टिपरको ठक्करबाट पत्रकार गेलांङको मृत्यु, महासंघद्वारा दोषीमाथि कारवाहीको माग (विज्ञप्तिसहित)

काठमाडौं : सुर्खेतमा टिपरको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङ्गको मृत्यु भएको छ । बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव गेलांङको मृत्यु भएको हो ।

रुकुमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाइ छ । टिपर चालक भने फरार रहेको भन्दै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेत पहिचान दैनिकका सम्पादक समेत रहेका उनी पत्रिकाको काम विशेषले मेहलकुना जाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । नेपाल पत्रकार महासंघले गेलांङको सवारी दुर्घटनामा निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले बुधबार बिज्ञप्ति जारी गरी उक्त घटनाको सत्य–तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न मागसमेत गरेका छन् । पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि सम्बन्धित निकायसँग महासंघले माग गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव गेलाङको सवारी दुर्घटनामा निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको विज्ञप्तिमा भनिएको छ ।
महासंघले स्वर्गीय गेलाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामनासमेत गरेको छ र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ जेठ २९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :