नेकपाका जिल्ला इन्चार्ज संगीत गिरफ्तार, ब्युरो इन्चार्ज पुष्करको कडा चेतावनी

इटहरी : नेपाल कम्युनिस्ट पार्टीका मोरङ–धनकुटा ईन्चार्ज एवं कोशी ब्युरो सदस्य देवकुमार लिम्बू ‘संगीत’लाई गिरफ्तार गरेको छ ।
प्रदेश नम्बर १ को संघीय इकाई प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले इन्चार्ज संगीतलाई सुनसरीको धरानस्थित पानमाराबाट बुधबार दिउँसो गिरफ्तार गरेको नेकपाले कोशी ब्युरोले जनाएको छ ।
ब्युरो संयोजक पुष्करले बुधबारै प्रेस विज्ञप्ति जारी गर्दै नेता ‘संगीत’लाई प्रहरीले गिरफ्तार गरेको पुष्टि गरेका छन् ।
आफ्ना नेता संगीतलाई पार्टीको शान्तिपूर्ण काममा खटिरहेका अवस्थामा षडयन्त्रपूर्वक अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरी झुठा अभियोग लगाएको भन्दै ब्युरो संयोजक पुष्करले निन्दा गर्दै बिनासर्त तुरुन्त रिहा गर्न माग गरेका छन् ।
रिहा नगरिए सरकारको दमन र षडयन्त्रको सशक्त प्रतिरोध गर्ने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने कुनै किसिमको परिणामको जिम्मेवार सरकार स्वयम् हुने संयोजक पुष्करले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संगठनात्मक काममा हिँडिरहेको बेला फागुन १५ गते अपरान्ह धनकुटा–मोरङ संयुक्त जिल्ला समितिका ईन्चार्ज तथा कोशी ब्यूरो सदस्य क. देवकुमार लिम्बू ‘संगित’लाई पानमारा सुनसरीबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । उहा“लाई फसाउने षड्यन्त्र र मनसायले प्रहरी प्रसासनले प्रायोजित समाचार संप्रेसण गरिरहेको छ । यसप्रकारको षड्यन्त्र र गिरफ्तारीको निन्दा र भत्सर्ना गर्दछौं ’।

त्यस्तै विज्ञिप्तको अन्तमा भनिएको छ, ‘गिरफ्तार गरिएका क. संगीतलाई विनासर्त तत्काल रिहाईको माग गर्दछौं । अन्यथा यस्ता षड्यन्त्र र दमनको सशक्त प्रतिवाद गर्न पार्टी बाध्य हुनेछ । त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयम् हुनेछ ।’

आजै धरान प्रहरीले पत्रकार सम्मेलन गरी इन्चार्ज संगितलाई गिरफ्तार गरेको घटनालाई सार्वजनिक गरेको छ । प्रशासनले संगीतको गिरफ्तारबारे प्रायोजित समाचार दिइरहेको भन्दै आपत्ति समेत संयोजक पुष्करले जनाएका छन् । पछिल्लो चरणमा सरकारले नेकपामाथि दमन र हस्तक्षेपलाई बढवा दिएको छ भने उक्त हर्कतको नेकपाले घोर विरोध गर्दै आएको छ ।

२०७५ फागुन १५ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :