फागुन ३० गते नेकपाको नेपाल बन्द, फासिवादी दमनको प्रतिरोध गर्न महासचिव विप्लवको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता/कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा, कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको अप्रेसनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको र सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् । विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘केपी—प्रचण्ड सरकारले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाएको छ । दमनका क्रममा २३ गते बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ को अञ्चलपुरका युवक दुर्गाबहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुनः सुन्दरीडाँडा जङ्गलमा लगेर गोली हानी घाइते बनाएको छ भने देशभरिबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान सङ्गठनका अध्यक्ष राजु कार्कीसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ । साथै घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’

महासचिव विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबैलाई थाहा छ– हाम्रो पार्टीले दलाल पुँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन् र जनताको हितका लागि पार्टीले प्रतिरोध सङ्घर्षको बाटो पकडिरहेको छ । विडम्बना, कथित वामपन्थी, कम्युनिस्टको सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकारले ती राष्ट्रघाती, जनघाती, भ्रष्ट तत्वहरूको रक्षार्थ हाम्रो पार्टीविरुद्ध दमन गरिरहेको छ । हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र सङ्घर्षविरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिरोध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौँ । हाल चलिरहेको फासिस्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिँदैन । जसरी शिवगढीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ । यसैका लागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरि भइरहेको सेना, प्रहरी परिचालन र दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द आयोजना गरेको छ । यो बन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखानालगायत सम्पूर्ण क्षेत्रहरू बन्द गरेर सहयोग पु¥याइदिनुहुन विशेष आग्रह गर्दछौँ ।’

भ्रष्टाचारविरुद्ध उक्त पार्टीले गरेको आन्दोलनप्रति प्रधानमन्त्री केपी ओलीले २४ गते सीके राउतसँग भएको राजनीतिक सहमति सार्वजनिक गर्ने एक कार्यक्रममा बोल्दै दमन गर्ने भाषा बोलेका थिए । केही दिनदेखि सरकारी नेकपाका अर्का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले दमनको भाषा बोलेको भन्दै वक्तव्यमा भनिएको छ, ‘केही दिनअगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरि गोली चलाउने, सेना र प्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरूको फासिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौँ– उनीहरूले जस्तोसुकै दमन गरे पनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधीनताका लागि गरिने सङ्घर्षमा केही फरक पर्नेवाला छैन, न त उनीहरूको दमन नै सफल हुनेछ बरु क्रान्तिकारीहरूलाई अरू दृढ र समर्पित हुन प्रेरित गर्नेछ । अन्ततः दमन र विद्रोहको इतिहासमा केपी—प्रचण्ड होइन, नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । आउनुहोस्, सामाजिक दलाल पुँजीवादी सरकारको फासिवादी दमनको चौतर्फी सशक्त प्रतिरोध गरौँ ! फागुन ३० गते नेपाल बन्द गरौँ ।’

 २०७५  फागुन २४ गते शुक्रबार  प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!