नेकपाका ब्युरो सदस्य राईसहित २ जना गिरफ्तार, ब्युरो इन्चार्ज अरुणद्धारा रिहाइको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो सदस्य तीर्थ राई र जिल्ला सदस्य पवन महतोलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई सङ्गठनको कामको सिलसिलामा २०७६ जेठ १० गते दिउँसो सिन्धुलीबाट अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरेको जानकारी नेकपा जनकपुरले प्रेस विज्ञप्तिमार्फत दिएको छ । 

नेकपा जनकपुर ब्युरोका इन्चार्ज अरुणले २०७६ जेठ ११ गते प्रेसविज्ञप्ति प्रकाशित गर्दै वर्तमान केपी–बादल सरकारको यसप्रकारको गैरकानुनी, गैरराजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको घोर विरोध तथा भत्र्सना गरेका छन् । 

सरकारी दमन, गिरफ्तार, झूट्टा मुद्दा र हत्याले इतिहासमा कहिल्यै जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने स्मरण गराउँदै उनले यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार पार्टी नेता–कार्यकर्ताहरूलाई तत्कालै बिनासर्त ससम्मान रिहा गर्न जोडदार माग पनि गरेका छन् । ब्युरो इन्चार्ज अरुणले रिहा नगरे सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैँ हुनुपर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिएका छन् । 

उनको विज्ञप्तिमा भनिएको छ, ‘देश यतिबेला कम्युनिस्टको खोल ओढेको सामाजिक दलाल फासिवादी केपी–बादलमण्डली सरकारद्वारा चौतर्फी लादिएको शोषण, जनदमन, महँगी र हत्याहिंसाबाट आक्रान्त बन्दै गएको छ । भ्रष्टाचारी, कालोबजारी, सुदखोरको संरक्षण गर्नु र दिनप्रतिदिन जनघात र राष्ट्रघातमा लिप्त हुनु यो सरकारको दिनचर्या बनेको छ । सरकार नागरिक स्वतन्त्रता, वाक्स्वतन्त्रता र मानवअधिकारका विषयमा निरङ्कुश बन्दै गइरहेको छ । उसका यी सबै हर्कतका विरुद्ध सङ्घर्ष गर्दै राष्ट्र र जनताको अधिकार तथा मुक्तिको आवाज उठाइरहेको हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदै जनताको आवाजलाई बन्दुक र बुटले कुल्चने दुस्साहस गरिरहेको छ । पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूलाई अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने मात्र होइन, हत्यामा समेत उत्रेको छ ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :