सरकारी प्रतिबन्ध र पार्टीको आगामी कार्यभार

सरकारले हाम्रो पार्टी नेकपामाथि प्रतिबन्ध लगाएपछि देश राजनीतिक ध्रुवीकरणको नयाँ चरणमा प्रवेश गरेको छ । अब हरेक नेपालीलाई सरकारले प्रतिबन्धका पक्षमा उभिने कि त्यसको विपक्षमा ? कठोर प्रश्न खडा गरेको छ । यो स्थितिमा पार्टीले कस्तो नीति अवलम्बन गर्ला ? सबैमा चासो पनि छ । त्यसैले यसबारे सङ्क्षिप्त रूपमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

प्रतिबन्ध : प्रजातन्त्रवाद कि प्रतिक्रान्ति ?

सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सफल पार्न नेकपामाथि प्रतिबन्ध लाउनुपरेको दाबी गरे पनि त्यो नारामा सरकार बेकम्मा र असफल साबित हुँदै गएपछि त्यसको ढाकछोप गर्न र जनतामाथि जबर्जस्ती युद्ध थोपर्न पार्टीमाथि प्रतिबन्ध लगाएको स्पष्ट छ । त्यसैले सैद्धान्तिक रूपमा सरकारी प्रतिबन्धले प्रजातन्त्रवाद वा प्रतिक्रान्ति केको प्रतिनिधित्व गर्दछ ? साथै व्यावहारिक रूपमा नेकपामाथि किन प्रतिबन्ध लाग्यो ? चर्चा गर्न आवश्यक छ ।

प्रजातान्त्रिक सिद्धान्तका एक प्रमुख अमेरिकी अध्येता रबर्ट ए. डाहालले सारमा जनताको शासन बुझाउने प्रजातन्त्र र गणतन्त्रमा भाषिक अन्तर रहेकाले प्रजातन्त्र नै मानिसको एक मात्र अन्तिम विकल्प भएको दाबी गर्दै ‘प्रजातन्त्रबारे’ भन्ने आफ्नो किताबमा लेखेका छन्, ‘प्रजातन्त्रले दुष्ट, भ्रष्टाचारी निरङ्कुश शासकको सरकार बन्ने कुरामा रोक लगाउन सहयोग गर्छ ।’ त्यसमा उनले ‘आदर्श प्रजातन्त्र र वास्तविक प्रजातन्त्र’ का बीचमा ठूलो खाडल रहेको स्वीकार्दै ‘प्रजातन्त्र निकै हदसम्म एउटा संयोगको कुरा’ बताएका छन् । यसलाई नेपाली उखानमा व्यक्त गर्दा जनताका लागि त प्रजातन्त्र नेपालको सन्दर्भमा लोकतन्त्र ‘आकाशको फल आँखा तरी मर’ जस्तै हो । यसलाई अझ स्पष्ट पार्दै ‘राज्य र क्रान्ति’ नामक किताबमा लेनिनले भनेका छन्, ‘पँुजीवादी प्रजातन्त्रवादमा अझ बढी क्रूरता, बर्बरता र रगतको समुद्रको आवश्यकता पर्दछ । एक तुच्छ अल्पसङ्ख्यकका लागि प्रजातन्त्रवाद, धनीमानीहरूका निम्ति प्रजातन्त्रवाद, यही हो पुँजीवादी समाजको प्रजातन्त्रवाद ।’ यसरी पुँजीवादी सिद्धान्तकार डाहालले भनेजस्तै सरकारी प्रतिबन्धले आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको एक मात्र अन्तिम विकल्प दाबी गर्दै आदर्श प्रजातन्त्र र वास्तविक प्रजातन्त्रको बीचमा ठूलो खाडल रहेको र प्रजातन्त्र एक संयोग अर्थात् आकाशको फल रहेको तथ्य स्पष्ट पार्दै ‘दुष्ट, भ्रष्टाचारी, निरङ्कुश शासकको सरकार बन्नबाट रोक्ने’ मान्यताको उल्लङ्घन गरेको छ । यो सन्दर्भमा प्रदीप गिरीलगायत सच्चा लोकतन्त्रवादी जागरुक हुनुपर्ने हो । अझ त्योभन्दा बढी यो लेनिनले भनेझैँ तुच्छ, अल्पसङ्ख्यक, दलाल पुँजीपति वर्गको प्रजातन्त्र साबित भएको छ र उनको प्रजातन्त्रको रक्षाका लागी अझ बढी बर्बरता, क्रूरता र रगतको समुद्रको आवश्यकता परेको छ जसका लागि सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर एकतर्फी युद्धको घोषणा गर्न पुगेको छ । यो सन्दर्भमा घनश्यामलगायतले विद्रोह गर्नुपर्ने हो । अहिलेको सन्दर्भमा यो प्रतिबन्ध विप्लव नेतृत्वको नेकपाविरुद्धजस्तो छ तर वास्तवमा यो सम्पूर्ण सचेत नेपाली नागरिकका विरुद्ध परिलक्षित छ । यो प्रतिबन्ध प्रत्येक सच्चा वामपन्थी, कम्युनिस्ट, स्वाभिमानी, देशभक्त, लोकतान्त्रिक शक्तिमाथि लगाइएको अङ्कुश हो । वस्तुतः यो प्रतिबन्ध वर्तमान सामाजिक दलाल फासिवादी सरकार तथा राज्यको असली रूप पनि हो । यो प्रतिबन्ध जनताले क्रान्तिद्वारा इतिहासको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गरेको उपलब्धिका विरुद्ध छ । त्यसकारण यो प्रतिबन्धले स्पष्टतः प्रतिक्रान्तिको प्रतिनिधित्व गरेको छ । साथै साम्राज्यवादीको निर्देशनमा लगाइएको यो प्रतिबन्ध राष्ट्रिय स्वाधीनताका विरुद्ध पनि छ । न सरकारले दाबी गरेजस्तो यो व्यवस्था नै जनताको एक मात्र अन्तिम विकल्प हो, न त प्रतिबन्धले नै यसको रक्षा हुनसक्छ, बरु यो प्रधानमन्त्रीको शब्दमा ‘ब्याक गियर’ नभएको प्रतिबन्धले देशलाई अवश्य नै दुर्घटनातिर धकेल्नेछ र यो सरकारी प्रतिक्रान्तिको गतिले नयाँ क्रान्तिको जन्म दिने निश्चित छ । एक दिन नयाँ क्रान्तिको ज्वालामा वर्तमान दलालतन्त्र खरानी हुनेछ ।

अब व्यावहारिक रूपमा नेकपामाथि प्रतिबन्ध किन लाग्यो त ? नेपाल र नेपालीलाई लुटिरहेको एनसेलमाथि नेकपाले कारबाही गरेपछि गल्तीले एकजना नागरिकको ज्यान गयो । यो दुःखद् घटना हो तर सरकार जनताको जीवनरक्षामा गम्भीर रहेको नाटक गर्दै कडाइपूर्वक प्रस्तुत हुने घोषणा गर्न पुगेको छ । साँच्चै सरकार जनताको जीवनप्रति संवेदनशील छ भने विगत ५ वर्षमा सडक दुर्घटनामा मात्र ८२,९०६ मान्छे परे । तीमध्ये १२,५२७ को ज्यान गएको रिपोर्ट आएको छ । आत्महत्याको त्यस्तै कहालीलाग्दो रिपोर्ट छ । विदेशबाट भित्रिने युवाहरूको लासको रिपोर्ट पनि अत्यासलाग्दो छ । त्यस्तै रोग र भोकले कति जनता मरेका छन् ? यसमा सरकार कति संवेदनशील भएको छ ? यसको कारण स्पष्ट गर्न सक्छ ? यसको जोखिम खत्तम गर्न गम्भीर छ ? भ्रष्टाचारको अखडामा बम पड्किँदा जनता कसरी असुरक्षित भए ? हो, भ्रष्टहरू असुरक्षित भए र हुनु पनि पर्छ । भ्रष्टका विरुद्ध बमआतङ्क त हुनैपर्छ । यहाँ यही भएको हो । किनकि एनसेलमाथि बम विस्फोटको कारबाहीमा मुख्य कुरा त एनसेलको लुटपाटको कुरा थियो । यसमा सरकार र नेता केही बोलेनन् । यहीबीचमा अहिलेका प्रमुख पार्टीका प्रमुख नेताहरूले चुनावमा एनसेलबाट लिएको अर्बौं पैसा फिर्ता गरे कर बुझाउने एनसेलको धारणा भनेर मिडियामा आयो तर यसमा पनि कसैले केही बोलेन । विखण्डनको नारामा आन्दोलन गरिरहेको सीकेसँग सरकारले जुन सम्झौता ग¥यो त्यसको पनि चौतर्फी विरोध भयो र सरकार पूरै रक्षात्मक बन्यो । यिनै घटनाको पृष्ठभूमिमा केही अत्याधुनिक हतियार फेलापारेको हल्ला गर्दै सरकारले हठात् नेकपामाथि प्रतिबन्ध लगाउन पुग्यो । जहाँसम्म चन्दा र लुटपाटको सवाल छ । नेपाल मात्र हैन, संसारभरिका पार्टीले चन्दा लिन्छन् । त्यसैले देश र जनताको मुक्तिका लागि सङ्घर्षरत नेकपाको चन्दा लिने नैसर्गिक अधिकार हो । देश, जनता र राज्यसमेतलाई लुटिरहेको अहिलेको दलालतन्त्रविरुद्ध सङ्घर्षरत नेकपा कसरी लुटेरा हुनसक्छ ? यो त ‘जो चोर उसैको ठूलो स्वर’ भनेजस्तै पो भयो । एउटा उदाहरण हेरौँ– भारतको वार्षिक बजेट प्रत्येक एक भारतीयलाई बाँड्दा जति पर्छ नेपालको वार्षिक बजेट प्रत्येक नेपालीलाई बाँड्दा भारतीयभन्दा दोब्बर पर्छ । त्यसरी हेर्दा भारतको भन्दा नेपालमा दोब्बर विकास हुनुपर्ने हो तर हुँदैन किन ? किनकि त्यो सबै भ्रष्टाचार हुन्छ । राज्यले लुटपाट गर्छ । राज्यशक्तिको आडमा कानुन बनाएर वैधानिक रूपमा बन्दुकको बलमा दलालहरूले लुटपाट गर्छन् । वास्तवमा जब विप्लव नेतृत्वको नेकपाले राज्य आफैँले थापेको बारुदी धरापको स्विच आफूसँग रहेको सङ्केत दियो तब सरकारले कुनै ठूलो राष्ट्रिय सङ्कट आइलागेको जस्तो गरी नेकपामाथि प्रतिबन्ध लगायो । त्यसपछि सरकार फासिवादी दमनमा उत्रेको छ । प्रहरी अप्रेसन चलाएको छ । अहिलेसम्म स्थायी सदस्य सुदर्शन, पीबीएम जीवन्त, सीसीएम बन्धु, प्रज्वलनलगायत दर्जनौँलाई गिरफ्तार गरी चर्को यातना दिने र उनीहरूमाथि ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, हातहतियार तथा राज्यविप्लवको मुद्दाको तयारी गर्दै प्रतिबन्धको औचित्य पुष्टि गर्दैछ । आजभोलि दिनहुँ सरकारले नेकपालाई नियन्त्रण गरिछाड्ने र नेकपालाई कसैले सहयोग नगर्न उर्दी जारी गर्दैछ । प्रधानमन्त्री, मन्त्री र अन्य केही नेताहरू भन्दैछन्– विप्लव नेतृत्वको नेकपालाई नियन्त्रण गरिनेछ । उसबाट हतियार खोसिनेछ । बम–बारुदको जोखिम खत्तम गरिनेछ । बमबारुदसँग वार्ता हँुदैन । नेकपाले बमबारुद र हतियार बुझाउनुपर्छ । आफ्ना लक्ष्य र उद्देश्य त्याग्नुपर्छ । यसरी प्रधानमन्त्रीले नेकपालाई आत्मसमपर्णका लागि चैत मसान्तसम्मको समयसीमा तोकेका छन् । ओहो महाशय ! एकपटक विगततिर त फर्क अनि भविष्य पनि हेर । तिमीले गरेको अपराध र गलत निर्णयको सिकार नेपाल र नेपाली हुनुपर्ने किन ? तिमी आफैँले थापेको बारुदी धराप नेकपालाई नियन्त्रण गरेर कसरी खत्तम गर्नसक्छौ ? विदेशी शक्तिकेन्द्रलाई खुसी पार्न र आफ्नो दलाल चरित्र स्पष्ट पार्दै सच्चा कम्युनिस्टको बदनाम गर्नलाई राष्ट्र र जनताका विरुद्ध फासिवादी युद्ध थोपरेर कसरी सुरक्षित हुन सक्छौ ? विप्लवलाई चे, चारु, रोजा वा गोन्जालो बनाउने सपना नदेख । याद गर पेरूको दलाल शासक फुजीमोरीको अन्त्य कसरी भयो ? संसारका दलाल शासकको अन्त्य कसरी भयो ? नेकपाको एकजना सदस्य मात्र रहे पनि तिमी आफैँले थापेको बारुदी धरापको स्विच उसको हातमा रहनेछ ।
अहिलेको नेपाली दलालतन्त्रले थापेको बारुदी धराप के हो त ? पहिलो धराप हो भ्रष्टाचार । दोस्रो धराप बेरोजगारी । तेस्रो हो शिक्षा–स्वास्थ्यको निजी–व्यापारीकरण । चौथो हो, राष्ट्रघात र शासकको तीव्र दलालीकरण । पाँचौँ धराप हो, अपमानित गर्दै सडकमा बेवारिसे छाडिएका माओवादी । छैटौँ हो, वर्तमान नेतृत्व र सत्ताप्रणालीको सङ्कट र असफलता । सातौँ धराप हो आत्मसमपर्णवाद, सम्झौतावाद, सुधारवाद । आठौँ धराप हो तिमी आफँैले गरेका जनता र राष्ट्रविरुद्धका अपराध र नवौँ धराप हो, राज्यद्वारा गरिने बेलगाम लुटपाट, बलात्कार र राज्यआतङ्क । हो, वर्तमान दलाल पुँजीवादी सत्ताका सामाजिक फासिवादी शासकहरू यिनै बारुदी धरापमाथि छन् र त्यसको स्विच नेकपाको हातमा रहेको छ । जो चाहेर पनि उनीहरू खोस्न सक्दैनन् किनकि सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध स्पष्ट प्रतिक्रान्तिको उद्घोष हो । शासकले गर्न सक्ने नै यही हो तर उनीहरूले कहिल्यै पनि क्रान्तिमाथि प्रतिबन्ध लाउन सक्ने छैनन् । नेताहरूलाई नियन्त्रण गरेर र मान्छे मारेर क्रान्ति मर्नेछैन । एकजना क्रान्तिकारी मात्र पनि बाँचेछ भने दलालतन्त्रको अन्त्य र क्रान्तिको आवश्यकताको वकालत गरिरहनेछ ।

पार्टीको आगामी कार्यभार

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर एकातिर पार्टीको विचार र कार्यदिशाको सफलता र यसले हासिल गरेको नयाँ उचाइलाई एकसाथ स्पष्ट गरिदिएको छ भने अर्कोतिर हाम्रो पार्टी नेकपालाई सरकारले हतियार बुझाएर आफ्नो लक्ष्य र उद्देश्य परित्याग गरी आत्मसमर्पण गर्न भनिरहेको छ । तर सबैलाई स्पष्ट नै छ पार्टीले आत्मसमर्पण गर्नेछैन । यत्ति त स्पष्ट हुनुपर्ने हो आजका हाम्रा पार्टीका नेताहरूलाई– आत्मसमर्पण स्वीकार्य हुन्थ्यो भने प्रचण्डसँगै हुन्थे नि । पार्टीले कदापि आजको देश र जनताको शत्रु बनेर आएको दलाल पुँजीवाद स्वीकार्नेछैन । तिम्रो राष्ट्रघाती, जनघाती, भ्रष्ट, असफल सत्ताको अंशियार पनि बन्नेछैन, बरु डटेर त्यसको प्रतिरोध गर्नेछ । अधुरो नेपाली क्रान्ति पूरा गर्न एकीकृत जनक्रान्ति अगाडि बढाउनेछ । एकीकृत जनक्रान्तिको कार्यदिशाअनुरूप एकीकृत जनप्रतिरोध हुनेछ ।
एकीकृत जनप्रतिरोधको राम्रो उदाहरण कपिलवस्तुको शिवगढीमा भएको जनप्रतिरोध हो । त्यो अझै व्यवस्थित रूपमा विस्तार हुनेछ र अहिलेको फासिवादी प्रतिबन्धविरुद्ध व्यापक संयुक्त मोर्चा कायम गर्न पहल गरिनेछ । साथै यसको विकल्पका बारेमा राष्ट्रिय बहस छेडिनेछ । जनजागरण र जनप्रतिरोध अभियान चलाइनेछ । यसका लागि ऋषि कट्टेल, मोहन वैद्य ‘किरण’ र गोपाल किराँतीका पार्टीलगायत अन्य देशभक्त, लोकतान्त्रिक शक्तिसँग बृहत् संयुक्त मोर्चाको अपिल गरिनेछ । आज राजनीतिक शक्तिमा नभएका कति सचेत नागरिकहरू प्रतिबन्धविरुद्ध उभिएका छन् । यहाँ रेखा थापा, लीलराज खतिवडाको आवाजको पनि मूल्य छ । हरेक नेपालीको मनमा राज्यआतङ्कको त्रास छ । भविष्यमा त्यो झन् स्पष्ट र विस्फोटक हुँदै जानेछ । त्यस्तै भ्रष्टका विरुद्ध बमलाई जनताले अनुमोदन गरिसकेको छ । पार्टीले बमद्वारा कसैलाई मार्नेभन्दा पनि दबाइएको जनताको आवाज सुनाउन चाहेको हो । जहाँसम्म बन्दुक पड्काउने कुरा छ, अहिलेसम्म पार्टीले पड्काएको छैन तर आइलाग्नेमाथि जाइलाग्ने अधिकार भने ऊसँग सुरक्षित रहनेछ । अब बम र बन्दुक जे पड्के पनि जनतामाथि हैन, भ्रष्ट, दलाल शासकका विरुद्ध पड्किनुपर्छ भन्ने जनचाहनालाई पार्टीले विशेष रूपले ध्यान दिनेछ । सरकार हाम्रो पार्टीलाई देशको राजधानी सहर र जनताबाट कटाएर विस्थापित गर्न चाहन्छ तर पार्टी जनतासँग एकीकृत भएर रहनेछ । सहर पनि छाड्ने छैन । एकीकृत जनक्रान्तिको कार्यदिशाअनुसार नेतृत्वले कुनै विदेशी भूमिलाई सेल्टरका रूपमा प्रयोग गर्नेछैन किनकि २००७ सालदेखि नै नेपालको क्रान्तिकारी आन्दोलनको यो एउटा नकारात्मक पक्ष हो । हामी नेपाली जनताको बीचमा बसेर जनताका लागि क्रान्ति गरिरहेका छौँ । गिरफ्तार हुन्छौँ वा सुरक्षित हुन्छौँ, आफ्नै जनताको साथमा हुन्छौँ । हामी विश्वस्त छौँ– पार्टी र जनताले नेतृत्वको रक्षा गर्नेछन् किनकि यहाँ मुख्य कुरा युद्ध हैन, गिरफ्तारी दिने वा सहिद हुने पनि होइन । मुख्य कुरा त देश र जनताको पूर्ण मुक्ति, स्वतन्त्रता र समृद्धिका लागि अधुरो क्रान्ति पूरा गर्नु हो । एकीकृत जनक्रान्ति सफल गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । त्यसैले पार्टी कथित सरकारी सङ्कटकालीन फासिवादी प्रतिबन्ध र दमनको प्रतिरोध गर्दै दृढतापूर्वक क्रान्तिमा अगाडि बढनेछ ।

अन्त्यमा, नेकपामाथिको सरकारी प्रतिबन्ध मर्ने बेलाको ‘कमिलाको प्वाँख’ जस्तै हो । सरकार नेकपासँग वैचारिक लडाइँमा पराजित भएको छ र आमनेपाली जनताको भावनाविपरीत अन्यायपूर्ण युद्धको सहारा लिन पुगेको छ । यही युद्धले यसको विनास गर्नेछ । नेकपाले आत्मसमर्पण हैन, क्रान्ति र प्रतिरोध रोज्नेछ । यसरी प्रतिक्रान्ति र क्रान्तिको टक्कर नयाँ ढङ्गले अगाडि बढ्नेछ र देश त्यसरी नै ध्रुवीकृत हुनेछ । पार्टी निरन्तर क्रान्तिको मूल्य रगत हो र बिनाक्षति उपलब्धि हुँदैन भन्ने मान्यतामा स्पष्ट हँुदै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको महाअभियानमा कुशलतापूर्वक अगाडि बढ्नेछ ।

२०७५ चैत २० गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :