सरकारी दमनको सशक्त प्रतिकार गर्छौं – सुदर्शन

काठमाडौँ : नेपाल कम्युनस्टि पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले आफ्नो पार्टीले देशैभरि चलाइरहेको सङ्गठन सुदृढ र विस्तार गर्ने राजनीतिक अभियानमा प्रहरीले हस्तक्षेप गरेको भन्दै दमनकोे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

इन्चार्ज सुदर्शनले सोमबार प्रेसविज्ञप्ति जारी गर्दै राजनीतिक अभियानमा खटिरहेका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई बिनाकारण राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गर्ने, धरपकड गर्ने गरेमा आफ्नो पार्टीले सशक्त प्रतिरोध गर्ने भन्दै त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुुनुपर्ने चेतावनी दिएका छन् । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :
विज्ञप्ति
सर्वविदितै छ– नेपाली श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले दुनियाँका सामु घोषणा गर्दै गत महिनाको माग १ गतेदेखि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ । यसै क्रममा यही फागुन १७ गते सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका वडा नं १० को कार्कीचोक पुगेको हाम्रो एउटा अभियान टोलीलाई राती ११ः३० बजे श्वेत राज्यसत्ताका प्रहरीद्वारा घेरा हाली गिरफ्तार गरिएको छ । घटनामा कतिपय स्थानीय कथित जनप्रतिनिधिहरूको सुराकी भएको बुझिएकाले हामीले गम्भीर अनुसन्धान अघि बढाएका छौँ । देशको विकास र रक्षाका लागि त्यो चेतना फैलाउँदै दुःख–कष्टहरू साथ जनताका बीचमा हिँडिरहेको अभियान टोलीलाई राज्यविरुद्धको अपराधको मुद्दा लगाउने षड्यन्त्र गरिरहेकाले सरकारका अधिकारीहरूको दिमाग ठीक ठाउँमा छ कि छैन भन्ने प्रश्न उठेको छ । यसैगरी युवा सङ्गठन नेपालका काठमाडौँ जिल्लाका उपाअध्यक्ष जयराम दङ्गाललाई पनि गिरफ्तार गरिएको छ । योलगायत देशव्यापी धरपकडको घोर भत्र्सना गर्दै सिन्धुपाल्चोकमा गिरफ्तार हुनुभएका पार्टी जिल्ला समिति सदस्य राजन मल्ललगायत १७ जना र देशभर गिरफ्तार सबैजनालाई बिनासर्त तत्काल रिहाइको जोडदार माग गर्दछौँ । हाम्रो राजनीतिक अभियानलाई यसरी नै दमन गर्न खोजियो भने जनप्रतिरोधको परिणामप्रति सामाजिक दलाल पुँजीवादी केपी–प्रचण्ड सरकार नै जिम्मेवार हुने चेतावनी दिन चाहन्छौँ ।
१९ फागुन २०७५                                                                                            सुदर्शन
                                                                                                                      इन्चार्ज
                                                                                                           मध्यकेन्द्रीय कमान्ड

२०७५ फागुन २० गते सोमबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :