बलात्कारको अभियोगमा काँग्रेस नेता पक्राउ


काठमाडौं : नेपाली काँग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कारको अभियोगमा काठमाडौंबाट पक्राउ गरिएको छ । चैत २२ गते मध्यराती गोंगबुमा डेरा लिएर बस्दै आएकी युवतीको कोठामा ढोका फोडेर प्रवेश गरी बलात्कारको प्रयास गरेपछि युवती र छिमेकीले प्रहरी खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाले गोंगबुमा डेरा गरी बस्ने एक युवतीको कोठाबाट अर्याललाई मध्यराती १२ बजे ढोका फोरेर प्रवेश गरी बलात्कारको प्रयास गरेको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा पक्राउ परेको जानकारी दिएका छन् । ‘युवती र अर्यालबीच लामोसमयदेखि राम्रो सम्बन्ध थियो । कोठामा बेलाबेला उनीहरूसँगै बस्ने र खाने गर्थे’, अर्यालका एकजना साथीले भने, ‘उनीहरूबीच कुरा बिग्रिएपछि युवतीले बलात्कारको आरोप लगाएकी छिन् । महिलालाई कानूनले पनि सजिलो बनाइदिएको छ ।’ युवतीले आफूलाई कुटपिट गरेको प्रहरीमा बयान दिएकी छिन् ।

युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले बताए । युवतीले अर्यालसँगै नुवाकोटकै राजु श्रेष्ठको नाममासमेत किटानी जाहेरी दिएकी छिन् । अर्याल र ती युवतीबीच सम्बन्ध रहेको र दुबैबीच खटपट भएपछि बलात्कारको आरोप लगाइएको अर्यालका साथीहरूको दाबी छ ।

२०७६ वैशाख १७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :