शिक्षक सङ्गठनद्वारा प्रहरी दमनको विरोध


काठमाडौँ : पेसागत हकहितका लागि सङ्घीय तथा प्रादेशिक शिक्षा ऐन निर्र्माणका बखत पेसागत सङ्घ सङ्गठनसँग गरेको सम्झौता कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरूले गरेकोे आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै अखिल नेपाल शिक्षक सङ्गठनले विरोध गरेको छ ।

यही १९ गते राहत शिक्षक, विद्यालय कर्मचारी, अस्थायी, बालशिक्षिका तथा छूट करार शिक्षकहरूले गरेको जुलुस र शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सङ्गठनले गिरफ्तारहरूको बिनासर्त रिहाइ र घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ । उक्त सङ्गठनमा महासचिव रमेश रूपाखेतीले सोमबार प्रेसविज्ञप्ति जारी गर्दै सबैखाले पेसागत सङ्गठनको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।

आइतबार देशभरका अस्थायी शिक्षकहरूले विभिन्न माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका थिए । अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्नेलगायत पाँचबुँदे माग राखी वैशाख १४ गतेदेखि रिले अनसन बस्दै आएका शिक्षकले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । काठमाडौँको माइतीघरबाट बानेश्वरसम्म जुलुस निकालेर शिक्षकहरूले सभा आयोजना गरेका थिए । जुलुसले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले बल प्रयोग गर्दा केही शिक्षकहरू घाइते भएका थिए ।

२०७५ फागुन २१ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :