नेकपा पूर्वी कमान्डद्वारा कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ र माधव गौतमलाई रिहा गर्न माग

मोरङ : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमान्डले पार्टीको कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’सहित गिरफ्तार सबैलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ ।

कमान्डले ब्यूरो संयोजक श्रेष्ठ, ब्युरो सदस्य माधव गौतमलाई बिनाकारण ‘सामाजिक दलाल फासीवादी सरकार’को निर्देशनमा प्रहरीप्रशासनले गिरफ्तार गरेको भन्दै गिरफ्तारको निन्दा गरेको छ । संयोजक श्रेष्ठ र सदस्य गौतमलाई हिजो आइतबार साँझ पार्टीको केन्द्रीय जनभेटघाटमा रहेको बेला मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको वयरवनबाट अपरहण शैलीमा गिरफ्तार गरेको भन्दै कमान्डका इन्चार्ज विरहीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भत्र्सना गरेका छन् ।

राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक आन्दोलन चलाइरहेको अवस्थामा पार्टीका नेता कार्यकर्ता र समर्थकमाथि दमन र धरकपड मच्चाएको भन्दै कमान्डले विरोध गरेको छ । सर्चअपरेसन तत्काल रोक्न समेत उसले माग गरेको छ ।
इन्चार्ज विरहीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले केपी–बादल कम्पनीले सामाजिक दलाल पूँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुन्दैछ” भन्ने कुरा वर्तमान घटनाक्रमले पुष्टि गरेको छ ।’ पार्टीमाथि लगाएको प्रतिबन्ध फासीवादको ‘भद्दा नमूना’ भएको उल्लेख गर्दै ‘बिनाकारण अपहरण शैलीमा गरिएको उक्त गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

गिरफ्तार सबैलाई तत्काल बिनासर्त रिहा नगरिए जनप्रतिरोधमार्फत संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘गिरफ्तार परेका कमरेडहरुलाई तुरुन्त रिहा नगरिए जनप्रतिरोधमार्फत कडा कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

२०७५ चैत ११ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :