साहारा स्कुलका विद्यार्थीले उडाए आफैले बनाएको ड्रोन

 काठमाडौँ : काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन् । फागुन १७ र १८ गते शुक्रबार र शनिबार साहारा स्कुलले आयोजना गरेको विज्ञान प्रदर्शनी कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेका हुन् ।
शंखमुल स्थित बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणको केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन प्रविधि अहिलेको सबैको आकर्षण बनेको छ । ड्रोनमा विभिन्न खालका प्रविधि तथा सामानहरु जोडेर दैनिक जीवनका कामकाजदेखि उच्च सैन्य कार्यमा समेत प्रयोग गर्न थालिएको छ । उनीहरुले अवसर पाए नेपालमै व्यवसायिक रुपमा ड्रोन निर्माण गर्न सकिने दावी समेत गरे ।


साहारा स्कुलका प्रिन्सिपल देवेन्द्र बिक्रम भट्टराईले यसरी विद्यार्थीले बनाएका सिर्जनाहरूलाई प्रदर्शनीमा राखेर विद्यार्थीहरुको हौसला बढाएको बताए । ‘विद्यार्थीको कलालाई स्कुल र शिक्षकहरूले बुझ्न सक्नुपर्छ’, उनले भने, ‘विद्यार्थीलाई यस्ता प्रदर्शनीले हौसला मिल्छ । भविष्यमा के बन्ने भन्ने कुरामा पनि सहयोग गर्छ ।’
विद्यार्थीहरुले एप कन्ट्रोल रोबोट र लाइन फ्लोइङ रोबोट पनि बनाएर प्रस्तुत गरेका छन् । स्मार्टफोनबाट चलाइने एप कन्ट्रोल रोबोटलाई मानिसले दैनिक जीवनका काममा प्रयोग गर्न सकिने उनीहरु बताउँछन् । विश्वमा विकास भइरहेका रोबोटहरुको ब्रेन नै यही एप कन्ट्रोल रोबोट प्रविधि भएको उनीहरुको भनाई छ । पछिल्लो समय यस्ता रोबोटहरु रेस्टुरेन्टमा ग्राहकलाई सेवा गर्ने, ठूला ठूला तौलका सामानहरु उचाल्ने जस्ता कामकाजमा पनि प्रयोग गरिन थालिएका छन् ।


त्यस्तै प्रदर्शनीमा आँखा देख्न नसक्ने मान्छेहरुका लागि प्रयोग गरिने ब्लाइन्ड स्टिक बनाउने विधि पनि विद्यार्थीहरुले प्रस्तुत गरेका छन् । अगाडि कुनै वस्तु अगाडि छ भने त्यसलाई छुने बित्तिकै लठ्ठीले सिग्नल दिने र प्रयोगकर्ता सचेत हुने गर्दछन् ।
विद्यार्थीहरुले कार्वनडाइअक्साइड र हाइड्रोजन ग्याँस पनि बनाएर प्रस्तुत गरेका छन् । प्रदर्शनीमा ज्वालामुखी कसरी विष्फोट हुन्छ र त्यसको असर के हुन्छ भन्ने पनि प्रदर्शन गरिएको छ । त्यस्तै कपर प्लेटिङ, टेम्प्रेचर एण्ड ह्यूमिडिटी सेन्सर, क्रिस्टलाइजेशन, ध्वनि र वायु प्रदुषण, वाटर साइकलको प्रदर्शनी पनि गरिएको छ । उद्योग कलकारखानाबाट उत्पन्न हुने विभिन्न ग्याँस तथा धुलोसँग मिसिएर आकाशबाट आउने पानीले मान्छेका साथै बोटविरुवाहरुलाई कसरी असर गर्छ भन्ने एसिड रेनका बारेमा पनि उनीहरुले प्रदर्शनीमा प्रस्तुत गरेका छन् ।


साहाराको विज्ञान प्रदर्शनीमा ३६ वटा फरक फरक प्रकृतिका स्टलहरु राखिएका थिए । जसमा उच्च प्रविधिका ड्रोन र मानिसको दैनिक कामकाजमा समेत सहयोग गर्ने रोबोटदेखि वातावरण विज्ञान, भौतिक र खगोल विज्ञान, प्रकृति विज्ञान र मानव शरिरका बनौटसँग सम्बन्धित प्रविधिहरु रहेका छन् ।
कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरु यस प्रदर्शनीमा सहभागी भएका छन् । जसमा सानासाना कक्षाका बालबालिकाले सजिलै बुझ्न सक्ने गरी चिडियाखाना, फलफूलका बगैचा, जंगली जीवन, जनावरका प्रकारहरुको नमूना पनि प्रस्तुत गरेका छन् । साथै उनीहरुले गाउँ र सहरको स्यान्ड मोडेल बनाएर त्यसको फरक देखाएका छन् ।

२०७५ फागुन १८ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :