गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, दर्जनौ घाइते


काठमाडौँ : गुठी विधेयकविरुद्ध शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकले जग्गा हडप्ने बाटो खुला गरेको भन्दै सरोकारवालाहरु विरोध प्रदर्शनमा उत्रेका छन् ।

काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ । प्रहरीसँगको झडप र पानीको फोहोराबाट करिब एक दर्जन प्रदर्शनकारी घाइते भएको बताइएको छ ।

संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने भन्दै उनिहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले विधेयक संविधान विपरीत भएकाले खारेज गर्न मागसमेत गरेका छन् । परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै गुठीयारको दाबी छ ।

देशभर देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ ।

२०७६ जेठ २६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :