नेकपामाथि लगाइएको प्रतिबन्धको चौतर्फी विरोध, विप्लवका पक्षमा पूर्वप्रधानमन्त्रीदेखि नेता, बुद्धिजीवी र कलाकारसम्म

काठमाडौँ  : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । प्रधानमन्त्री केपी शर्मा वलीकै पार्टीभित्र पनि प्रतिबन्धको विषयलाई लिएर विवाद चुलिएको छ । उक्त पार्टीका उच्च तहका नेताहरूले उक्त दलमाथि प्रतिबन्ध लगाउने कुरा हतारको निर्णय भएको भन्दै विरोध गरेका छन् । नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल तथा उपप्रधानमन्त्रीहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्धको विरोध गरेका छन् ।
यस्तै अर्को कम्युनिस्ट घटक क्रान्तिकारी माओवादीले विप्वलमाथि प्रतिबन्ध लगाउने सरकारी कदम फासिवादी भएको बताएको छ । बुधबार उक्त पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि प्रेसविज्ञप्ति जारी गर्दै त्यस पार्टीका अध्यक्ष मोहन वैद्य किरणले सरकारले राजनीतिक समस्याको समाधान राजनीतिक तरिकाले नभई प्रशासनिक तरिकाले गर्न खोजेको भन्दै एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि गरेको व्यवहार फासिवादी चरित्रको भएको बताएका छन् ।
यस्तै पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पनि विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । साथै सरकारको उक्त कदम गलत भएको र यसले देशलाई द्वन्द्वतिर लैजाने बताएका छन् ।
यस्तै नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध गलत भएको बताएका छन् । यस्तै राजनीतिक बाम बुद्धिजीवी तथा विश्लेषक विश्वभक्त दुलालले पनि सरकारले नेकपामाथि लगाएको प्रतिबन्धको विरोध गरेका छन् । एउटा कम्युनिस्ट विचार, आस्था र राजनीतिक पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउने कुरा गलत भएको उनले बताएका छन् ।


नेपाली काङ्ग्रेसकै नेता गगन थापाले प्रधानमन्त्रीको सन्की पाराले देशलाई द्वन्द्वतिर लैजाने खतरा उत्पन्न गरेको बताएका छन् । प्रधानमन्त्रीको सन्की पाराले देश नचल्ने भन्दै दुईतिहाइको सरकार तानाशाही अभ्यासमा लागेको बताए ।
यस्तै राष्ट्रिय जनता पार्टी राजपाले पनि उक्त प्रतिबन्धको विरोध गरेको छ । त्यस पार्टीका नेता राजकिशोर मण्डलले सरकारको यस्तो कदमले देशमा भयानक अवस्था सिर्जना हुने बताएका छन् । उनले अहिलेको सरकारलाई शक्तिको उन्माद चढेको भन्दै आफ्नो विरोध गर्नेजतिलाई निषेध गर्न खोजेको बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका तत्कालीन (माओवादी केन्द्र) का वरिष्ठ नेता लोकेन्द्र बिष्ट मगरले विखण्डनकारी सीके राउतलाई सत्तामा ल्याउन खोज्नु र विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु गलत भएको बताएका छन् । बिष्टले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएर केपी–प्रचण्ड सरकारले आपराधिक समूहको जस्तो व्यवहार गरेको बताएका छन् ।
संविधानविद् भीमार्जुन आचार्यले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिक प्रतिशोध भएको बताएका छन् । संविधानविद् आर्चायले राजनीतिक दलमाथि नै प्रतिबन्ध लगाउनु संविधानविरुद्धको कार्य भएको बताए ।
नेपालको संविधानमा मौलिक हकमा नै राजनीतिक दल खोल्न पाउने अधिकार उल्लेख भएको बताउँदै आचार्यले दललाई नै प्रतिबन्ध लगाउने निर्णयले आफू आश्चर्यमा परेको भन्दै उक्त दलमाथि नै प्रतिबन्ध लगाउनु सरासर कानुनविपरीत भएको बताए । उनले भने, ‘सीके राउतजस्तो देश विखण्डनको आन्दोलन चलाउने व्यक्तिलाई फूलमालाले सम्मान गर्ने तर देशका लागि भनेर आन्दोलनमा होमिएको दलमाथिको प्रतिबन्धले सरासर राजनीतिक प्रतिशोध साध्न सरकारले गरेको निर्णय हो भन्ने देखाउँछ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पाटीका संयोजक डा. बाबुराम भट्टराईले विप्लवमाथि लगाइएको प्रतिबन्ध गलत भएको भन्दै यसले फेरि इतिहासको पुनरावृत्ति हुने बताएका छन् । इतिहास दुईपटक दोहोरिने ः पहिलोचोटि वियोगान्तका रूपमा र दोस्रोपटक मजाकका रूपमा भन्दै भट्टराईले एउटा कम्युनिस्टले अर्को कम्युनिस्टमाथि गरेको प्रतिबन्ध विडम्बनापूर्ण भएको बताए ।
नेकपामाथि लगाइएको प्रतिबन्धको केपी–प्रचण्डकै पार्टी नेपाल कम्युनिस्ट पार्टी निकट कलाकार बद्री पंगेनीले त गीत नै गाएर विरोध गरेका छन् भने चर्चित अभिनेत्री रेखा थापाले समेत क्रान्तिकारी पार्टीलाई प्रतिबन्ध लगाएर सरकारले गृहयुद्ध चाहेको कुरा बताइसकेकी छिन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा सत्तासीन डबल नेकपाकै सांसदहरू बलराम बास्कोटा र कालीबहादुर मल्लले समेत सरकारले पार्टीमा छलफल नै नगराई विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर राजनीतिक मुठमेड निम्त्याउन खोजेको भन्दै आलोचना गरेका थिए ।
यस्तै नेकपा मालेका महासचिव सिपी मैनालीले विप्लवमाथिको प्रतिबन्ध निरङकुशताको पराकाष्ठा भएको बताएका छन् । एक प्रेस बिज्ञप्ति जारी गर्दै मैनालीले विखण्डनकारी गतिविधि गर्नेलाई छुट दिने तर राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउने कार्य अपरिपक्क र गैरजिम्मेवार रहेको बताएका छन् ।
सरकारले मङ्गलबार मात्र नेकपाका सबै राजनीतिक गतिविधिहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त प्रतिबन्धपछि नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरी उक्त प्रतिबन्धको डटेर प्रतिरोध गर्ने घोषणा गरिसकेका छन् । यसले अब देशलाई गृहयुद्धतिर लैजाने भन्दै राजनीतिक वृत्तमा चिन्ता गरिन थालेको छ ।

२०७५ फागुन ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :