मध्यरातमा हिरासत लगियो : सापकोटा

min p. sapkotaमिनप्रसाद सापकोटा
स्थानीय निर्वाचनमा चितवनमा भएका अनुभूतिजन्य केही कुराहरू प्रस्ट पार्ने जमर्को गरिएको छ । पार्टीले आठौँ हाधिवेशनपछि स्थानीय तहको निर्वाचन खारेज गर्ने अभियानसँगै कामकारबाहीहरू अगाडि बढाउँदै जाँदा प्रहरी हिरासतमा विभिन्न प्रकारका दुःखकष्टहरू झेल्न पुगियो । २०२६ सालतिर नेपाल मा.वि. रत्ननगरमा पढ्दै गर्दा गाउँबाट जाने विद्यार्थीले अनेरास्ववियुमा भोट हाल्न पर्छ भन्नेबाट सुरु भएको आस्थाको बिउ २०३४ सालमा आकार लिएर २०३९ सालदेखि माक्र्सवादी लहरका रूपमा बढ्न थाल्यो । त्यही लहरमा मलजल गर्दै गर्दा म पहिलोपटक आठौँ महाधिवेशनको प्रतिनिधि बनी थबाङमा पुगी फर्केपछि चुनाव खारेजी अभियानमा संलग्न हुँदै आएँ । यही २०७४ वैशाख २१ गते काम बाट फर्केलगत्तै लालगद्दारहरूका काला सिपाहीहरूले राति ९ः३० बजे घरबाट गिरफ्तार गरी इलाका प्रहरी कार्यालय रत्ननगरमा लगे । त्यहाँ पु¥याएपछि नाम, थर, ठेगाना सबै एकजना भट्ट थरका इन्स्पेक्टरले तपाईंका जिल्ला सदस्यहरूको सबैको नाम, थर, ठेगाना, फोन नं. उपलब्ध गराएर सहयोग गर्नुप¥यो भने । तपाईंले पनि यो चौकीको कमान्डमा रहेका पुलिस, जवान, अफिसरहरू, उनीहरूका जहानपरिवार, तिनीहरूका बच्चाबच्ची सबैको बासस्थान, सम्पर्क नम्बर, विद्यालय कुनकुन हो मलाई उपलब्ध गराउनुहोस् । तपाईंलाई सहयोग गर्ने कुरामा विचार गरौँला भनेँ । जिल्ल परेर मतिर हेर्दै उनले त्यो त सक्दिनँ भने । मैले पनि तपाईंले जाबो पुलिसको सम्पर्क दिन नसक्ने, मैलेचाहिँ यो देशका गौरवशाली पार्टीका नेताको नाम भनौँला ? बरु मर्न तयार छु भन्दिनँ भनेपछि मलाई कस्टडीमा पठाइयो ।  

उडुस, उपैयाँ, लामखुट्टे,  लागूऔषधको धुवाँका कारण निद्रा लागेन । अर्को दिन फिनेल मगाएर सबै सफा गराएँ । अलि राम्रो भयो । महाधिवेशन नै विचार बनेका कारण दृष्टिकोण र साहस बनाउँदै गएँ । हरेक दिन बिहान ४ बजे डिउटीवालाले सबै ठाउँमा फोन गरेर सोध्थे विप्लववालाको गतिविधि के छ भनेर । म सुनिरहन्थेँ । ८–९ जना विभिन्न किसिमका बन्दी थिए तिनीहरूलाई राजनीतिक र विप्लव नेतृत्व पार्टीका बारेमा छलफल चलाउँदै रहेँ । किताबमा गाता हालेको थिएँ । गाताका कारणले जेलभित्र लैजान सजिलो भयो । थुप्रै मानिस भेट्न आए । परिवारका सदस्यहरू अध्याँरो मुख लगाएर अहम् करुणिक भावमा आउँथे र म बाहिरबाट आउने मानिसको सन्चोबिसन्चो सोध्थेँ । मुक्तकण्ठले हाँसिदिन्थेँ । अनि भेट्ने मानिस खुसी भएर घर फर्कन्थे । विभिन्न तरिकाले भित्र लागूपदार्थ लैजान्थे । खानामा, पानीमा लागूऔषध भित्रै व्यापार चलाउँथे पुलिसले । जति बन्दी हुन्थे फर्किने बेलामा सबै बदलाका भावले फर्कन्थे । राति रक्सी खाएर आफैँ हल्ला गर्थे । प्रहरीले उनीहरूलाई नै कस्टडीमा राख्थे । यसपालिको चुनावमा वान ब्यालेट वान बुलेट भन्ने नीति रहेछ । त्यही थाहा पाइयो पुलिसको मुखबाट पनि । विप्लव नेतृत्वको पार्टीका मानिसहरूलाई केही काम नगरे पनि ल्याएर थुनिहाल्ने भन्ने नीति रहेछ । कमल थपलिया भन्ने असईले यो कुरा भने । एकजना काका भन्ने पुलिसले लागूपदार्थ प्रयोग सेवन गर्ने केटाहरूलाई तिमीहरू लाइसन्स नभएका डाँका, हामी लाइसेन्स भएका डाँका यत्ति हो फरक । अरू के फरक छ र ? यो सरकारले न बोल्न दिन्छ, न विवेक छ । के छ र भनेर तितो पोखे । एकजना सिपाहीले जेठ १ गतेपछि ३–४ दिन बेलुका लगातार गफ गरे । सायद रेकर्ड गरेको जस्तो लाग्छ । उनका प्रश्नहरू प्रचण्ड–बाबुरामलाई के भन्नुहुन्छ ? पुँजीवादी देशमा पनि विकास भएकै छ । किन चाहियो कम्युनिज्म ? राज्यको व्यवस्थापकीय सङ्गठन कसरी गर्नुहुन्छ । योभन्दा विकास कसरी गर्नुहुन्छ ? के नेपाललाई उत्तरकोरियाजस्तो बनाउन खोज्नुभएको हो ? भन्ने थिए । मैले पार्टी नीतिअनुरूप जबाफ दिएँ । चन्दा उठाउनुहुन्छ भनेका थिए । मैले भनेँ, उठाउँछौँ । उनले पाइँदैन भने । मैले भनेँ, तपाईं पुलिस भएर चन्दा उठाउन मिल्ने, हामीले नमिल्ने किन ? एक दिन यस्तो दिन आउँछ तपाईंले आफैँ चन्दा बुझाउन आउनुहुनेछ भनेपछि जिल्ल परे ।

एनसेलका बारेमा प्रश्न गरे । राज्यलाई कर नतिर्ने, जनतालाई ठग्दै जाने हो भने फेरि ठोक्दै जाने हो भनेर । कति ध्वंश गर्ने भने ? ध्वंश मात्रै होइन, अब हामी निर्माणका साथ गाउँगाउँ जान्छौँ । कति सेना–पुलिस छन् ? आजसम्म तपाईंहरूले नै साथ दिनुहुन्छ भन्ने लागेको छ । जनताका छोराछोरीले फटाहाहरूको साथ लागेर हामीलाई दमन गर्न आए भने सेना र पुलिसको सङ्गठन निर्माण गर्न गाह्रो छैन, बनाउन सकिन्छ भनेर उनी गए । ६ दिनको अन्तरमा म्याद थप्न लैजाँदा जनसत्ताको निर्माण गरौँ शब्द लेखिएको भित्ता देख्दा पनि ऊर्जा थपिँदो रहेछ । यस्तो पहिला थाहा थिएन । करिब १९ दिन बस्दा शारीरिक हिसाबले अलि अलि गाह्रो, विचारले दृढ, सम्झनामा लालबहादर बीसी, क. आधार, गाउँका हिसाबले थबाङ गैरीगाउँ र माडीका पुराना बस्तीहरूको सम्झना आइरह्यो । समयको हिसाबले १९ दिन १९ घन्टा जस्तै रह्यो । पार्टीबाहिरका धेरै भेट्ने मानिस आए । धेरै अध्ययनमा समय बिताएँ । जे होस् ४० वर्ष अघिदेखि बलेको आस्थाको आगो आज उप्रान्त बलिरहेछ । विगतदेखिकै आँधी, हुरी र बतासको यो क्षणमा आस्थाको दियो जगाउन र संरक्षण गर्न सक्दा पनि सन्तोषको अनुभूति हुँदो रहेछ । यही आगोको राप, ताप र उज्यालोमा जीवन बिताउँदै जान पाए कति उत्साह र उमङ्ग थपिन्थ्यो होला भन्ने कल्पनामा १९ दिनलाई १९ घन्टाबराबर सम्झेर बाँचिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :