अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विक रिहा

काठमाडौँ : अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक २५ दिनपछि रिहा भएका छन् । मोरङ जिल्ला अदालतको आदेशमा विक आइतवार रिहा भएका हुन् ।

माघ १७ गते साँझ मोरङको विराटनगर विमानस्थलबाट गिरफ्तार विकलाई हातहतियार तथा खरखजाना अभियोगमा मुद्दा चलाइएको थियो ।

बन्दी विकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, भरत थापा र अधिवक्ताहरू हरि फुयाँल, पुरुषोत्तम नेपाल, उद्धवचन्द्र घिमिरे, प्रेमप्रसाद घिमिरे, विमल मगर, चिरञ्जीवी ढकाल र कविता बस्नेतले बहस गरेका थिए । सरकारी पक्षबाट जिल्ला सहन्यायाधिवक्ताले बहस गरेका थिए । विकलाई २० हजार रुपैयाँ धरौटी लिएर रिहा गरिएको हो ।

अखिल (क्रान्तिकारी) ‘कम्युनिस्ट विद्यार्थी अभियान २०७५’ अन्तर्गत सङ्गठन सुदृढ तथा विस्तार कार्यक्रममा खटिइरहेका बेला विद्यार्थी नेता विकलाई विमानस्थलबाटै गिरफ्तार गरिएको थियो ।

रिहापछि कोषाध्यक्ष विकलाई नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठ, अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललगायतले स्वागत गरेका थिए ।

२०७५ फागुन १२ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :