको समस्या समाधान गर्नु हो’ भनेका छन् । विश्वमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवाद आएर पनि किन टिकेन ? माक्र्सले भनेझँै संसार त बदलियो तर त्यो बदलिएको संसार अर्थात् समाजवाद किन साम्यवादतिर नगएर पुँजीवादमै फर्कियो ? हो, यहीँनेर माओले विश्वदृष्टिकोणको समस्या देखेको हो । यो वस्तुतः दर्शन विकासको समस्या थियो जो अधुरै रह्यो । उसो त पछिल्ला चर्चित भौतिकशास्त्री स्टेफन हकिन्सले पनि दर्शनको विकासको आवश्यकतामा जोड दिएका छन् । त्यसैले माक्र्सको सुप्रसिद्ध दार्शनिक मान्यता ‘संसारलाई बुझ्ने मात्र हैन, मुख्यतः बदल्ने मान्यता’ मा ‘बदलिएको वस्तुको रक्षा र विकास मुख्य हो भन्ने मान्यता’ का रूपमा विकास आवश्यक भएको हो । यसले त्यो विश्वदृष्टिकोणको समस्या सामाधान गरेर मानवसमाजलाई साम्यवादतिर अग्रसर हुन निर्देशित गर्नेछ ।

यहाँ मुख्यतः विपरीतको एकता र सङ्घर्षको नियमको चर्चा गर्न जरुरी छ । यो नियम महासचिव विप्लवले भनेझैँ ‘सजीव र निर्जीव वस्तुमा एकै प्रकारले लागू हँुदैन ।’ यो सन्दर्भमा यान्त्रिकता र गतिशीलता एक महत्वपूर्ण प्रवर्ग बन्दछ । गतिशीलताको दर्शनका अनुयायी कम्युनिस्टहरू यान्त्रिकताको सिकार भएर हारेका छन् भने यान्त्रिकता तथा जडताको दर्शनका अनुयायी पुँजीवादीहरू गतिशील भएर जितिरहेका छन् । यद्यपि यो अस्थायी हारजित हो । त्यसैले विपरीतको एकता र सङ्घर्षको नियम र पार्टीको जीवनबारे चर्चा गरौँ ।

पार्टी विपरीतको एकत्व हो र विपरीतका बीचको सङ्घर्षले त्यो गतिशील हुन्छ भन्ने दार्शनिक मान्यता पार्टीमा यान्त्रिक ढङ्गले लागू गरिन्छ । परिणामतः अनावश्यक फुट हुन्छ जो जनतालाई मन पर्दैन । (हामी जनगणतन्त्र कोरिया जाँदा सोधिएको थियो– नेपालमा यति धेरै कम्युनिस्ट पार्टी किन ?) यस्लाई सच्याउन आवश्यक छ । जस्तो कि हाम्रो शरीर जीवनशील र मरणशीलजस्ता विपरीत जीवकोषको एकत्व हो र ती विपरीत जीवकोषका बीचको सङ्घर्षले शरीर गतिशील हुन्छ अर्थात् हामी बाँचिरहेका हुन्छौँ । तर हामी सुरुआतदेखि नै जीवनशील कोषलाई बलियो बनाउन उचित खानपिन, रहनसहन र शारीरिक अभ्यासमा जोड दिन्छौँ । यति गर्दागर्दै पनि कहिलेकहीँ मरणशील जीवकोषको वृद्धिले रोग लाग्छ तर यसलाई विपरीतको एकत्वका नाममा छूट दिँदैनाँै वा चुपचाप बस्दैनौँ, बरु तुरुन्त उपचार गर्छौं । गम्भीर रोग नै लागेको भए अप्रेसन गर्छौं । हो, यही शरीर भएका मानिसहरू मिलेर एउटा वर्गको प्रतिनिधित्व गर्ने पार्टी बन्छ भने त्यो पार्र्टीमा पनि यह गर्न किन सक्दैनौँ ? अर्थात् सचेतन प्रयत्नको भूमिका किन हुँदैन ?

पार्टीले ‘सजातीय र सवर्गीय विचारको सङ्घर्षलाई प्रोत्साहन’ दिने भनेको पार्टीको जीवनशील पक्ष बलियो बनाउने र यति गर्दागर्दै पनि विकासको निश्चित चरणमा मरणशील पक्ष (पुँजीवादी पक्ष) को वृद्धिले रोग लाग्यो भने विपरीतका नाममा छूट दिनु हँुदैन, छिटो उपचार गर्नुपर्छ भनेको हो । यसले त पार्टीमा विचार सङ्घर्षलाई निषेध हैन, नयाँ उचाइमा उठाएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा पार्टीसम्बन्धी यान्त्रिक बुझाइको परिणाम एकातिर अनावश्यक फुट भयो भने अर्कोतिर वर्गसङ्घर्षमा जान वा त्यसको नेतृत्व गर्न सकेनन् किनकि जहिले पनि एकातिर पार्टीमा आन्तरिक रूपमा विपरीत विचार, प्रवृत्ति र पात्र देखिइरहे । साथै ती कथित गलत वा विपरीत प्रवृत्ति र पात्रमा आएको बदलाव पनि देख्न सकेनन् जस्तो कि कुनै बेला नेतृत्वसँग प¥यो भने ऊसँग नेतृत्व कहिल्यै सकारात्मक भएन भने अर्कोतिर आन्तरिक कारण प्रधान हुने मान्यतामा त्यो समस्या कहिल्यै हल गर्न नसकेर वर्गसङ्घर्षमा जानै सकेनन् । यो समस्यालाई सापेक्ष रूपमा प्रचण्डले हल गरे पनि एकातिर विपरीतको एकत्वको मान्यतामा बाबुरामसँगको सम्बन्ध र अर्कोतिर बाबुरामलाई स्थायी दक्षिणपन्थी, किरणलाई स्थायी जडसूत्रवादी र आफूलाई स्थायी क्रान्तिकारीका रूपमा प्रस्तुत गरेर पार्टीमा यान्त्रिक धारणा बनाइदिए । परिणामतः पार्टीको समस्यालाई कि बाबुराम कि त किरणसँग जोडेर मात्र हेरियो । अन्ततः प्रचण्ड आफैँ यान्त्रिकताको सिकार भै (उल्टो र सुल्टो गति छुट्ट्याउन नसकी भ्रमित भए) विचलित भए । बाबुरामले उनलाई निलिदिए । यी इतिहासका शिक्षाबाट कम्युनिस्ट पार्टीसम्बन्धी दार्शनिक दृष्टिकोणमा नै विकास गर्न आवश्यक ठानिएको हो ।

एकीकृत कम्युनिस्ट स्कुल र विश्वको नयाँ सभ्यता

सामन्तवादी मध्ययुगीन बर्बरताका विरुद्ध पुँजीवादले दिएको सभ्यताको नारालाई पुँजीपतिद्वारा यसरी स्थापित गरियो कि यही नै सम्पूर्ण मानवजातिको विकसित उच्च सभ्यता हो । पुँजीवादले चारपाँच सय वर्षको समयावधिमा मानिसहरूलाई कसरी प्रशिक्षित ग¥यो भने पुँजीवादी सभ्यतामै सिङ्गो मानव जाति मुक्त र स्वतन्त्र हुनेछ अनि समान र समृद्धशाली बन्नेछ । त्यसैले यो नै मानव जातिको अन्तिम सभ्यता हो । हुन पनि यो निजी सम्पत्तिको उत्पत्तिपछि त्यसमाथि आधारित अन्तिम सभ्यता हो, हजारौँ वर्षदेखि विकसित मानव सभ्यताको समुच्चय हो । तर जब पुँजीवादी सभ्यतामा सबै मानिसहरू मुक्त र स्वतन्त्र हुन सकेनन् र समाजको ९५ प्रतिशत सर्वहारा श्रमिक वर्गका मानिस आधुनिक दासझैँ जीवन जिउन बाध्य भए । पुँजीवादी सभ्यता अमानवीय हुँदै बर्बरतामा परिणत भएको देखे । तब उनीहरूले आफ्नो बाँच्ने सङ्घर्षद्वारा पुँजीवादी सभ्यतामा प्रश्न खडा गरिदिए । यही पृष्ठभूमिमा जब माक्र्स–एङ्गेल्सले कम्युनिस्ट विचारको प्रतिपादन गरे तब ती ९५ प्रतिशत श्रमिकहरू आफू बाँच्ने सङ्घर्ष मात्र हैन, पुँजीवादी सभ्यताको विकल्प नयाँ कम्युनिस्ट सभ्यताको लडाइँ लड्न सक्षम भए । परिणामतः पुँजीवादी र कम्युनिस्ट सभ्यताको लडाइँ सुरु भयो ।

हरेक वस्तु, विचार र सभ्यताको जन्मपछि मृत्यु अवश्यम्भावी हुन्छ । मानव सभ्यता मानिसको निरन्तर भौतिक र बौद्धिक श्रमको एकीकृत समुच्चयद्वारा गरिने आविष्कार र सिर्जना हो तर हजारौँ वर्ष पुरानो निजी पुँजीमा आधारित पुँजीवादी पुरानो सभ्यता हो भने योभन्दा विकसित र विकल्पमा अगाडि आएको सामूहिक पुँजीमा आधारित कम्युनिस्ट नयाँ सभ्यता हो । पहिलो र दोस्रो विश्वयुद्ध पुँजीवादी विचार, सत्ता र सभ्यताको सङ्कट र अन्त्यका सूचक थिए । ती विश्ययुद्धपछि जब पुँजीवादी स्कुलका विचारकले पुँजीवादी सभ्यताको अन्त्य र कम्युनिस्ट सभ्यताको उदय देखे तब न उनले कम्युनिस्ट सभ्यतालाई स्वीकार्न सके, न त पुँजीवादी सभ्यताको खुलेर रक्षा गर्न सके । ठीक यही स्थितिमा समग्र इतिहास, सभ्यता, समाज र राजनीतिका क्षेत्रमा ‘अन्त्य र उत्तर’ जस्ता अवधारणा अगाडि ल्याए । पहिलो र दोस्रो विश्व युद्धपछि ब्रिटिस इतिहासकार आर्नोल्ड टोयनवीले ‘उत्तरआधुनिक समयसँग इतिहासको अन्त्य’ को अवधारणा अगाडी सारेपछि त्यो स्पेङ्लरको ‘सभ्यताको अन्त्य’ र डेनियलको ‘विचारधाराको अन्त्य’ हँुदै फुकोयामाको ‘मान्छेको अन्त्य’ मा उत्कर्षमा पुग्यो । यसरी जब कालान्तरमा, कम्युनिस्ट समाजवादमा समस्या आयो, अन्ततः त्यो ढल्यो तब उनहरूले कम्युनिस्ट सभ्यताको ‘अन्त्य’ सँग जोडेर नयाँ रूपमा पुँजीवादी सभ्यताको दीर्घायु र अमरताको पक्ष लिए । यसरी एकातिर पुँजीवादी कोणबाट र अर्कोतिर नवमाक्र्सवादी वा नवसंशोधनवादी कोणबाट माक्र्सवादमाथि भीषण हमला गरियो । यहाँ पुँजीवादी स्कुल दृढ र गतिशील देखियो र के भ्रमपूर्ण दाबी गरियो भने ‘अन्त्य र उत्तर’ जस्ता अवधारणा कम्युनिस्ट सभ्यताको सङ्कटका सूचक र परिणाम हुन् । साथै संशोधनवादीहरूले पनि उनहरूसँग स्वरमा स्वर मिलाउँदै माक्र्सवादमाथि जडसूत्रवादको आरोप लगाउँदै ‘वर्गीयता र बल प्रयोग’ जस्ता अवधारणा पुराना भएको दाबी गरे । वास्तवमा यी ‘अन्त्य र उत्तर’ जस्ता अवधारणा पुँजीवादी सभ्यताका सङ्कट र अन्त्यका सूचक थिए । साथै कम्युनिस्ट सभ्यतालाई भ्रूणावस्थामै मार्ने पुँजीवादी कुटिल षड्यन्त्र पनि जुन षड्यन्त्रका अंशियार विभिन्न रूप र रङका संशोधनवादी पनि भए । तर उनीहरूले जुनसुकै रूपमा रक्षा गरे पनि पुँजीवादी सभ्यता चिहानघाटको सभ्यता हो भने संशोधनवाद पुँजीवादी सालको (संशोधनवाद पुँजीवादकै सालनाल हो) सभ्यता हो । त्यसैले जसरी मानवसमाजको अग्रगति भ्रूण हत्याले रोकिँदैन ठीक त्यसरी यो सभ्यताको लडाइँ पनि रोकिनेछैन र अन्ततः नयाँ कम्युनिस्ट सभ्यता विजयी बन्नेछ । कम्युनिस्ट सभ्यताको छोटो समयको भव्य लोकप्रियता र अस्थायी हारलाई ध्यानमा राख्दै यसका विचारकहरूले दृढतापूर्वक एकीकृत कम्युनिस्ट स्कुल खडा गर्न आवश्यक भएको छ जसले कम्युनिस्ट नयाँ सभ्यताको अन्तर्राष्ट्रिय लडाइँ विजयमा पु¥याउन सकोस् । जब निजी स्वामित्वका साथै राज्यको पनि अन्त्य हुनेछ तब कम्युनिस्ट सभ्यता र संस्कृति विकासको उच्च चरणमा प्रवेश गर्नेछ । यसरी मात्र नयाँ सभ्यता र संस्कृतिले समाजको नेतृत्व गर्नेछ । यो पुँजीवादवाट कहिल्यै सम्भव हुनेछैन, बरु उल्टै विश्व कथित पश्चिमी र पूर्वीय सभ्यता अनि क्रिस्चियन र हिन्दु, क्रिस्चियन र इस्लाम वा मुस्लिम सभ्यताको अन्त्यहीन लडाइँमा फस्नेछ र फसाइनेछ ।

त्यसैले नेकपाले सबैभन्दा पहिले कम्युनिस्ट पार्टीको नेतृत्व निजी पुँजीको मोहबाट मुक्त हुनुपर्ने दृष्टिकोणसहित कम्युनिस्टहरूको पार्टी नै सच्चा कम्युनिस्ट पार्टी हुने साथै कम्युनिस्ट पार्टी मात्र हैन, कम्युनिस्ट समाज बनाउने अवधारणा अगाडि सारेको छ । एकीकृत कम्युनिस्ट स्कुलद्वारा पुरानो पुँजीवादी सभ्यताभन्दा विकसित उच्च कम्युनिस्ट सभ्यताको लडाइँलाई विजयमा पु¥याउने उद्देश्य लिएको छ ।

म कम्युनिस्ट स्कुलको प्रभावबारे सानो व्यक्तिगत अनुभूति राख्न चाहन्छु । व्यक्तिगत आवश्यकता र दायित्वबोध नहुँदै माओवादी जनयुद्धमा समाहित भइयो । जनयुद्धको स्कुलले व्यक्तिको महत्व झन् घटायो अनि देश र जनताको सामूहिक महत्वलाई माथि उठायो । जब पार्टी शान्तिप्रक्रियामा आयो तब व्यक्तिगत आवश्यकता र दायित्व थपियो र राजनीतिमा पनि व्यक्तित्वको खास अर्थ र स्थान रहने भयो । तर विडम्बना ! प्रचण्डको व्यक्तित्व डरलाग्दो भयो जो विचलनको परिणाम थियो । त्यही व्यक्तित्वको दर्शन मात्र गर्न पनि जनयुद्धमा बलिदानीपूर्ण सङ्घर्ष स्वीकार्य हुन्थ्यो । मलाई सधैँ लाग्छ, मैले जे प्राप्त गर्छु त्यो जनयुद्धको लिगेसीबाट अझ भनौँ सामूहिकताको नारामा गर्छु । हुनत प्राप्त नै के हुन्छ र ? जे हुन्छ त्यसमा पनि जति सामूहिक हिस्सेदारी हुन्छ र त्यसको मात्रा जति बढ्छ त्यति बढी गर्व महसुस हुन्छ भने सामूहिक हिस्सेदारी भएन वा शून्य भयो भने असजिलो र अपराधबोध हुन्छ । यही नै कम्युनिस्ट स्कुलबाट बनेको कम्युनिस्ट दृष्टिकोण र सभ्यता होला । तर कसैले यसलाई ‘लाटोपन’ भन्छन् । कसैले नक्कली अभिव्यक्ति ठान्छन् । वास्तवमा यहाँ पार्टीको अनुशासनभन्दा ठूलो आफ्नो दृष्टिकोण हुन्छ । अझ यसो भनाैँ नेता, कार्यकर्ता बन्नु र बिग्रिनुमा पार्टीभन्दा उनीहरू स्वयम् बढी जिम्मेवार हुन्छन् ।

आज एकातिर जनयुद्धले धक्का खाएपछि सामूहिकताको मान्यता भत्किन पुगेको छ भने अर्कोतिर ढोंगी (जे गर्छ त्यो नभन्ने जे भन्छ त्यो नगर्ने) मानिसको बोलवाला भएको समाज छ । त्यसमा पनि नयाँ पुस्तामाथि एकपछि अर्को उपभोगवादी संस्कृतिको जबर्जस्ती प्रभाव पर्दै गएको छ । सामूहिकतामा आधारित हाम्रा सामाजिक मान्यताहरू पनि तीव्रतामा ध्वस्त भै विस्मृतिमा गएका छन् । जनयुद्धकालीन सामूहिक मान्यताहरू विकृत भै भत्केका छन् । आजका युवाहरू आफ्नै पुर्खाले गरेको निःशुल्क सामाजिक काममा लाटोपन देख्छन् । जनयुद्धकालीन सामूहिकतामा लहड र मूर्खपन देख्छन् । त्यसैले यो नयाँ पुस्तासहितको समाज र क्रान्तिको नेतृत्व गर्ने पार्टीलाई कम्युनिस्ट स्कुलद्वारा शिक्षित–दीक्षित बनाउनु झन् अनिवार्य भएको छ । यो सन्दर्भमा विश्वका सबभन्दा धनी तीनजनालाई उल्लेख गर्न जरुरी छ । वारेन बफेटले भने, ‘आजको समाजमा वर्गसङ्घर्ष चलिरहेको छ र धनी वर्गले जितिरहेको छ ।’ साथै उनले यो पनि भनेका छन्, ‘म अरूकै पैसा खेलाउँछु र धनीलाई झन् धनी बनाउँछु ।’

जेफ बेजोसले दोस्रो विवाह गरेर सजिलै आफ्नो लाइनमा नयाँ सदस्य थपेका छन् भने बिल गेट्सले ‘विश्वसनीय राज्य भए आफ्नो सम्पत्ति दिइदिने धारणा’ दिएका छन् । यसबाट एकातिर पुँजीको स्रोत शोषण हो । पुँजी सबैभन्दा ठूलो हैन जति ठानिएको छ र त्यो साध्य हैन साधन हो भन्ने देखिन्छ भने अर्कोतिर उनीहरूको समाजमा वर्ग र वर्गसङ्घर्षको स्वीकारोक्ति, विद्यमान पुँजीवादी राज्यप्रतिको आशङ्का र वैकल्पिक समाजवादी राज्यको खोजीलाई इङ्गित गर्दछ । त्यसैले पृथ्वी र यो संसारको मालिक मानिस मात्र हो तर त्यही श्रेष्ठ मानिसमाथि मृत पुँजीको मालिकत्व स्थापित गर्ने पुँजीवादी सभ्यताको विकल्पमा पुँजीमाथि मात्र हैन, चौतर्फी मानिसको सर्वश्रेष्ठता र नेतृत्व स्थापित गर्ने नयाँ कम्युनिस्ट सभ्यताको विजय अवश्यम्भावी छ ।

अन्त्यमा, कम्युनिस्टको लडाइँ अभाव र गरिबीको मात्र लडाइँ होइन जसरी पुँजीवादीले अथ्र्याउँछन् । कम्युनिस्टको लडाइँ पुरानो पुँजीवादी सभ्यता जो अमानवीय बर्बरतामा रूपान्तरण भइसकेको छ, यसका विरुद्ध नयाँ कम्युनिस्ट सभ्यता जो समानता, मानवता र विज्ञानमा आधारित छ, यसको लडाइँ हो । विश्वमा हारेर पनि जितिरहेको पुँजीवादी सभ्यताविरुद्धको लडाइँ जित्न एकीकृत कम्युनिस्ट स्कुल आवश्यक छ । यसले कम्युनिस्ट हुनु ठीक हो । पुँजीवादी हुनु ठीक होइन भन्नेजतिलाई एकीकृत गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादतिर डो¥याउनुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय स्तरमै वैचारिक, राजनीतिक र साङ्गठनिक मोर्चा खोल्नुपर्छ । भौतिक र नैतिक सहयोगी अभियान चलाउनुपर्छ । यही स्कुलको विशेषतासहित नेकपाले एकीकृत जनक्रान्तिको कम्युनिस्ट स्कुल खडा गरेको हो । यसले मानिसहरूलाई ज्ञानको भोकको तिर्खा जगाउनेछ र समाजलाई ज्ञानले नेतृत्व गर्नेछ । सबै मानिसलाई श्रम गर्न उत्प्रेरित गर्नेछ र सामूहिक श्रममाथि सामूहिक स्वामित्व स्थापित गर्नेछ । मानिस एकआपसमा कोही कसैको दुस्मन हुनेछैन जो आजको मुख्य समस्या हो । यसैमा खडा हुनेछ नयाँ विश्वको नयाँ सभ्यता । हो, यसैका लागि तत्काल मुख्य बाधक बनेको नेपालको दलाल पुँजीवादी सत्ताको अन्त्य गर्न बलिदानीपूर्ण सङ्घर्षमा भाग लिनु अनिवार्य छ । यही अनिवार्यताको बोध गराउन हाम्रो स्कुलले एक हदसम्म भूमिका निर्वाह गरेको छ ।

प्राचीन नेपालमा जन्मिएका बुद्धले खडा गरेको स्कुलले विश्वलाई प्रभावित गरेको थियो भने फेरि आधुनिक युगमा विप्लवले खडा गरेको एकीकृत जनक्रान्तिको कम्युनिस्ट स्कुलले विश्व नै प्रभावित गर्न सक्छ किनभने यो स्कुल विश्वको नयाँ सभ्यतासँग जोडिएको छ । माओले भनेझँै यो विश्वको भौतिक एकताको सिद्धान्त विकास गरेर प्रकृति र समाजको इतिहासमा विस्तार गर्न सक्षम हुनेछ ।

२०७६ जेठ ३२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्