सूर्योदय नियाल्दै

कविता

हामी पहाडको टुप्पोबाट पूर्वको सूर्योदय नियालिरहेका छौँ
केही पलमै सुनौला देखिए अग्ला हिमचुचुराहरू
हराभरा देखियो तराईको फाँट
निर्भीक, स्वच्छ र हरियाली छ पहाड
अब कुनै काला धर्साहरू बाँकी छैनन् आँखा¬अगाडि
छ्याङ्ग खुलेको छ क्षितिज
कस्तो अनौठो, वैभवका अहंकार पाक्ने सिसमहलहरूमा आलस्य छाएको छ
हामी नै हौँ सर्वश्रेष्ठ भनेर दम्भ भर्ने मालिकहरू निम्छरा देखिन्छन्
हरदम संसद्मा रबाफ छाँट्ने नेताहरू रङ हराएका छेपाराजस्ता लाग्छन्
प्रस्ट देखिन्छन् निभ्दै गरेका दरबारहरूका रङ्गीबिरङ्गी बत्तीहरू
कुनै रौनक छैन ग्यालरीहरूमा
सूर्योदयसँगै देखिन्छन् यावत् यथार्थहरू
ओहो ! बास नभएका, गाँस नपाएका र दबिएका अनुहारहरूमा यस्तो चमक !
भट्टीमा टाक्सिएर खपेटा परेका मान्छेका आँखामा धपधपाउँदो तेज !
पुरुषभन्दा अघिअघि लम्किरहेका छन् त नारीहरू
के अब समय बदलिएको हो वा बदलिँदैछ ?
एकदमै नयाँ हलचल देखापरिरहेको छ त !
हो त अँध्यारोको रजाइँ धेरै चल्ने कहाँ हो र !
कुनै नशामा उर्लिएको जोस कति टिक्छ
कसरी टिक्छ अर्काको श्रममा उम्लिएको उन्माद ?
केही दुर्घटनाहरूको आतङ्कमा विज्ञानको यात्रा रोकिने भइदिएको भए
इतिहासको पाङ्ग्रो आज पनि पाषाण युगमै गुडिरहेको हुन्थ्यो
पृथ्वी जति घुम्छ, समय जति चल्छ, सत्य खुल्दै जान्छ
आउ मित्र तृप्त हुँदासम्म आनन्द लिऊँ र रमाऊँ सत्यको यात्रामा

२०७६ वैशाख २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्