श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

दार्जलिङका सडकमा सेनाको परेड, संचारमाध्यमहरू बन्द

 

thumb_20170610115234_darjaling-photo

दार्जलिङ  र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ । भारतका  अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा सेनाको प्रयोग भएको छ र यसले गम्भीर प्रश्न उठाएको छ भनेर लेखेका छन् । दार्जलिङका  सडक र गल्लीहरूमा सेनाको गस्ती छ । सेनाका ८ टुकडीहरू तैनाथ छन् ।  संचारमाध्यमहरू सबै बन्द गरिएको छ, ब्ल्याकआउट छन्  ।

त्यहाँ भारतीय नेपालीहरू अर्थात् ”गोर्खा’ हरूले गरेको लडाइँ भाषाको लडाइँ मात्र  नभएर अस्मिता र अस्तित्त्वको लडाइँ हो । सरसरती हेर्दा बंगाली भाषा थोपरिएको सन्दर्भ छ, तर,  आधारभूत समस्या गम्भीर छ । वास्तवमा,  “गोर्खेहरूको  हिजोदेखिको सङ्घर्षको इतिहास, हिजोदेखि भएका आन्दोलन, प्राप्ति र समस्याको समीक्षा गर्नु आवश्यक छ, यसको नयाँ किसिमले समीक्षा गर्नु आवश्यक छ, ” भनेर समाचार र लेखहरूले उठाएका कुरा  सही हुन् भन्नुपर्ने  हुन्छ । आधारभूत समस्यालाई पर सारेर निरपेक्षरूपमा समस्याको हल खोज्दा, सीमित प्राप्तिमा सम्झौता गर्दा र त्यसलाई लागू गर्नसमेत क्रियाशीलता नदेखाउँदा अनि प्राप्त उपलब्धीको रक्षा गर्न नसक्ता  समस्या झनझन जटिल बन्नु   स्वाभाविक छ । 

अहिले त्यहाँ भएको आन्दोलनप्रति नेपालका लेखक-पत्रकारहरूको पनि चासो छ र  समाचारहरू नेपालमा पनि प्रकाशित भइरहेका छन्  । फेसबुक, सामाजिक सन्जालहरू  समर्थनले भरिएका छन् । यो बन्धुबान्धवहरूले गर्ने स्वाभाविक अभिव्यक्ति हो । तर त्यहाँ भए/गरेका  हरेक आन्दोलनलाई नेपालसित जोडेर, नेपालले उकासेको भन्ने गरिएको छ र त्यतिले मात्र नपुगेर दार्जलिङमा भएको आन्दोलनमा नेपालका माओवादीको हात छ भन्दै, भारतीय नेपाली, त्यसमा पनि दार्जलिङ क्षेत्रका नेपालीले भाषिक हकअधिकार लगायत  आफ्नो अस्मिताको खोजी र अन्य भारतीय नागरिकले पाए सरहको सुविधालाई लिएर गरिएका सङ्घर्ष र आन्दोलनलाई खारेज गर्ने गरिएको छ । भारतीय नेपालीप्रति हेपाहा र उपेक्षाभाव राख्ने गरिएको छ । 

 अहिले दार्जलिङमा भएको आन्दोलनलाई लिएर अहिलेसम्म यस किसिमको समाचार नआए पनि कुनै पनि बेला यस किसिमको समाचार नआउला भन्न सकिन्न । दिल्लीका सत्ताघारीहरू र ममताबीच सुमधुर सम्बन्ध नभएकाले अहिलेसम्म ”नेपालले उचालेको”, “नेपालका माओवादीको हात ” भनेर भारतीय संस्थापन पक्ष नजिकका पत्रिकामा लेखिएको पाइएको छैन । नत्र ‘इन्डियन एक्सप्रेस ” तथा ‘टाइम्स अफ इंडिया” ले यसका बारेमा अनेक कथा रचीसकेका हुन्थे, फूलबुट्टा भरीसकेका हुन्थे । 

पछिल्लो समयमा त्यहाँका नेपालीबीच फूट ल्याउन, नेपाली भाषीबीच विभाजनको रेखा कोर्न ”नेपाली जाति” लाई बाहुन, लेप्चा, राई, गुरुङ  अदिआदिमा विभाजन गर्ने र भूगोल समेत टुक्र्याउने, पहाड र तल बीच झगडा गराउने, डुवर्स र कालिङ्पोङबीच भूगोलको विभाजनमार्फत एकता टुक्र्याउने काम सुरु भएको कुरा  माध्यमहरूले जनाएका छन् । लेखक-पत्रकारहरूले ”फुटाऊ र शासन गर” नीति सुरु भएको भनेर चिन्ता प्रकट गरेका छन् ।  मिहिन पाराले नेपाली भाषीबीचको एकता टुक्र्याउने र पद र प्रलोभनमा फसाएर अस्मिताको लडाईं कमजोर  पार्ने काम हुनथालेको कुरा त्यहाँका कतिपय नेपाली भाषाका माध्यमहरूले उल्लेख गरेका छन् । लेखकहरूले लेख लेखेका छन् । आसाम मेघालयमा समेत अंग्रेजको पालादेखि बसोबास गर्दैआएका नेपाली भाषीलाई एकएक बहाना बनाएर लखेट्न खोजेको कुरा प्रकाशमा आइरहेका छन् । हिन्दीको जगजगी तोड्न  बांग्ला अनिर्वार्य गर्न खोजिएको जस्तो देखिएपनि ममता बेनर्जीको  सरकार भूगोल र मनासिकता विभाजनको दीर्घकालीन योजनाबद्धमा लागेको  कुरा यताका दिनमा उनले अघि सारेका नीति तथा कार्यक्रमबाट थाहा हुन्छ ।

ऐतिहासिक सन्दर्भसित जोडेर ‘गोर्खा’ भाषा भनिए पनि भारतीय नेपालीले लेख्ने, बोल्ने भाषा, उनीहरूको मातृ भाषा नेपाली भाषा नै हो ।  नेपालमा १ प्रतिशतले पनि नबोल्ने हिन्दी भाषालाई नेपालको राष्ट्रिय भाषा बनाउन दिल्लीले निर्णय गरेर नेपालमा रहेका उसका दलालमार्फत नेपालमा उत्पात मच्चाउने काम गरिरहेको छ, संबिधानमा लेख्न दबाब दिइरहेको छ । अनि  भारतीय सत्ताधारीहरूले  चाहिं  लाखौं भारतीय  नेपालीले बोल्ने मातृ भाषा नेपालीमाथि दमन गर्ने कुरा पाच्य हुने कुरा हुँदैन । यस्तो बेला संसारको जुनसुकै कुनामा रहेको नेपालीले  बोल्नु आवश्यक हुन्छ ।  यसलाई “नेपालले उक्सायो’ अथवा “माओवादीको हात” को कुरा गर्नु सरासर बेमानी हो । यो फासीवादी चिन्तन र व्यवहारको उपज हो ।

यस अर्थमा नेपाली जनता “सुगौली सन्धि”‘ पछि भूगोलसहित भारतमा गाभिएका भारतीय नेपालीको पक्षमा बोल्छन्, उनीहरूमाथि भएका दमनका विरुद्ध बोल्छन् र लेख्छन । यो मानवीय प्रश्न मात्र नभएर बन्धुबान्धवसित जोडिएको प्रश्न हो । अहिले भाषाको प्रश्न  अगाडि आए पनि भारतको कुनै पनि कुनामा दुखेसो  गरेर बसेका नेपाली  भाषीहरूमाथि भएका सबैथरी  उत्पीडनका  विरुद्धमा र त्यसका विरुद्ध  उनीहरूले गरेका सङ्घर्षका   पक्षमा नेपालका नेपालीहरू मात्र होइन, विश्वका न्यायप्रेमी जनता बोल्छन् र बोल्नुपर्छ । यो सार्वभौम मूल्य हो । 

भारतमा भएका नेपाली भाषीमाथि भएका उत्पीडनका विरुद्ध बोल्दा त्यहाँको आन्दोलन दबाउन, आन्दोलनलाई बद्नाम गर्न बङ्गाल र दिल्लीको सत्ताधारी वर्गलाई  खुराकी मिल्छ भन्ने बहाना बनाउँदै  कतिपयहरू बडो विवेक दरिद्रता  प्रकट गर्छन् । यो घोर अवसरवादी सोचाइ मात्र नभएर गैरजिम्मेवारपूर्ण सोचाइ पनि हो । सत्तापक्षले सरल र सहज ढङ्गले उत्पीडित जनताको आवाज कहाँ / कहिले सुनेको छ र ? आन्दोलनमा फूट ल्याउन, बद्नाम गर्न, उसले जे पनि गर्छ, गोर्खाल्याण्डको कुरा गर्नेको कास्मिरी  आतंककारीहरूसित साँठगाँठ  छ, चीनको हात पनि छ भन्न सक्छ, लोभ-प्रलोभनका अनेक उपाय पनि अगाल्छ सक्छ ।   उसित यो बाहेक अर्को हतियार छैन । उत्पिडीतहरूको पक्षमा बोल्नु भनेको सत्यको पक्षमा उभिनु हो । 

अहिले त्यहाँ आन्दोलनरत क्षेत्रका  सामाजिक संजाल पढ्दा एउटा आवाज बडो जोडदार किसिमले उठेको पढ्न पाइन्छ त्यो हो, ”आत्मनिर्णयको अधिकार” । सामाजिक संजालमा लेखिएको पाइन्छ : “उनीहरूले सामान्य माग पनि स्वीकार्न आवश्यक नदेख्नुले दमनमार्फत हाम्रा आवाज बन्द गर्न खोजेको प्रस्ट हुन्छ र यसले हामीलाई आत्मनिर्णयको अधिकार प्राप्तिको लडाईंतर्फ प्रवृत्त गराउनु स्वाभाविक छ ।” त्यहाँको भाषिक आन्दोलनले कुन बाटो र दिशा लेला, त्यो समयले प्रस्ट पार्ला । अहिले त्यहाँ जे भइरहेको छ, यसले कलकत्तालाई मात्र होइन, दिल्लीलाई पनि हल्लाएको कुरा चाहिं सत्य हो । सेनाका ८ ओटा टुकडी तैनाथ गर्नुपर्ने अवस्था आउनु सामान्य अवस्था होइन ।

समयले गोर्खेहरूको सयभन्दा बढी (करिब ११०) वर्षको आन्दोलनको इतिहासलाई नयाँ किसिमले समीक्षा र संश्लेषण गर्न घचघच्याएको छ । नेपाली जातीय भावनालाई आवेगले होइन, अब तर्क, विचार र विवेकले डोर्याउनु आवश्यक छ । यसका लागि तत्कालको सानो लाभमा मात्र सीमित नरही उच्च हितका लागि दिर्घकालीन नीति तथा अभियानको आवश्यकता छ ।  दार्जलिङले भोगेको समस्या आफ्ना विशेषतासहित आसाम, उत्तराखण्ड लगायत भारतका  विभिन्न प्रान्तमा रहेका नेपालीभाषीको पनि समस्या हो । सारमा यो भारतमा अल्प सङ्ख्यकका रूपमा रहेका र हेपिएका सबै भाषाभाषी र जातजातिको समस्या हो । यस अर्थमा भारतमा हेपिएकाहरूको व्यापक एकता अर्थपूर्ण छ । 

छिमेकमा आगो लागेको बेला हामी तमासे बन्ने कुरै आउँदैन । हिजो नेपालमा उत्पीडन हुँदा , दार्जलिङले  ”जगजाग ” भनेर बोल्नका लागि हामीलाई उभिने  ठाउँ दिएको हो । नेपालका जनता ”ए नौ लाख तारा  उदाए” लाई मुटु जत्तिकै माया गर्छन् भन्ने कुरा झन् सत्य हो । 

मिरिकमा निस्केको राँके जुलुस फालोट (फालेलुंग) बाट असाध्यै मनमोहक देखिन्छ ।
श्रीअन्तु र टाइगरहिलबीचको दूरी धेरै टाढा छैन ।

डा. ऋषिराज बराल 

जनमेल डट कमबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :