पाँचथरको मिक्लाजुङमा रहस्यमय ९ जनाको हत्या


पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ भने १ जना बालिका घाइते भएकी छन् ।
२ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले बताएका छन् ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

घटनास्थलमा दशमीबजारमा रहेको प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ, भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ९ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिनुभयो ।

विभत्स हत्या कसले, किन गर्यो ? भन्नेबारे नखुलेको र हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी रहेको छ । १ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

२०७६ जेठ ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :