सङ्घर्षकै मैदानमा श्रमिक महिला दिवस मनाउँदै क्रान्तिकारी महिला

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले आन्दोलनकै क्रममा श्रमिक महिला दिवस मनाउने भएको छ । सङ्गठनकी उपाध्यक्ष सम्झना घर्तीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनकै रूपमा १०९ औँ श्रमिक महिला दिवस मनाउन आह्वान गरेकी छिन् ।

घर्तीले जारी गरेको अपिलमा भनिएको छ, ‘नेपाली महिला मुक्ति आन्दोलनको क्रान्तिकारी इतिहास बोकेको हाम्रो गौरवशाली सङ्गठन यतिबेला महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका विरुद्ध देशव्यापी अभियान चलाइरहेको छ । यही क्रममा सङ्गठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई बिनाकारण गिरफ्तार गरी झूट्टा मुद्दामा केपी सरकारले फसाउन खोज्दैछ ।’

अपिलमा अगाडि भनिएको छ, ‘महिला हत्या, हिंसा, बलात्कारका घटनाहरू दिनदिनैजस्तो भइरहेका छन् । निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले अझै पत्ता लगाउन सकेको छैन । संविधानले दिएको मौलिक अधिकार हनन गरेको छ । यस्तो राज्य र सरकारले महिलालाई न्याय र अधिकार दिनु त के महिलाको जीवनलाई वस्तुमा परिणत गरी मानवबजारमा बिक्री गरिरहेको छ । यसका विरुद्ध सङ्घर्ष गर्न सम्पूर्ण श्रमजीवी महिलाहरूमा हाम्रो सङ्गठन आह्वान गर्दछ ।’

उपाध्यक्ष घर्तीको अपिलको अन्त्यमा भनिएको छ, ‘यसैगरी सङ्गठनले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सङ्घर्षका रूपमा मनाउन लागिरहेको छ । हाम्रो कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण देशभक्त, वामपन्थी महिला सङ्गठन, महिला अधिकारकर्मीहरूमा अपिल गर्दछौँ ।’

सङ्घले फागुन २२ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, फागुन २३ गते कोणसभा गर्ने र २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सभा आयोजना गरी मनाउने निर्णय गरेको जानकारी उपाध्यक्ष घर्तीले दिएकी छिन् ।

 

२०७५ फागुन २१ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :