कपिलवस्तु घटनाबारे नेकपाको आपत्ति, दमन नरोकिए सङ्घर्ष गर्ने चेतावनी

प्रहरीले जबर्जस्ती हतियार थमाएर षड्यन्त्रमूलक ढङ्गले फसाउन खोज्यो– वीरजङ्ग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवगढी घटनाप्रति निन्दा एवम् भत्र्सना गरेको छ । नेकपा लुम्बिनी ब्युरोका इन्चार्ज वीरजङ्गले बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै कपिलवस्तुको शिवगढी– ९ मा गृह प्रशासनले पार्टी महासचिव विप्लवलगायत दर्जनौँ स्थानीय जनताको घरमा अनावश्यक खानतलासी गर्दै स्थानीय दुर्गाबहादुर रोकालाई गिरफ्तार गरी गोली हानिएको घटनाप्रति घोर निन्दा एवम् भत्र्सना गरेका हुन् ।

इन्चार्ज वीरजङ्गले सर्वसाधारण जनतामाथि जघन्य क्रियाकलाप गरी झूट्टा मुद्दा लगाउने प्रपञ्च नगर्न गृह प्रशासनलाई चेतावनी दिँदै स्थानीय दुर्गाबहादुर रोकाको घरमा भेटिएको भनिएको हतियार पार्टीको नभई प्रहरीले रोकालाई जबर्जस्ती थमाएर षड्यन्त्रमूलक ढङ्गले फसाउन खोजेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रोकाको घरमा भेटिएको भनिएको उक्त हतियार पार्टीको नभएको जानकारी गराउँछौँ र यो घटना प्रहरीले आफ्नो हतियार जबर्जस्ती थमाई षड्यन्त्रमूलक ढङ्गले फसाउने कुनियतबाट प्रेरित रहेको स्पष्ट गर्न चाहन्छौँ । हामी गिरफ्तार गरिएका घाइते रोकालाई तत्काल रिहा गर्न अपिल गर्दछौँ । प्रहरीले सर्वसाधारण जनतामाथि यस्ता जघन्य क्रियाकलाप गरी झूट्टा मुद्दा लगाउने प्रपञ्च गरेकाले खारेज गर्न चेतावनी दिन चाहन्छौँ ।’

घाइते रोकालाई तत्काल उपचार र क्षतिपूर्तिसहित गोली हान्ने प्रहरीमाथि तत्काल कारबाही गर्न माग गर्दै बेवास्ता गरिए कडा सङ्घर्ष गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् सरकार हुने विज्ञप्तिमा उल्लेख छ ।

नेता वीरजङ्गद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीले जबर्जस्ती गरेको खानतलासीविरुद्ध प्रतिरोध गर्ने शिवगढी निवासी क्रान्तिकारी जनता र भगवानपुर निमाविका विद्यार्थीलाई धन्यवाद दिइएको छ । विज्ञप्तिमा राज्यको यस्तो गैरन्यायिक हर्कतविरुद्ध आवाज उठाउन सम्पूर्ण नागरिक समाज, मानवअधिकारकर्मी, बुद्धिजीवी, पत्रकार एवम् कानुन व्यवसायीलाई अपिल गर्दै गृह प्रशासनले यस्ता क्रियाकलाप जारी राखे सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिइएको छ । उनले नवलपरासी जिल्ला पार्टी सदस्य गणेश ढकाल, रूपन्देही जिल्ला सदस्य प्रदेशी यादव र योगेन्द्र यादवलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

नेकपा कपिलवस्तुले पनि विज्ञप्ति जारी गरी घटनाप्रति घोर भत्र्सना गरेको छ । जिल्ला इन्चार्ज सङ्गम पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई प्रहरीले अतिरञ्जित गरेको भन्दै आपत्ति प्रकट गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको कपिलवस्तुस्थित गाउँमा छापामार्ने उद्देश्यले प्रहरी कपिलवस्तुको शिवगढी पुगेको समाचारमा जनइएको छ । रातभर घेरा हालेर बिहान छापामार्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको र जिल्लाको शिवराज नगरपालिका ९ शिवगढीमा बिहीबार प्रहरीले सर्च अपरेसन चलाउन खोजेपछि स्थानीयले प्रतिकार गर्दा तनाव उत्पन्न भएको कपिलवस्तुबाट ईरातो खबरलाई प्राप्त समाचारमा उल्लेख छ ।

२०७५ फागुन २३ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :