अभियात्रीलाई भोजपुरे खुकुरी उपहार

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पार्टी सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान उदयपुरका प्रमुख सञ्जीवले केपी वली सरकारले सत्ता सङ्कटमा पर्दै गएपछि विदेशी मालिकहरूलाई रिझाउन नेकपामाथि प्रतिबन्ध लगाएको बताएका छन् । उनले नेकपा जनतामा स्थापित भएको र जनतामा नेकपाप्रति नयाँ आकर्षण पैदा भएको पनि बताएका छन् ।

उदयपुरको कटारी नगरपालिका १३ मयङ्खुमा सोमबार पार्टी अभियानको समीक्षा कार्यक्रममा १९ अभियात्रीलाई मायाको चिनोस्वरूप भोजपुरे खुकुरी प्रदान गर्दै नेता सञ्जीवले दलाल पुँजीवादी सत्ताप्रति जनताको विकर्षण बढेको र एकीकृत जनक्रान्ति सफलताको दिशातिर अघि बढेको पनि बताए ।

उदयपुरबाट प्राप्त समाचारअनुसार अभियानमा सहभागी ५२ जनामध्ये सामना परिवारका १२ र पार्टीका सातजना कार्यकर्तालाई क्रान्तिमा सहयोगी सामानका रूपमा भोजपुरे खुकुरी प्रदान गरिएको थियो ।

समीक्षा कार्यक्रममा अभियान टोलीका प्रमुख र सहायक गरी ६ जनाले रिपोर्टिङ गरेका थिए भने नेता सञ्जीवले प्रगति विवरणसहित अभियानको संश्लेषण गरेका थिए ।

दुईमहिने अभियानमा जिल्लाभरिमा पार्टी, सङ्गठन र मोर्चासमेत तीन सय ६० भन्दा बढी सङ्गठन निर्माण भएको र एक हजार आठ सयभन्दा बढी सदस्यता वितरण गरिएको समाचारमा जनाइएको छ । अभियात्रीहरूलाई बाटोखर्चसहित बिदाइ गरिएको जानकारी नेता सञ्जीवले रातो खबरलाई दिएका छन् ।

२०७५ चैत ५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :