सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छौँ : नेता कार्की

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नरबहादुर कार्कीले सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रहरी प्रशासनले विप्लवलगायत नेताहरूको कल ट्र्याकिङ गर्ने गरेकोतर्फ सङ्केत गर्दैै राज्यले मुलुकमा अघोषित सङ्कटकाल थोपरेको बताएका छन् । प्रहरीले विप्लवको लोकेसन पत्ता लगाउन कल ट्र्याकिङ गर्ने गरिरहेको कुरा सञ्चारमाध्यममा आइरहेको छ ।

अदालतको अनुमतिबिना नै मनपरि व्यक्तिहरूको कल ट्र्याकिङ गरेर सरकारले व्यक्तिको गोपनीयताको ठाडो उल्लङ्घन गरेको उनको भनाइ छ । प्रहरीले आफ्नो समेत कल ट्यापिङ गरेको उनले बताएका छन् ।

केही समयअघि नेकपामा प्रवेश गरेका कार्की चर्चित सामाजिक अभियन्ता हुन् । उनी विश्वका १०० जना जीवन प्रशिक्षक कोचरमध्ये एकमा पर्छन् । उनले स्टाटसमा लेखेका छन्, ‘मलाई थाहा छ म कहाँ छु भन्नेबारे । राज्य परिचालित र अघोषित सङ्कटकाल थोपर्नेहरूलाई थाहा छ । मलाई यो पनि थाहा छ ममाथि कुन बयान र अपराधको मुद्दा लगाउने सम्भावना छ तर म भागेर बाँच्नेछैन । मलाई थाहा छ लोकेसन थाहा पाउन यो राज्यकै आफ्नो कानुनले सुविधा नदिएको अदालतको अनुमतिबिना मेरो कल डिटेल लिन नपाउनेु सुविधा सुरक्षा निकायले प्रयोग गरेको छ । हजारौँ फोनहरू गैरन्यायिक रूपमा सुरक्षा निकायले ट्याकिङ गरेको छ ।

मेरो फोन पनि ट्यापिङ भएको छ । म फोन छोडेर जान्नँ किनकि भोलि मैले यो सुरक्षा अधिकारी, प्रशासन र टेलिकमविरुद्ध मेरो अधिकार हननको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजान सक्छु । मेरो मोबाइलमा मेरो अधिकार छैन भने, मेरो गोपनीयतामाथि मजाक गर्ने र मेरै पैसा लिने सेवा प्रदायक व्यवस्थापनले सामूहिक अधिकारको हननविरुद्ध जनता र विश्व समुदायलाई उत्तर दिनु पर्नेछ । यो मुद्दा मैले आफ्नो निम्ति होइन, ती सबै पैसा तिरेर सेवा लिनेहरूको असुरक्षाका विरुद्ध यहाँ अभिव्यक्त गरेको छु ।’

२०७५ फागुन २९ गते बुधबार प्रकाशित

 
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :