नेकपाका नेता सुदर्शनलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई तीन दिनभत्रि सर्वोच्च अदालतमा उपस्थित गराउन सरकारलाई निर्देशन दिएको छ । सुदर्शनलाई गैर न्यायीक तरिकाले प्रहरीले थुनामा राखिएको भन्दै छोरी विपना ओलीले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन ।
रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । 

यसअघि नेता सुदर्शनसहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको थियो ।

सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्तासहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका थिए । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको थियो ।

सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपामा केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

सुदर्शन नेकपाको केन्द्रीय स्कुलीङ विभागका प्रमुख समेत हुन् । सुदर्शनलाई अदालतमा उपस्थित गराएपछि आइतबार बिहानैबाट अदालत परिसरमा सञ्चारकर्मीहरु जम्मा भएका थिए । तर प्रहरीले सुदर्शनलाई पत्रकारहरुसँग कुरा गर्नसमेत दिएको थिएन । प्रहरीले उनीहरुलाई यही चैत ९ गते शनिबार बिहान काभ्रेबाट काठमाडौँ आउदै गर्दा गिरफ्तार गरेको हो ।

२०७५ चैत १४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्