सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना छैन : नेकपा

गिरफ्तारहरूलाई रिहा नगरिए जनप्रतिरोधको कारबाही अघि बढाउने चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्दोलनको निशाना दलाल पुँजीवाद भएको भन्दै अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले चैत ७ गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेका छन् ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिले देश गृहयुद्धमा जाने सर्वत्र चिन्ता गरिएको बेला नेता सुदर्शनले जनता, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको समेत ध्यानाकर्षण पनि गराएका छन् । साथै उनले आफ्नो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् । सरकारले गिरफ्तार गरिएहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने चेतावनी सुदर्शनले दिएका छन् ।

हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भनी प्रचारित समाचारलाई लिएर प्रहरी आफैँले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको कुरा पनि सुदर्शनको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस–विज्ञप्तिकाे पूर्णपाठ-

नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले केपी–पीके सरकार सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुँदैछ भनी गरेको संश्लेषण वर्तमान घटनाक्रममले राम्रोसँग पुष्टि गरेको छ । हाम्रो पार्टीको गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिबन्ध लगाउनु फासिवादको भद्दा नमुना हो । फागुन २८ गते हाम्रो पार्टी र नेपाली जनताका लागि कालो दिनका रूपमा इङ्गित भएको छ । पार्टीमाथि प्रतिबन्ध लगाएलगत्तै हाम्रो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलगायत दर्जनौँ कमरेडहरूलाई गिरफ्तार गरिसकेको छ । यही सिलसिलामा पछिल्लो घटना काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको छ । निहत्था, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जबाफी गोली चलाएको बकबास गरिएको छ । यो झूट्टा बकबास जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ । अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको छ। सीआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न थालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ । यसकारण हामी यो सरकार, गृह प्रशासन, गृह प्रशासनअन्र्तगत विभिन्न सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधहरूलाई संस्थागत गर्न खोजेको कुरा आमजनसमुदायमा अवगत गराउन चाहन्छौँ । यसका साथै हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूको शीघ्र रिहाइका लागि आदरणीय जनसमुदाय, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ । यो सरकारले उहाँहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुनेछौँ ।

२०७५  चैत ७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :