भ्रष्ट दलालहरू नेपालबाट लखेट्छौँ नेता : पुन

 

रुकुम : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ ले वर्तमान सामाजिक दलाल पुँजीवादी सत्ताले राष्ट्रघात, जनघात, हत्या, हिंसा, जनविरोधी काण्डैकाण्डहरूको बीचबाट नेपाली जनतालाई सताइरहेकाले यसका विरुद्ध सम्पूर्ण नेपाली जनसमुदाय एकताबद्ध भई एकीकृत जनक्रान्तिमा सामेल हुनुपर्ने बताएका छन् ।

उनले निगम पुँजीवाद जकडिएको नेपालको अर्थतन्त्रलाई वैज्ञानिक समाजवदामा रूपान्तरण गर्न सम्पूर्ण राष्ट्रवादी, देशभक्त, सुरक्षाकर्मी, कर्मचारी, किसान, मजदुर र मध्यमवर्गलाई आफ्नो पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमा लामबाद्ध हुन अपिल पनि गरेका छन् ।

नेता पुनले कुकुरको समेत कर उठाउने यो सरकारका भ्रष्ट प्रतिनिधिहरूलाई गाउँगाउँबाट लखेट्दै जनसरकार सक्रिय पारी अगाडि बढ्ने पनि बताए ।

रुकुम पश्चिमको त्रिवेणी गापा १० स्थित प्युघामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानका क्रममा सहिद भीमबहादुर रावलको २० औँ स्मृतिसभा भव्यताका साथ सम्पन्न भएको भएको छ । कार्यक्रममा विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य अटल, अतिथिहरू जिल्ला सेक्रेटरी चन्द्र बुढामगर, जनपरिषद्का प्रमुख मोहन केसी, महिला सङ्गठनका जिल्ला संयोजक अनिता रहेका थिए ।

कार्यक्रमको अध्यक्षता सहिद परिवारका सदस्य तेजबहादुर पुन, सञ्चालक, छविलाल घर्ती, स्वागत मन्त्यव्य सहिद भीम रावलका छोरा दिनेश रावलले गरेका थिए । कार्यक्रममा जलजला जनसांस्कृतिक परिवारले जनवादी गीतसङ्गीत प्रस्तुत गरेको थियो ।

रुकुमको सानोभेरी गापा ९ स्थित बाहिबाङमा मोतीराम वली सेक्रेटरी रहेको ७ सदस्यीय सेल समिति, थानबहादुर केसी संयोजक रहेको ७ सदस्यीय युवा सङ्गठन, सानोभेरी गापा ८ स्थित अमुडाँडामा टीकाराम वली सेक्रेटरी रहेको ९ सदस्यीय वडा समिति, विजय विक संयोजक रहेको ७ सदस्यीय युवा सङ्गठन निर्माण भएको जनाइएको छ । त्यसैगरी पञ्चराम बीसी संयोजक रहेको ५ सदस्यी किसान सङ्गठन, भीम विक संयोजक रहेको ५ सदस्यीय दलित मोर्चा, त्रिवेणी गापा १ मा रमेश मल्ल अध्यक्ष रहेको ७ सदस्यीय युवा सङ्गठन, आठबीस नपा ९ स्थित लराधीबजारमा अमृता चन्दको अध्यक्षतामा १५ सदस्यीय महिला सङ्गठन, लक्षुमण संयोजक रहेको ५ सदस्यीय युवा सङ्गठन, हर्क वली संयोजक रहेको ७ सदस्यीय किसान महासङ्घ, अमृत श्रीपाली अध्यक्ष रहेको ११ सदस्यीय युवा सङ्गठनको एकाइ समिति, रजनी अध्यक्ष रहेको ७ सदस्यीय महिला सङ्गठन र आठबीसकोट नपा १० काफलचौरमा दलबहादुर वली संयोजक रहेको १५ सदस्यीय किसान महासङ्घ गठन गरिएको जानकारी नेता पुनले इरोता खबरलाई दिएका छन् ।

अभियानमा युवा सङ्गठनका अध्यक्ष पाटन जङ्गली, दैलेख जिल्ला इन्चार्ज विवेकलगायतको नेताहरूले सम्बोधन गरेका थिए ।

२०७५ फागुन २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :