भाषा हाम्रो अस्तित्वको मूल हो : नोम चोम्स्की

sailendra-samadarsi-294x300अनुवादकः शैलेन्द्र समदर्शी
बर्सौंदेखि विशेषज्ञहरू भाषा अनौठो हुन्छ भन्ने कुरालाई मान्दै आइरहेका छन् । सन् १९५६ को एक दिन भाषाविज्ञानका एक युवा प्रोफेसरले शीर्ष अमेरिकी शिक्षा संस्थान एमआईटीमा सूचना सिद्धान्तमाथि आयोजित एक गोष्ठीमा ऐतिहासिक भाषण दिए । उनको तर्क थियो, प्रत्येक अर्थपूर्ण वाक्यले केवल आफ्नो भाषाको नियम मात्र होइन तर सबै भाषामाथि लागू हुने वैश्विक व्याकरणको नियमलाई मान्दछ । यति मात्र होइन, साना नानीहरू ठूलाहरूले गरेको कुराकानीलाई नक्कल गरेर वा आफूवरिपरिका बाहिरी परिवेशबाट भाषा सिक्नुको सट्टामा भाषामा प्रसिद्धि प्राप्त गर्ने आन्तरिक क्षमताबाट सिक्छन् । यो एउटा यस्तो शक्ति हो जुन शक्ति जैविक विकासले केवल हामी मानिसलाई मात्र सुम्पिएको छ, अन्य प्राणीहरूलाई होइन । यी युवा प्रोफेसरको यो क्रान्तिकारी विचारले एकै रातमा भाषाविद्हरूको सोचाइलाई परिवर्तन गरिदिएको थियो ।
»» भाषाविज्ञानमाथि यस्तो क्रान्तिकारी र नयाँ प्रकारको विचार राख्ने यी युवा प्रोफेसर अरू कोही नभएर नोम चोम्स्की थिए ।
चोम्स्कीको जन्म ७ डिसम्बेर, १९२८ को दिन अमेरिकी नगर फिलाडेल्फियामा भएको हो । उनका पिता विलियम चोम्स्की हिब्रु भाषाका विद्वान् थिए र आमा एल्सी सिमोनोफ्स्की पनि विदुषी तथा बालपुस्तककी लेखिका थिइन् । नोमले सानैमा मध्यकालीन हिब्रु व्याकरणमाथि आफ्ना पिताले लेखेको पाण्डुलिपि पढ़ेका थिए जसले उनको भविष्यको काममा आधार तयार पारेको थियो । सन् १९५५ सम्म उनी एमआईटीमा भाषाविज्ञान पढ़ाउन थाले । यहाँ बस्दा नै नोमले आफ्नो भाषाविज्ञानसम्बन्धी क्रान्तिकारी सिद्धान्तको सूत्रपात गरे । चोम्स्की त्यो दृष्टिलाई चुनौती दिन्छन् जसबाट हामी आफैँले आफैँलाई देख्छौँ । उनी भन्छन्, ‘ भाषा हाम्रो अस्तित्वको मूल हो । हामी हरेक समय भाषामा लीन हुन्छौँ । जब हामी सड़कमा हिँडि़रहेका हुन्छौँ, आफूसित आफ्ना कुराकानी रोक्नका लागि ठूलै इच्छाशक्तिको आवश्यकता पर्दछ किनभने आफैँसित हाम्रो कुराकानी निरन्तर भइरहेको हुन्छ ।
चोम्स्कीले राजनीतिदेखि दूरी बढाउने वैज्ञानिकहरूको परम्पराविपरीत सक्रिय राजनीतिमा सक्रियतापूर्वक भाग लिए । उनी भियतनाममा अमेरिकी आक्रमणको प्रमुख विरोधी थिए र उनले १९६७ को प्रसिद्ध पेन्टागनविरोधी मार्चको आयोजनमा पनि सहयोग गरे । जब यो आन्दोलनका नेता पक्राउ गरियो तब उनलाई जेलमा नर्मन मेलरसँग राखियो । मेलरले आफ्नो पुस्तक ‘आर्मिज अव् द नाइट’ (मा चोम्स्कीलाई, ‘लुते, तीखो नाक भएको र खास छवि भएको यस्तो व्यक्ति बताएका छन जसभित्र दृढ़ नैतिक बलको महक आउँछ ।’

p1781n464flfk1v72o391s101lh40_16128चोम्स्कीसँग यहाँ राखिएको कुराकानी ‘ कनेक्टिकट’ (का पत्रकार म्यारिअन लाङ लिएका हुन् । उनी भन्छन, त्यो समय चोम्स्कीका लागि धेरै कठिन थियो । पत्नी गम्भीर बिमारीले पीडि़त थिइन् । नोम उनकै सेवामा दिनरात खटिएका थिए । यो अन्तर्वार्ता लिनभन्दा केवल दस दिनअघि उनकी पत्नीको निधन भएको थियो । यस्तो अवस्थामा लिइएको यो पहिलो अन्तर्वार्ता हुनसक्छ । यस्तो अवस्थामा पनि अन्तर्वार्ता दिन उनी इच्छुक भएका थिए । पछि उनले ‘डिस्कवर’ संवाददाता वेलरी रोसलाई पनि धेरै प्रश्नको उत्तर दिएका थिए ।
»» तपाईं मानिसको भाषालाई अनौठो गुण मान्नुहुन्छ । के कुराले यसलाई खास बनाउँछ ?
मानिस अन्य प्राणीभन्दा भिन्नै हुन्छ । यस अर्थले प्रत्येक मानिस मूलतः एकैजस्ता हुन्छन् । अमेजनको सिकार सङ्ग्राहक आदिवासी समुदायको कुनै नानीलाई बोस्टनमा पालनपोषण गरे, उक्त नानी भाषिक क्षमताको मामलामा यहाँ हुर्कीबढ़ी गरेका मेरा नानीभन्दा अलिकति पनि भिन्नै हुँदैन । विपरीत परिस्थितिमा पनि यस्तै हुन्छ । अर्थात् बोस्टनका कुनै नानी अमेजन आदिवासी समुदायबीच हुर्केबढ़े ती आदिवासी समुदायको भाषा सहजै बोल्न सक्छ । यो अनौठो मानुष्य सम्पत्ति जो हामी सबैसित छ । हाम्रो संस्कृति अथवा हाम्रो कल्पनाशील बौद्धिक जीवनको ठूलो अंशको आधारभूत तत्व हो । यसैकारणले हामी योजना बनाउन सक्छौँ, सिर्जनात्मक कलाकर्म गर्न सक्छौँ र जटिल समाजको निर्माण गर्न सक्छौँ ।
»» भाषाको यो शक्तिको जन्म कहिले अनि कहाँ भयो ?
तपाईंले पुरातात्विक अभिलेखहरू हेर्नुभयो भने प्रायः डेढ़ लाखदेखि ७५ हजार वर्षपूर्व समयको एउटा सानो क्षणमा रचनात्मक विस्फोट भएको देख्नुहुन्छ । यस कालमा अचानक जटिल हस्तशिल्प, प्रतीकात्मक निरूपण, आकाशीय घटनाहरूको मापन तथा जटिल सामाजिक संरचनाहरूजस्ता सिर्जनात्मक गतिविधिहरूको विस्फोट देख्न सकिन्छ । प्रागैतिहासिक कालका प्रायः सबै विशेषज्ञ यस घटनालाई भाषाले औचक उद्भवसँग जोड़्छन् । यस्तो लाग्दैन, यस घटना र मानवको शारीरिक परिवर्तनबीच कुनै सम्बन्ध छ । आज पनि मानिसको बोल्ने वा सुन्ने तन्त्र त्यस्तै छ, जस्तो ६ लाख वर्षअघिको मानिसको थियो । तर मानिसमा अभूतपूर्व संज्ञानात्मक परिवर्तन आएको छ । कोही जान्दैनन् किन ?
»» मनुष्य भाषामा तपाईंको रुचि कहिलेदेखि सुरु भयो ?
सानै उमेरमा मैले बाबाबाट आधुनिक हिब्रु साहित्य अथवा अन्य पाठ्यसामग्री पढ़न पाएँ । १९४० तिर उनलाई फिलाडेल्फियाको एक हिब्रु संस्था ड्रप्सी कलेजबाट पीएचडी प्राप्त भयो । उनी सिमेटिक थिए र मध्यकालीन हिब्रु व्याकरणमाथि काम गर्थे । मलाई निश्चित थाहा छैन, मैले आफ्ना बाबाको पुस्तकको आधिकारिक रूपमा प्रुफ पढ़ेको थिएँ कि थिइनँ तर मैले त्यसलाई अवश्यै पढ़ेको थिएँ । केही अवस्थासम्म व्याकरण सम्बन्धमा बुझ्न यसै पुस्तकले सघायो । तर यसबाट पछि गयौँ भने व्याकरणको अध्ययनको अर्थ थियो, ध्वनिलाई व्यवस्थित गर्नु, काललाई हेर्नु, यी कुराहरूलाई गर्न र हेर्न यी कुराहरू कसरी एकार्कामा जोडिन्छन् ।
»» भाषाविद् ऐतिहासिक व्याकरण र विवरणात्मक व्याकरण भिन्न बताउँछन् । यी दुईमा के अन्तर छ ?
ऐतिहासिक व्याकरण यस्तो अध्ययन हो जस्तै कसरी मध्यकालीन अङ्ग्रेजीबाट आधुनिक अङ्ग्रेजीको विकास भयो । कसरी पुरानो अथवा प्रारम्भिक अङ्ग्रेजीबाट मध्यकालीन अङ्ग्रेजीमा विकास भयो । कसरी जर्मेनिकबाट र जर्मेनिक ती भाषा स्रोतबाट विकसित भयो जसलाई हामी प्रोटो–इन्डो–युरोपियन भन्छौँ । भाषाको समयसँगै विकास हुन्छ । तपाईं यसलाई जैविक उद्विकास (बायोलजिकल इभोल्युसन) को अध्ययनको समकक्ष मान्न सक्नुहुनेछ ।
विवरणात्मक व्याकरण कुनै समाज वा व्यक्तिविशेषका लागि वर्तमान भाषालाई व्यवस्थालाई जान्ने प्रयास हो । तपाईं यस अन्तरलाई जैविक विकास र मनोविज्ञानबीचको भिन्नताका रूपमा हेर्न सक्नुहुनेछ ।
»» तपाईंका बाबाको समयका भाषाविद्, उनीहरू के गर्थे ?
उनीहरू वास्तविक धरातलमा प्रयोग भइरहेको भाषिक विधिमाथि काम गर्थे । उदाहरणका लागि तपाईं चेरोकीका लागि व्याकरणमा काम गर्न चाहनुहुन्छ भने तपाईं ती समुदायबीच जानु हुन्छ र स्थानीय बोल्नेहरूसँग सूचना सङ्ग्रह गर्नु हुनेछ ।
»» तपाईंको सिद्धान्तअनुसार सबै मानिसको एक ‘वैश्विक व्याकरण’ हुन्छ । यसको के अर्थ हो ?
यसको अर्थ मानिसको भाषा सङ्कायको आनुवंशिक जड़सित छ । उदाहरणका लागि तपाईं आफ्नो अन्तिम वाक्यलाई गम्भीरतापूर्वक बिचार्नुहोस् । यो ध्वनिको विस्तारित क्रम होइन । आफ्नो शब्दको अत्यन्त सुनिश्चित ढाँचा खड़ा गरिएको छ र यसको अत्यन्त विशिष्ट भाषिक अर्थ छ । यसको एक खास अर्थ, कुनै दोस्रो अर्थ होइन र यसको एक खास ध्वनि छ, दोस्रो होइन । भन्नुहोस्, तपाईं यो कसरी गर्नुभयो ? यहाँ दुईवटा सम्भावना हुनसक्छन् । एक, यसलाई एक चमत्कार मानिलिए । अथवा दोस्रो तपाईंसँग नियमहरूको एक आन्तरिक व्यवस्था हो जो शब्दको ढाँचा र त्यसको अर्थलाई निर्धारित गर्दछ । म बुझ्दिनँ यो एक चमत्कारको देन हो ।
»» तपाईंका भाषावैज्ञानिक विचारहरूमाथि सुरुमा कस्ता प्रतिक्रिया भए ?
सुरुसुरुमा धेरैजसो मानिसहरूले मेरो विचारलाई खारेज गरे अथवा यसको उपेक्षा गरे । त्यो ‘बिहेवियरल साइन्स’ को युग थियो, मानव क्रिया र व्यवहारको अध्ययन जसमा व्यवहार नियन्त्रण तथा रूपान्तरण पनि सामेल गरिन्छ । बिहेवियरिज्म भन्छ, तपाईं कुनै पनि व्यक्तिलाई मनले चाहेजस्तै परिवर्तन गर्न सक्नुहुनेछ । यति हो तपाईंले ती व्यक्तिको परिवेश वा प्रशिक्षण पद्धतिलाई उचित रूपले व्यवस्थित गर्नुपर्नेछ । मानिसको रूपान्तरणमा आनुवांशिक घटक महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, यो विचारलाई अनौठो बताएर हल्का रूपमा लिइयो । पछि मेरो यो विधर्मी विचारलाई ‘इन्नेटनेस हाइपोथेसिस’ (को नाम दिने काम गरियो र यसलाई भत्र्सना गर्दै लेखिएको साहित्यको थाक लगाइयो । आज पनि तपाईं प्रमुख शोधपत्रिकाहरूमा यस्ता सूत्र वाक्य पढ़्न पाउनुहुनेछ, भाषा केवल संस्कृति, परिवेश तथा प्रशिक्षणको परिणाम हो । एक प्रकारले यो धारणा हाम्रो सहजबोधको अंश नै बनाइएको छ । हामी सबै भाषा सिक्छौँ । चाहे त्यो कठिनभन्दा कठिन नै किन नहोस् । हामीलाई थाहा छ, परिवेशले पनि आफ्नो प्रभाव छोड़्छ । इङ्ल्यान्डमा हुर्केबढ़ेका मानिसहरूले अङ्ग्रेजी बोल्छन्, स्वाहिली होइन । वास्तविक सिद्धान्त– त्यो हाम्रो चेतनासम्म पुग्न सक्दैन । हामी आफूभित्र लुकेका ती सिद्धान्तहरू देख्दैनौँ, जो हाम्रो भाषिक व्यवहारलाई निर्धारित गर्छन् र हामी ती सिद्धान्तहरूलाई पनि देख्दैनौँ जुन हामीलाई आफ्नो शरीर हल्लाउने अनुमति दिन्छन् । यो भित्रभित्र भइरहन्छ ।
»» भाषा वैज्ञानिक लुकेका यी सिद्धान्तहरूको खोज कसरी गर्छन् ?
तपाईं आँकड़ा सङ्ग्रह गरी कुनै भाषाबारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ । अर्थात् मेरो भाषाबारे अध्ययन गरिरहेका चिनियाँ भाषाविद् यसबारेमा मबाट प्रश्न सोधेर उत्तर सङ्ग्रह गर्नसक्छन् । यो एक प्रकारको सङ्ग्रह हुन्छ । दोस्रो प्रकारको सङ्ग्रहअनुसार लगातार तीन दिनसम्म कुन कुराहरू म बोल्छु त्यसलाई टेप रेकर्ड गरिरहे । कुनै भाषा सिकिरहेको र प्रयोग गरिरहेको समय मानिसको मस्तिष्कमा जे कुराहरू खेलिरहेका छन् त्यसलाई अध्ययन गरी तपाईं भाषाबारेमा जाँचपरख गर्न सक्नुहुनेछ ।
आजका भाषाविद्हरूलाई चाहिएका ती नियम वा सिद्धान्तहरूमाथि ध्यान दिने प्रयास गरून्, उदाहरणका लागि तपाईं ठीक यो समय मैले भनिरहेको वाक्यको अर्थ निकाल्न र त्यसलाई बुझ्न अथवा फेरि आफ्नो वाक्य बनाउन प्रयोग गरिरहनुभएको छ ।
»» के यो व्याकरणको त्यो पुरानो व्यवस्थाजस्तो होइन जसलाई तपाईंले अघिबाटै खारेज गरिसक्नु भएको छ ?
होइन । व्याकरणको परम्पपरागत अध्ययनमा तपाईं ध्वनि अथवा शब्द रचनामाथि ध्यान दिनुहुन्छ र सायद धेरथोर वाक्य विन्यासमाथि । पछिल्ला ५० वर्षसम्मको उत्पादक भाषाविज्ञान (जेनरेटिव लिङग्विस्टिक्स) मा तपाईं यो सोधिरहनुभएको छ, हरेक भाषाका लागि नियम वा सिद्धान्तहरूको कुन तन्त्र छ, जो व्यवस्थित अभिव्यक्तिहरूको असङ्ख्यौ शृङ्खलालाई तय गर्दछ ? यसपछि तपाईं यसलाई एक निश्चित व्याख्यासँग जोड़्नुहुनेछ ।
»» हाम्रो भाषिक बुझाइ के मस्तिष्क छविसँग जोडिएको छ ?  
मिलानको एक समूहले हालै भाषासँग हुने मस्तिष्कको क्रियाशीलतासम्बन्धी एक रोचक अध्ययन गरेको छ । यो समूहले आफ्नो शोधपात्रलाई निरर्थक भाषावालीको दुई प्रकारको लिखित सामग्री दियो । यसमा एक प्रतीकात्मक भाषा थियो जसलाई इतावली भाषाको नियममा आधारित थियो । यद्यपि शोधपात्र यो जान्दैनथ्यो । दोस्रोलाई वैश्विक व्याकरणका नियमहरूको उल्लङ्घन गरी तयार पारिएको थियो । एक खास मामिलामा, मानिलिऊँ तपाईं कुनै वाक्यलाई निषेध गर्न चाहनुहुन्छ, ‘जोन यहाँ थियो, जोन यहाँ थिएन ।’ केही निश्चित कुरा छन् जुन कुरा गर्नका लागि भाषामा तपाईंलाई अनुमति दिइन्छ । तपाईँ ‘छैन–होइन’ शब्दलाई केही स्थानमा राख्न सक्नुहुनेछ । तर केही अन्य स्थानमा राख्न सक्नुहुन्न । यसैले पहिलो मनगढ़न्ते भाषामा तपाईं निषेधकारी तत्वलाई कुनै स्वीकार्य स्थानमा राख्नुहुन्छ जब कि दोस्रोमा तपाईं यसलाई अस्वीकार्य स्थानमा । मिलान समूहले पायो, स्वीकार्य निरर्थक वाक्यसँग मस्तिष्कको भाषिक क्षेत्रमा सक्रियता देखापर्दछ । तर अस्वीकार्य वाक्य जसले वैश्विक व्याकरणको नियमलाई उल्लङ्घन गर्दछ, मस्तिष्कमा कुनै सक्रियता उत्पन्न गर्दैन । यसको अर्थ हुन्छ, मानिस अस्वीकार्य वाक्यसँग भाषाजस्तो होइन तर पहेलीजस्तै खेलिरहेको थियो । यो एक आरम्भिक परिणाम हो तर यसले स्पष्ट रूपमा सङ्केत दिन्छ, भाषाहरूको खोजपड्तालबाट निस्कने भाषिक सिद्धान्तको मस्तिष्कको क्रियाशीलतासँग गहिरो सम्बन्ध छ जस्तो कसैलाई आशा र अपेक्षा हुनसक्छ ।
»» हालको आनुवंशिक अध्ययनले पनि भाषाबारेमा केही यस्तै सङ्केत दिन्छ । के यो उचित हो ?
हालका वर्षहरूमा एक जिनको खोज भएको छ जसको नाम हो है, फोक्सपी २ । यो जिन वास्तवमै रोचक छ किनभने यसमा कुनै प्रकारको ‘म्युटेसन’ हुँदा भाषिक प्रयोगसम्बन्धी कमजोरीहरू प्रकाशमा आउँछ । यो जिनलाई त्यो क्रियासँग जोड्छ जसलाई हामी ओरोफेसियल एक्टिभेसन भन्छौँ । अर्थात् बोल्ने समयमा हामी आफ्नो मुख, आफ्नो अनुहार, जिब्रो कसरी नियन्त्रित गर्छौं । यसैले फोक्सपी २ को सम्भवतः भाषाको प्रयोगसँग कुनै सम्बन्ध छैन । यो जिन केवल मानिसमा मात्र हुँदैन तर अन्य प्राणीहरूमा पनि पाइएको छ । र अलग– अलग प्रजातिमा बेग्लाबेग्लै ढङ्गले काम गर्दछ । यो जिनले कुनै एउटा काम गर्दैन । तर यस खोजलाई भाषाको केही प्रहेलिकाको आनुवांशिक आधारको उपस्थितिको पुष्टिको दिशामा एक रोचक आरम्भिक कदम मान्न सकिन्छ ।
»» तपाईं भन्नुहुन्छ, जन्मजात भाषिक क्षमता मानिसको विशिष्टता हो तर फोक्सपी २ को सततता कुनै प्रजातिमा देखिएको छ । के यी दुवै कुरा परस्पर विरोधाभासपूर्ण छैन ?
यो कुरा प्रायः अर्थहीन छ, यसमा प्रजातिगत सततता छ । यसमा कसैलाई शङ्का छैन, मानिसको भाषिक तन्त्र जिन, तन्त्रिका तन्त्र आदिमाथि आधारित छ । भाषाको प्रयोग, बुझाइ, अधिग्रहण र निर्माणमा सम्मिलित पद्धतिहरू एक स्तरसम्म सम्पूर्ण जन्तुजगत्मा देखिएका छन् । साँचो भन्ने हो भने, सम्पूर्ण जीव जगत्मा देखिन्छ । एकाधलाई त तपाईं जीवाणुमा पनि देख्नुहुनेछ । तर यो कुरा यसको विकास वा समान मूलले उत्पन्न हुनु सायदै कुनै सङ्केत दिन्छ । भाषा उत्पन्न गर्नुजस्तो विशिष्ट मामिलामा कुनै प्रजाति, मानिसको सबैभन्दा नजिक हुन्छ भने पक्षी हो । तर यसको कारण समान उद्गम होइन । यो एक छुट्टै परिघटना हो जसलाई हामी कन्भर्जेन्स भन्छौँ– प्रायः एकैजसो व्यवस्थाहरूलाई छुट्टैछुट्टै स्वतन्त्र रूपबाट विकास । यसबारेमा जेजति खोजी भइरहेको छ त्यसले भाषावैज्ञानिक सिद्धान्तलाई प्रभाव पार्ने सम्भावना थोरै छ ।
»» पछिल्ला २० वर्षदेखि तपाईं भाषाको ‘सरलतम’ (मिनिमलिस्ट) बुझाइमाथि कार्य गरिरहनुभएको छ । यसको के खाँचो छ ?
मानिलिनुहोस् भाषा हिउँको ढिक्काजस्तै हो । यसले प्रकृतिको नियमअनुसार आकार ग्रहण गर्दछ । भाषाको खोजबारेमा यस दृष्टिलाई मिनिमलिस्ट प्रोग्राम भनिन्छ । म बुझ्छु, यसले केही महत्वपूर्ण परिणाम दिएको छ । यसले देखाएको छ, भाषा वास्तवमै केही शब्दार्थसम्बन्धी अभिव्यक्तिको आदर्श हल हो तर स्पष्ट अभिव्यक्तिअनुसार धेरै खराब तरिकाले डिजाइन गरिएको छ । एक विशिष्ट आवाज निकालेर तपाईं ‘बेसबल’ भन्न सक्नुहुन्छ तर यसका लागि ‘रूख’ भन्न सक्नुहुन्न ।
»» भाषाविज्ञानअघि ठूलो प्रश्न के छ ?
अझै कति अनुत्तरित रिक्त स्थान छन् । केही प्रश्न ‘के’ – देखि सुरु हुन्छ जस्तै– भाषा के हो ? यस समयमा तपाईं र म जे गरिरहेका छौँ, यसको नियम र सिद्धान्त केके छन् ? केही अन्य ‘कसरी’ बाट सुरु हुन्छ, तपाईं र मैले यो क्षमता कसरी प्राप्त ग¥यौँ । हाम्रो आनुवंशिक भण्डार अथवा अनुभव र प्रकृति नियममा के लुकेको छ ? यसपछि ‘किन’ (बाट सुरु हुने प्रश्न छ जुन सबैभन्दा कठिन छ ः भाषाको नियम यस्तै किन छ, केही र अन्य प्रकारका किन छैन ? कतिसम्म यो उचित छ, भाषाको आधारभूत डिजाइन ती बाहिरी सर्तहरूको अनुकूल हल प्रस्तुत गर्दछ । जसलाई भाषा अपरिहार्य रूपले पूरा गर्दछ ? यो एक ठूलो कुरा हो । भाषाको प्रकृतिबारेमा जेजति हामी जान्छौँ, त्यसलाई हामी कति अवस्थासम्म मस्तिष्कमा हुने क्रियासँग जोड़ेर हेर्नसक्छौँ ? र अन्ततः के भाषाको आनुवंशिक आधारबारेमा कुनै गम्भीर खोजपड्ताल भएको छ ? यी सबै बिन्दुमाथि निश्चय प्रगति देखिन्छ तर ठूलै रिक्त स्थान अझै पनि छ ।
स्रोत : खबर म्याग्जिन डट कम

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :