गिरफ्तार गरिएका नेता-कार्यकर्ता बिनासर्त रिहा नगरे प्रतिरोध हुन्छ : सुदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य रहेका भुजेल विगतमा नेकपा निकट युवा सङ्गठनमा आबद्ध थिए । प्रहरीले उनलाई मङ्गलबार गिरफ्तार गरेको हो ।

काठमाडौँको कलङ्कीमा पारिवारिक जमघटमा सहभागी भइरहेको बेला भुजेललाई गिरफ्तार गरेको जनाउँदै नेकपाले रिहाइको माग गरेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई बिनाकारण गिरफ्तार गरिएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् ।

मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै इन्चार्ज सुदर्शनले लुटखसोट गरेको धनबाट ढाडिएको सरकारले व्यक्तिगत काममा हिँडिरहेका आफ्नो पार्टीका ब्युरो सदस्य सूर्य भुजेललाई काठमाडौँको कलङ्कीबाट गिरफ्तार गरिएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् ।

यस्तै केही दिनपहिले अछामबाट गिरफ्तार गरिएकी नेकपा निकट अनेमसङ्घकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलगायत देशैभरि आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि दमन, धरपकड र गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा नगरे यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् सरकार हुुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेता सुदर्शनद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ :
सामाजिक दलाल पुँजीवादी सत्ताले नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य कमरेड सूर्य भुजेललाई आज दिउँसो काठमाडौँको कलङ्कीबाट आफ्नो घरायसी काममा हिँडिरहेको बेला गिरफ्तार गरेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एक्जिएटा कम्पनीद्वारा सञ्चालित एनसेलले नेपाली जनताबाट लुटखसोट मच्चाएर कर छलीसमेत गरी थुपारेको धनबाट ढाडिएको सरकार र त्यसका नेताहरूले गृह प्रशासनमार्फत देशव्यापी धरपकड मच्चाएका छन् । सुदूरपश्चिमको अछामबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा महिला मोर्चाकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, नारायणी ब्युरो सदस्य बुच्ची यादव, विद्यार्थी सङ्गठनका मानबहादुर तिरुवालगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको छ । क. बन्धु चन्द, सूर्य भुजेललगायत सम्पूर्ण गिरफ्तार कमरेडहरूलाई तुरुन्त बिनासर्त रिहा नगरिएमा पार्टी कठोर कदम चाल्न बाध्य हुनेछ र यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने चेतवानी दिन चाहन्छौँ ।

२०७५ फागुन १४ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :