नाटककार तथा उत्कृष्ट नृत्यकार रावल गिरफ्तार

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तरगत रहेको केन्द्रीय टोली ‘सामना सांस्कृतिक परिवार’का जनकलाकार पल रावतलाई सशस्त्र प्रहरीले घेरा हालेरे गिरफ्तार गरेको छ ।

रावतलाई ५०–६० जनाको सशस्त्र प्रहरीले घेरा हालेर अत्यन्त अपमानजनक तरिकाले गिरफ्तार गरिएको घटनाप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सफल नाटककार तथा उत्कृष्ट नृत्यकारसमेत रहनुभएका पल रावतलाई गिरफ्तार गरी ते¥हथुम सदरमुकाम लगिएको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले बुधबार प्रेस विज्ञप्ति जारी गरि गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई तत्काल बिनासर्त रिहा नगरे सशक्त प्रतिरोध गर्ने जसको जिम्मेवारी वर्तमान सरकार हुने विज्ञप्तिमार्फत् चेतावनी दिएका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअन्तरगत दुईमहिने ‘संगठन विस्तार तथा सुदृढ अभियान’ देशव्यापी रूपमा सञ्चालन भइरहेको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तरगत रहेको केन्द्रीय टोली ‘सामना सांस्कृतिक परिवार’ पूर्वी नेपालको गाउँबस्तीमा क्रियाशील रहेको छ । जनताका पीडा, आक्रोश, दुःख, सुखलाई गीतमा उन्दै जनताकै भाकामा गीत सुसेल्दै अघि बढिरहेकै बेला यही फागुन १४ गते सहिद सप्ताह मनाउनेक्रममा ते¥हथुम जिल्लाको पोख्रे भन्ने स्थानबाट सामना परिवारका लोकप्रिय जनकलाकार पल रावतलाई ५०–६० जनाको प्रहरीको सशस्त्र जत्थाले घेरा हालेर अत्यन्त अपमानजनक तरिकाले गिरफ्तार गरिएको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । सफल नाटककार तथा उत्कृष्ट नृत्यकारसमेत रहनुभएका पल रावतलाई यसरी निर्लज्ज छापामार शैलीमा पक्राउ गरी ते¥हथुम सदरमुकाम लगिएको घटनाप्रति हाम्रो सङ्गठन तीव्र रोष प्रकट गर्दछ ।’

वर्तमान केपी शर्मा ओली–पुष्पकमल दाहाल गठबन्धन सरकार विरोध गर्दै थपलियाले भने, ‘नेपालमा यतिबेला ओली सरकार देशभक्त, क्रान्तिकारी, परिवर्तनप्रेमी राजनीतिक शक्ति तथा जनतालाई कथित दुईतिहाइको दम्भमा बन्दुक र बुटको आतङ्क सिर्जना गर्दै देश र जनताका विरुद्ध उभिएको छ । नेपालको इतिहासमा सायदै योभन्दा खराब र निर्लज्ज अर्को कुनै शासक थिएनन् । जनताका मौलिक हक–अधिकारका खिलाफ स्वयम् उभिनु यो सरकारको विशेषता बनेको छ । यस्तो अत्याचारी र निकृष्ट सरकारका विरुद्ध सशक्त प्रतिरोध गर्नु जनताको नैसर्गिक अधिकार हो । आज सामाजिक दलाल फासिवादी ओली सरकारका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविका गम्भीर बन्न पुगेको छ । ओली सरकार जनताका लेखक–साहित्यकार–कलाकारहरूलाई खतरनाक दुश्मन ठान्दै तिनका विरुद्ध नृशंस दमनमा उत्रिएको छ । निर्लज्ज रूपमा निहत्था जनकलाकारमाथि ते¥हथुमको पोख्रेमा भएको प्रहरी दमन र फासिवादी हर्कतलाई हामीले यसै प्रकरणको निरन्तरताको नयाँ परिघटनाका रूपमा लिएका छौँ । दलाल सरकारको यसप्रकारको गतिविधिबाट क्रान्तिकारी, देशभक्त तथा स्वाभिमानी जनता आजित भइसकेका छन्, जनताको धैर्यताको बाँध अब धेरै दिन टिक्न सक्तैन ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘झन्डै चार दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनताका हरेक न्यायपूर्ण परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह आएको छ । इच्छुकलगायत १७० भन्दा बढी सांस्कृतिक योद्धाहरूले बलिदानको कोटा चुक्ता गरिसकेको सन्दर्भमा वर्तमान सामाजिक दलाल संसदीय सत्ताका मतियारले हाम्रो गौरवशाली सङ्गठनका लोकप्रिय जनकलाकारलाई बिनाकारण गिरफ्तारी गरिनु अत्यन्त निन्दनीय छ । यसर्थ, गिरफ्तारीमा पर्नुभएका जनकलाकार कमरेड पल रावतलाई यथाशीघ्र रिहाइको निम्ति हामी सम्बन्धित पक्षसित विशेष अपील गर्दछौँ । अन्यथा खपु सरकारविरुद्ध सशक्त प्रतिरोध गर्नुको कुनै विकल्प रहनेछैन, जसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् वर्तमान सरकार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत् चेतावनी दिन चाहन्छौँ ।’

२०७५ फागुन १६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :