पार्टी कार्यालयमा हस्तक्षेप भएपछि सशक्त प्रतिरोध गर्ने नेकपाको चेतावनी

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको पार्टी कार्यालय पाल्पारोडस्थित ‘रातो घर’ मा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारीहरूद्वारा हस्तक्षेप गरिएकोप्रति नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले विज्ञप्ति सार्वजनिक गर्दै पार्टी कार्यालयको ताल्चा फोरेर पार्टीको झन्डा, ब्यानर, साइनबोर्डलगायत महत्वपूर्ण सामग्री कब्जामा लिएकोप्रति घोर भत्र्सना तथा निन्दा गरेको हो । आफूहरूले १३ वर्षदेखि पार्टी कार्यालय सञ्चालन गर्दै आइरहेको उक्त कार्यालयमा बिनासूचना हस्तक्षेप गरिएको र कार्यालयमा बस्दै आएका मजदुरहरूलाई २ दिनभित्र खाली गर्न चेतावनीसमेत दिएको बताउँदै विज्ञप्तिमा यस्तो हर्कत नदोहो¥याउनसमेत चेतावनी दिइएको छ ।

जिल्ला इन्चार्ज शरद वली र जिल्ला सेक्रेटरी अमर आरसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्टका नाममा समाजवाद र साम्यवादको बदनाम गर्ने वली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो कार्यालयमाथि गरेको अनावश्यक हस्तक्षेप, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हाम्रा नेता–कार्यकर्ताहरूको गिरफ्तारी तथा जनविरोधी हर्कतविरुद्ध हामी राजनीतिक, वैचारिक तथा वर्गसङ्घर्षको माध्यमबाट सशक्त प्रतिवाद गर्दछौँ र गृहप्रशासनको यस्तो फासिवादी र राजनीतिक स्वतन्त्रताविरोधी हर्कतविरुद्ध सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपिलसमेत गर्दछौँ ।’

वाणिज्य बैङ्कले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत् रहेकोसमेत विज्ञप्तिमार्फत जानकारी दिँदै फेरि त्यस्तो खालको हस्तक्षेप गरेमा पार्टीले गम्भीर र कठोर निर्णय लिन बाध्य हुने र हस्तक्षेपविरुद्ध पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

२०७५ चैत ४ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :