मिडिया काउन्सिल विधेयकविरुद्ध सरोकालवालाहरू

    काठमाडौँ : सरकारले हालै ल्याएको मिडिया काउन्सिल विधेयकको राजनीतिकर्मी र सरोकारवालाहरूले आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौँस्थित राष्ट्रिय महिला आयोगको भवनमा शनिबार जनपत्रकार सङ्गठन नेपाललगायत ५ वटा पत्रकार सङ्गठनले बनाएको संयुक्त पत्रकार सङ्घर्ष समितिले आयोजना गरेको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले विरोध गरेका हुन् ।
उनीहरूले सरकारले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको मर्मविपरीत विधेयक ल्याएको बताएका छन् । वक्ताहरूहरूले सरकारलाई विधेयक फिर्ता नलिए आन्दोलनको आँधीहुरी सिर्जना गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले सरकार फासिवादी बाटोमा लागेको बताए । उनले भने, ‘उहाँहरूले त्यो विधेयक नबुझेर पो ल्याएको हो कि ? सत्तामा पुगेपछि बुझ्ने क्षमता घट्दो रहेछ । उहाँहरू त पञ्चायती व्यवस्थादेखि नै सङ्घर्ष गरेर आउनुभएको हो नि । उहाँहरूले बुझेरै विधेयक ल्याएको भए फासिवादतर्फ उद्यत हुनुहुन्छ ।’

महासचिव किरणले मिडिया काउन्सिल विधेयकबारे बोल्दै यो विषय प्रेस स्वतन्त्रताको कुरा मात्रै नभएर नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पनि विषय भएको बताएका छन् । उनले सरकारले यसलाई तुरुन्त फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फ्रान्सेली शासकको ‘मलाई ४ हजार सिपाहीभन्दा दुईवटा प्रेससँग डर लाग्छ’ भन्ने भनाइ स्मरण गराउँदै यो सरकार पनि त्यसैगरी प्रेससँग डराएको बताए ।
उनले गाउँघरमा चलनमा रहेको उखान ‘मर्न लागेपछि भैँसीले भीर खोज्छ’ भनेजस्तै यो सरकारले आफैँलाई घात हुने गरी प्रेसविरोधी कानुन ल्याउन लागेको बताए । उनले नेपाली प्रेसले २०४६ सालको आन्दोलन र २०६२÷०६३ सालको आन्दोलनमा पनि महत्वपूर्ण सहयोग गरेको स्मरण गराउँदै सरकारले ल्याएको विधेयक लोकतन् विरोधी रहेको बताएका छन् ।
उनले यो अभियानमा जनमोर्चा नेपालले सधैँ पत्रकारहरूको साथ दिने बताउँदै सरकारले घुँडा नटेकेसम्म दृढतापूर्वक उभिन पत्रकार संस्थाहरूलाई आग्रह पनि गरेका छन् ।

वरिष्ठ अधिवक्ता एकाज भण्डारीले संसदका सदस्यहरु स्वतन्त्र नरहेको उदहारण मिडिया काउन्सिल विधेयक भएको बताएका छन् । कार्यक्रममा बोल्दै स्वतन्त्र मिडियालाई सिध्याउने गरी ल्याइएको मिडिया काउन्सिल विधेयकले मिडिया हेर्ने निकायका सबै मान्छे सरकारले नियुक्ति गर्ने प्रावधान राखेर सरकार आफूले गल्ती नै गरेको बखतपनि गुनगान गाउनुपर्ने र भ्रष्टाचारलाई थप प्रश्रय दिने काम बाहेक केही नगर्ने भण्डारीले बताएका छन् । विधेयक तत्काल फिर्ता लिएर सरकार जनताको पक्षमा उभिन सरकारसँग आग्रह गरेका छन् । ‘पत्रकारिता क्षेत्रबाट गएका विभागीय मन्त्रीबाटै मिडियाविरोधी विधेयक ल्याउनुलाई प्रतिशोध साँध्न त ल्याएका त हैनन् ?’ भण्डारीले प्रश्न गरे । कानून नबनाई राजनीतिक पार्टी विप्लव नेतृत्वको ने.क.पा.माथि प्रतिबन्ध लगाएर सरकारले गल्ती गरेको बताएका छन्।


कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्य,  अधिवक्ता सुनीलरञ्जन सिहं, जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रे, प्रेस युनियनका  वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र समाजवादी पार्टीकी केन्द्रीय सदस्य भगवती सुवेदीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध खारेज गर्न माग गरे । 

क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल प्रेस सोसाइटीका अध्यक्ष केशव अर्यालले गरेका थिए । कार्यक्रममा जनपत्रकार सङ्गठन काठमाडौँ जिल्ला संयोजक जितेन्द्र महर्जनलाई मोहन वैद्य किरणलगायत अतिथिले सम्मान गरेका थिए ।

२०७६ जेठ ४ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :