नेपालीको दुर्दशा : गाँस–बास नेपालमा, स्वास्थ्य, शिक्षा र रोजगार भारतमा


धनगढी : कैलाली जिल्लाको कैलारी गाउँपालिकामा यस्तो बस्ती छ जहाँ घर नेपाली भूमिमा छ तर विद्यालय भने भारतीय भूमिमा पर्दछ । कैलारी गाउँपालिका वडा नं. ७ हौसलपुरका बासिन्दा हालसम्म नेपाली किताब नदेखेको बताउँछन् ।

बस्तीका ४५ वर्षीया कालुराम चौधरी भन्छन्, ‘हामी नेपाली हौँ । हामीसँग नेपालको नगरिकता छ तर नेपाली भाषा बोल्न आउँदैन, बरु हिन्दी भाषा प्रस्ट बोल्न सक्छौँ । हाम्रा बच्चाहरूलाई अहिलेसम्म नेपाली किताब कस्तो हुन्छ थाहा छैन, पढ्न पाउनुको त के कुरा ?’, उनले भने, ‘हाम्रो सिमाना सडकले छुट्ट्याइदिएको छ । सडकवारि नेपालपारि भारत पर्छ । स्कुल पनि हाम्रो बस्तीदेखि नजिकै छ जसले गर्दा सबै बच्चाहरू भरतमा पढ्न जान्छन् ।’

ती बच्चासँग हाम्रो देशको प्रधानमन्त्रीको नाम के हो ? भनेर प्रश्न गर्दा नरेन्द्र मोदी भन्दै जबाफ दिन्छन् । उनीहरूलाई राष्ट्रिय गीत गाउन लगाउँदा भारतीय राष्ट्रिय गीत गाउने गरेको बताउँछन् । उनीहरू नेपालको भन्दा पनि भारतका बारेमा बढी जानकार छन् ।
हौसलपुर र बेलापरसुवा गाउँको बीचमा पक्की बाटो छ । हौसलपुरका विद्यार्थीहरू बेलापरसुवा पढ्न जान्छन् । जहाँ कक्षा ८ सम्म पढाइ हुन्छ । त्योभन्दा माथि बेलराया, लखनउ, पलिया, लखिमपुर बढाउनुपर्ने बाध्यता रहेको स्थानीय विक्रम चौधरी भन्छन् ।

उनी भन्छन्, ‘हौसलपुरमा २८ घरधुरी छौँ । स्थानीय सरकार हुनुभन्दा पहिला नेपालबाट हाम्रो बस्तीमा कोही नेपाली आउँदैनथे । हाम्रो बस्तीमा नेपाली मान्छे भेटघाट गर्न आएको पहिलोपटक स्थानीय चुनावमा हो जुन बेलादेखि नेपाली नेता, नेपाली पत्रकारहरूसँग भेट भयो ।’
३० वर्षीय आशिकी चौधरी भन्छिन्, ‘बेलापरसुवा पनि त्यति राम्रो पढाइ छैन जसले गर्दा म ९ वर्षीया छोरी दिव्यान्सीलाई देवरसँग लखनउ पढ्न पठाएकी छु ।’ हाल दिव्यान्सी शारदा पब्लिक स्कुल कक्षा ३ मा पढ्छिन् । उनलाई मातृ भाषा पनि बोल्न आउँदैन तर हिन्दी फरर बोल्छिन् ।
हौसलपुरका बासिन्दाहरू आफ्नो बस्तीमा एउटा स्कुलको माग गरिरहेका छन् । उनीहरू आफ्नो बच्चालाई सानैदेखि नेपाली बोल्न सक्ने भएको देख्न चाहन्छन् ।

उनी भन्छिन्, ‘त्यति मात्रै होइन, सडकपारि बेलापरसुवामा विद्युत् छ तर वारि हौसलपुर विद्युत् पनि छैन बाटो पनि कच्ची छ । भौतिक विकासले पनि हाम्रो बस्तीका समुदायहरूमा मानसिक असर परिरहेको हुन्छ ।’ कुनै बेला हामीलाई धेरै गाह्रो हुन्छ । हामीलाई नेपालको कानुनबारे केही जानकारी छैन । भारतको कानुन हाम्रोमा लागू हँुदैन जसले गर्दा केही अप्ठ्यारो भएको खण्डमा चुप लाग्नुबाहेक कुनै विकल्प हुँदैन ।

नेपाल सरकारले हौसलपुरका बासिन्दालाई नेपालीको अपनत्व गराउन बस्तीमा स्कुल, स्वास्थ्य केन्द्र, शुद्ध खानेपानी, विद्युत् र कानुनी परामर्श केन्द्र स्थापना गर्न जरुरी छ । बस्तीका समुदायहरूले भारतसँग मितेरी गाँसेर नेपाली भूमि त जोगाए तर भारतीय समुदायको व्यवहारले मानसिक रूपमा खेप्दै असरबारे नेपाल सरकार सोच्नैपर्ने देखिन्छ ।

२०७६ जेठ ४ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :