किसानलाई पम्पसेट बाँड्दै नेकपा, हस्तक्षेप गर्दै सरकार

 

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी मोरङले किसानलाई कृषि सामग्री वितरण गरेको छ । नेकपा मोरङले शनिबार सुनबर्सी नगरपालिका २ का किसानलाई सिँचाइका लागि पम्पसेट र पाइप वितरण गरेको हो ।

नेकपा मोरङ जिल्ला इन्चार्ज प्रज्वलको नेतृत्वको टोलीले झन्डै ६० हजार मूल्यबराबरको पम्पसेट र पाइप वितरण गरेको हो । पानीको अभावमा खेती गर्न कठिन भएको किसानको गुनासोपछि नेकपा मोरङले १५ परिवारलाई खेती गर्न सहज हुने गरी उक्त पानी तान्ने पम्पसेट र पाइप प्रदान गरेको जानकारी नेकपा सुनबर्सी नगरपालिकाका सेक्रेटरी गणेश लिम्बूले दिए ।

नेकपाले किसानलाई पम्पसेट वितरण गर्ने तयारी गरिरहेको बेला प्रहरीले हस्तक्षेपको प्रयास गरेको थियो । प्रहरीले कृषि सामग्री वितरण कार्यक्रमका लागि तयार पारिएको ब्यानर खोस्नुका साथै नेकपाका नेता–कार्यकर्ताको मोटरसाइकलको चाबी थुतेर दुःख दिएको नगर इन्चार्ज लिम्बुले बताए । उनका अनुसार प्रहरीले किसानका झोलासमेत खानतलासी गरेको थियो ।

तर नेकपाका नेता–कार्यकर्ताले शान्तिपूर्ण रूपमा किसानलाई कृषि सामग्री वितरण गर्ने कार्यक्रममा समेत दुःख दिनु गलत भएको भन्दै प्रहरीबाट ब्यानर खोसी कार्यक्रम सम्पन्न गरेको जानकारी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज श्रेष्ठले दिए ।

शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय रहेको भन्दै उनले यस्तो हर्कत नगर्न आग्रहसमेत गरे । नेकपाले पीडित किसानलाई पम्पसेट बाँड्दासमेत अत्तालिने सरकारले जनताको अधिकारका लागि कुनै काम गर्न नसक्नेसमेत बताए । उनले भने, ‘शान्तिपूर्ण कार्यक्रम गर्दासमेत हस्तक्षेप गर्ने र बिनाकारण आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दा लगाई फसाउने षड्यन्त्र नगर्नसमेत चेतावनी दिन चाहन्छौँ, । यस्तो दमनको हर्कत नरोकिए प्रतिरोध गरिनेछ ।’

नेकपाले युद्ध नचाहेको भन्दै इन्चार्ज श्रेष्ठले जनताको सत्ता वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफूहरूले क्रान्ति गर्न खोजेको तर त्यसलाई बन्दुकको बलमा दमन गर्न खोजिए प्रतिकार गर्ने र त्यसले युद्धको रूप लिने चेतावनी दिए ।

२०७५ फागुन ११ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :