धने अर्थात् विद्रोही

कविता

कल्पित स्वर्ग जाने दौडमा
नर्कको अमृत पिई
स्वर्गको कथित पुजारी भइपल्केको
मानव अनुहारझैँ लाग्ने
दैत्यकार मानवको
षड्यन्त्र र वर्गविन्यासले
थिल्थिलो पारिएको
मेरो गाउँछेउको
म धुलौटे बाटोको कणझैँ ठानिन्थेँ
धन भएको मन नभएको
मनबहादुर साहूले नाम राखेको
आँसु शुष्क बनुन्जेल रुन्थेँ
म उही क्या !
साहूबाजेले नाम राखेको कामी धने ।
मेरा पुर्खाको कमाइले
साहूका सन्दुसहरू भरिए
मेरै सीप र कौशलले
मन्दिरका टुँडालहरू ठडिए
अपसोच !
मेरा बराजु मन्दिरछेउ काटिए
पवित्र मन्दिर बिटुल्याए रे !
मेरा शाखा–सन्तानले नगरेको अपराध
पानी छुँदा अछूत भइने
बाटो पर्खंदा अलच्छिन हुने
म हजारौँ वर्षदेखिको
ढाडमा लिखत बोक्दै गरेको
मनभित्र हुरीमन हुर्काउँदै गरेको
उही क्या म !
सीप चल्ने, श्रम चल्ने
पानी नचल्ने ‘डुम धने’ ।
मैले धारा छोएबापत्
धेरै अपमानका लोप्पा खाएँ
मन्दिरका अनाडी देवताले पनि
मलाई अलिकति इन्साफ दिएनन्
मेरै आँगनमा
फूलजस्ती बहिनीको हुर्मत लिने
पापिष्टका विरुद्ध
आँखामा पट्टी बाँध्ने
न्यायालयमा नालिस दिएँ
उल्टै मेरै हातमा हत्कडी
उतै अपराधीहरूलाई फूलपाती ।
यी सबै अपमानका घाउ पखाल्न
थाकेका मनहरूलाई सञ्जीवनी दिने
पूर्व क्षितिजमा रातो हुँकार दिँदै
विद्रोहको विगुल बज्यो
दासताका जञ्जिर च्यात्दै
सारा निमुखाहरू एकजुट भए
मैले पनि धाराको पानी
अघाउन्जेल पिउन
स्वाभिमान जीवन जिउन
मन्दिरको देवता बेरिएको खोल उतार्न
हाम्रै हस्तीहाडले बनेका
सनातनी महलहरूमा
विद्रोहको मशाल झोस्न र
मेरै पौरखबाट बनेको
घन बजार्न कम्मर कसेको
म उही क्या !
रूप र चोला फेरेको
उहिले मलाई भकुर्ने साहूको
घर रातामान्छेसँगै ‘सेबोटेज’ गरेको
उहिलेको धनबिनाको धने कामी
उही क्या ! म धने अर्थात् कमरेड विद्रोही !

२०७६ वैशाख २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :