यौनव्यवसायी, भ्रष्ट मेनपावर सञ्चालक र लागूपदार्थ दुव्र्यसनीलाई नेकपाले कारबाही गर्ने


बिर्तामोड (झापा) : नेपाल कम्युनिस्ट पार्टी झापाअन्तर्गत रहेको युवा सङ्गठन नेपालको तेस्रो जिल्ला सम्मेलनपछि प्रथम बैठक बिर्तामोडमा सम्पन्न भएको छ । सङ्गठनका जिल्ला अध्यक्ष सेसेहाङ लिम्बूको अध्यक्षतामा बसेको बैठकमा मुख्य अतिथि सङ्गठनका मेची संयोजक निमा थिए भने पार्टीका जिल्ला सचिव सुमनसिंह पौडेलको विशेष उपस्थिति थियो ।
युवा सङ्गठनका मेची संयोजक निमाले युवाहरूलाई योजनाअनुसार सशक्त भएर लाग्न आह्वान गरे । युवाहरूले सबैतिर हस्तक्षेप गरेर अघि बढ्नुपर्ने उनले बताए ।
बैठकमा प्रशिक्षण दिँदै नेकपा झापा सेक्रेटरी पौडेलले भ्रष्टहरूले षड्यन्त्रमूलक ढङ्गले कब्जामा लिएका विकासका योजनाहरू खोसेर युवाहरूले लिनुपर्ने बताए । दलाल, तस्कर र भ्रष्ट जनप्रतिनिधिहरूले स्थानीय स्तरमा हुँदै गरेका कामहरूमा भ्रष्टाचार गरेकाले नेकपाका युवाहरूले सिङ्गो सङ्गठनलाई परिचालन गरेर आफ्नो पहलमा काम गर्न उनले निर्देशन दिए । आफैँ श्रम गरी उत्कृष्ट काम गरेर जनतालाई दिनुपर्ने र त्यसका लागि भ्रष्टहरूको कब्जामा रहेका सबै काम खोसेर अघि बढ्नुपर्ने पौडेलले बताए ।
प्रशिक्षणका क्रममा सेक्रेटरी पौडेलले भने, ‘अब सबै युवाहरूलाई क्रान्तिमा ल्याउनुपर्छ । राज्यको गैरजिम्मेवारीपनका कारण युवाहरूको हालत तहसनहस भएको छ । युवाहरूलाई क्रान्तिमा सहभागी गराएर एकीकृत जनक्रान्ति पूरा गर्नुपर्ने उनको भनाइ थियो । अब क्रान्ति नजिक आइरहेकाले युवाहरूले आफूलाई सैन्यीकृत गर्नुपर्ने स्थिति आएको पनि उनले बताए ।

बैठकले लागूपदार्थ दुव्र्यसनी गर्ने र गराउनेहरूमाथि कडा कारबाही गर्ने, लापरबाही गर्ने मेनपावर व्यवसायीहरूलाई कारबाही गर्ने, यौन व्यवसाय सञ्चालकहरू तथा भ्रष्टहरूलाई कारबाही गर्ने निर्णय गरिएको युवा सङ्गठनले जनाएको छ ।

२०७५ फागुन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :