सहिद तथा बेपत्ता परिवार आन्दोलनमा

हाम्रा मान्छे कहाँ छन ? कि सास कि लास देउ !


बुटवल : सहिद तथा बेपत्ता परिवार समाजले मंगलबार रुपन्देहीको बुटवलमा गरेको कार्यक्रममा सहिदका परिवारहरु निकै भावुक र आक्रोशित देखिन्थे । हातमा लिएका प्लेकार्डमा हाम्रा मान्छे कहाँ छन ? कि सास कि लास देउ ! सहिदका छोराछोरीलाई निशुल्क पठनपाठनको ब्यबस्था गर ! लेखिएका प्लेकार्डहरु हातभरी थिए । रातो झन्डा, रातो ब्यानर, चर्को घाममा चर्को भाषण चल्दै थियो ।

कार्यक्रममा बोल्दै सहिद तथा बेपत्ता परिवार समाजका केन्द्रीय सदस्य सहिद परिवार जया पौडेलले सरकारसँग आक्रोश मात्रै पोखिनन्, सहिदका सपना सरकारले साकार गर्न नसके सहिद परिवार नै सडकमा आउने चेतावनीसमेत दिइन । पौडेलले भनिन् “सहिदका परिवारलाई ब्यबस्थापन गर्छौ भन्दै शान्ति सम्झौता गरेको १३ बर्ष भयो अहिलेसम्म सहिद परिवारको अबस्थामा भने उस्तै छ, हामीलाई अहिले द्वन्दपिडित भनिन्छ, हामी सहिद परिवार हौं, हाम्रो बेपत्ताहरुको सास कि लास चाहिन्छ ।”

कार्यक्रममा बोल्दै सहिद परिवारका तर्फबाट राधा घिमिरेले सहिद परिवारलाई सम्मान गर्नुको सट्टा अपमान गर्ने गरेको टिप्पणी गरिन् । लुम्बिनीका नवलपरासी, नवलपुर, रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाबाट झन्डै १५० जना सहिद तथा बेपत्ताका परिवारहरु रुपन्देही आईपुगेका हुन् । बेपत्ता योद्धा स्मृति दिवसको अबसरमा सो कार्यक्रम गरिएको थियो । कार्यक्रम संचालक सहिद परिवार लता घिमिरेले गरेकी थिइन । पुष्पलाल पार्कदेखि ट्राफिकचोकसम्म र्याली गरी ट्राफिक चोकपुगी सभामा परिणत भएको थियो ।

२०७६ जेठ ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :