सरकार गरिबसँग कर उठाउँछ तर एनसेलसँग किन उठाउदैन

 गुल्मी : नेपाल कम्युनिस्ट पार्टीले देशैभरी सञ्चालन गरिरहेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ गुल्मी अर्घाखाँचीमा धनिभूत रुपले अघि बढिरहेको छ । अभियानको क्रममा गुल्मीको सत्यबती गाँउपालिकाकोे लुम्केमा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलले नेपालका संसदीय पार्टीहरुले जनताको पक्षमा कुनै पनि काम नगरेकोले जनता नयाँ विकल्पको खोजीमा रहेको बताएका छन् । नेपाली जनताको आशा र भरोसाको केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी रहेको दाबी गदै नेता पौडेलले जनविरोधीतत्वमाथि कारबाही हुने बताए । सत्तामा बसेर विकासको नाममा नेपाली जनतामाथि ब्रह्मलुट मच्चाउने, जनतालाई परिवर्तनको नाममा ढाड सेक्ने गरी कर लगाउने गरेको बताउदै उनले जनता र नेताको जीवनबीच निकै ठुलो अन्तर रहेको बताए ।
राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरु उठाउँदा सत्ताधारी दलका नेताले आतंककारीको संज्ञा दिनु आफुहरुलाई सह््य नहुने बताउदै नेता पौडेलले भने —‘जनता निरन्तररुपमा क्रान्तिको पक्षमा छन् । नेपालीमा क्रान्तिको नाममा सशस्त्र सघर्ष युद्ध भएता पनि क्रान्ति भएको छैन । हामी शहिदको सपनालाई साकार पार्नको लागि निरन्तर लडिरहेका छौं ।’
कार्यक्रममा मन्तव्य राख्दै नेकपाका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले नेपाली जनता दिनाहुँ दिन विभिन्न खालका समस्याबाट हैरान भएपनि शासकहरुले जनतामाथि ब्रह्मलुट गरेको बताउँदै विदेशी संस्था एनसेलले नेपालमा ७२ अर्ब कर नतिर्दा मुखदर्शक बन्ने सरकार सामान्य गरिब जनतामाथि कर उठाएको बताए । उनले एनसेलले सरकारलाई कर नतिरे फेरी पनि जनताको सरकारले कार्वाही गर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अर्घाखाँची जिल्ला इन्चार्ज कमल के.सी लुम्विनी व्युरो सदस्य सामना, सुनिल चौधरी, गुल्मी सेक्रेटरी खेम खड्का, जनसकार प्रमुख प्रशान्त बराल लगायत सहभागी थिए ।
नेकपाले गुल्मीको सत्यबती गाँउपालिकामा रहेका धर्मपुर उच्च मा.वि, भानु मा.वि., राजापुर उच्च मा.वि., नेपाल राष्ट्रिय मा.वि, जनता मा.वि लगायतका विद्यालयमा शिक्षक विद्यार्थीकाबीचमा अन्तरक्रिया र जनभेटघाट गरिरहेको छ । साथै किसान सुकुमवासी दलित जनजाती लगायतका जनवर्गीय संगठनको भेला गोष्ठीलाई पनि निरन्तरता दिइएको छ । कार्यक्रममा नेकपा नेताहरुले सहिद तथा बेपत्ता परिवारका आफन्तलाई भेटघाट गरी सम्मान तथा कदर पत्रले सम्मान गरेका छन् ।

२०७५ फागुन १७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :