श्रमिक महिला दिवस कार्यक्रमबाटै गिरफ्तारलाई तत्काल रिहा गर्न माग

पूर्णिमा धामी

काठमाडौँ : संयुक्त महिला सङ्घर्ष समितिको आयोजनामा शान्तिवाटिकामा भएको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जुलुसमा प्रहरीले हस्तक्षेप र दमन गरेको अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले जनाएको छ ।

सङ्गठनकी केन्द्रीय उपाध्यक्ष सम्झना घर्तीले प्रेसविज्ञप्ति जारी गरी श्रमिक महिला दिवसमा सहभागी पूर्णिमा धामी, विमला शेर्पा, रुक्मनी गौतम, उषा भुजेल, नवीन बिष्टलगायत ६ जनालाई गिरफ्तार गरेको जानकारी दिएकी छिन् । गिरफ्तारहरूलाई तुरुन्त रिहा गर्न पनि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले जोडदार माग गरेको छ ।
गिरफ्तार व्यक्तिहरूलाई रिहा नगरिए उत्पन्न हुने परिस्थितिको जिम्मा सरकार आफँैले लिनुपर्ने चेतावनी सङ्गठनकी उपाध्यक्ष सम्झनाले दिएकी छिन् ।

समाजवादी महिलाहरूले चलाएको सङ्घर्ष र विजयको यो अभियानलाई १९७५ मा संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको थियो । विश्वभरिका महिलाहरूले मान्दै आएको ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा हस्तक्षेप, गिरफ्तारी र दमन गर्नु सामाजिक दलाल सरकारको हरूवा मानसिकताको उपज हो भन्दै संविधान र अन्तर्राष्ट्रिय मान्यता पाएको कार्यक्रममाथिको प्रहरी दमन नयाँ जोगीले धेरै खरानी घसी खुमबहादुरलाई पनि पछि पार्न लागेको सम्झनाले बताएकी छिन् ।
राज्यको दमन धरपकडको बीचमा विश्व महिला आन्दोलनको वीरता र विजयलाई नेपाली क्रान्तिकारी महिला आन्दोलनसँग जोड्नका लागि उत्साहका साथ कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल पार्न लाग्ने सबैलाई उनले धन्यवाद दिएकी छिन् । गिरफ्तार व्यक्तिहरूको रिहाइका लागि नागरिक समाज, पत्रकार, मानवअधिकार, महिला अधिकारकर्मी सबैलाई आवाज उठाउन उनले अनुरोध पनि गरेकी छिन् ।

२०७५ फागुन २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :