घेरा हालेर कास्की सेक्रेटरीसहित नेकपाका २२ जना गिरफ्तार

कास्की : प्रहरीले कास्कीबाट नेकपाका २२ जना नेता–कार्यकर्तालाई घेरा हाली गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समितिको संयुक्त बैठकमा हस्तक्षेप गरी प्रहरीले नेकपा कास्कीका सेक्रेटरी आक्रोशसहित २२ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ उरीस्थित आमा समूहको भवनमा शनिबार विद्यार्थीको संयुक्त बैठक बसिरहेका बेला अपराह्न चार बजे प्रहरीले बैठकस्थल घेरा हाली उनीहरूलाई गिरफ्तार गरेको जानकारी नेकपाले दिएको छ ।

प्रहरीको गिरफ्तारीमा पर्नेहरूमा नेकपा कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपा कास्कीका जिल्ला सदस्य एवम् एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, पार्टी जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन राई, पार्टी जिल्ला सदस्य, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल (क्रान्तिकारी) पीएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, विद्यार्थी नेता एवम् सहिदपुत्र सुजन सापकोटालगायत छन् । नेपाल कम्युनिस्ट पार्टीले बैठक स्थलबाट आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जानकारी दिए पनि प्रहरीले भने घटना बारेमा सार्वजनिक गरेको छैन ।

२०७६ जेठ २६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :