एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई


काठमाडौं : एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । डिफेन्डिङ च्याम्पियन रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको छ ।

थाइल्यान्डमा भएको फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको थियो । मलेसियाका तीन खेलाडीबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । मोहम्मद हजिक ऐमानले १८ र वान मोहम्मद अजामले १६ रन बनाएका थिए भने जिनेन्द्र मुरलीले १४ रन बनाए ।

२१.५ ओभरमा सातौं विकेट गुमाएको मलेसियाले आठौं विकेटकालागि मोहम्मद हजिक ऐमान र जिनेन्द्र मुरलीले पारी सम्हालेका थिए । ऐमान र मुरलीले २८ रनको साझेदारी गर्दैै मलेसियालाई उकास्ने कोशिस गरेका थिए तर हजिक ऐमान आउट भएसँगै मलेसिया थप दबाबमा देखिएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए भने विशालले चार विकेट लिंदा दीपकले तीन विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालकालागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए भने दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाएका थिए ।

२०७६ वैशाख १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :