पश्चिम कमान्डमा मनाइयाे २४औँ जनयुद्ध दिवस

नेपाल कम्युनिस्ट पार्टीले आज देशभर विभिन्न कार्यक्रमका साथ २४ औँ जनयुद्ध दिवस मनाइरहेका समाचारहरू प्राप्त भएका छन् ।

पश्चिमबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, पश्चिम कमान्ड तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले कमाण्ड क्षेत्रमा आयोजना गरिएको एउटा भव्य कार्यक्रममा सम्बोधन गरेका छन् । उक्त कार्यक्रममा पार्टीका नेता र कार्यकर्ताहरूका साथै स्थानीय किसान, मजदुर, सहिद परिवारहरू, महान् जनयुद्धका घाइते–अपाङ्ग, तिनका परिवारहरू, बुद्धिजीवी, शिक्षक, कर्मचारी, व्यापारी, व्यवसायीलगायतका जनसमुदायको उपस्थिति थियो । कार्यक्रममा सहिद परिवारहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा कञ्चनले भने, ‘महान् जनयुद्ध दिवसले हामीलाई हाम्रो अतीतको सम्झना दिलाउँछ र भविष्यप्रति गम्भीर बनाउँछ । हामीले महान् जनयुद्धको थालनी गर्दा मालेमावादको झन्डालाई कहिल्यै झुक्न दिनेछैनौँ, जनताको मुक्ति नहुँदासम्म हातको बन्दुक झर्न दिनेछैनौँ भनेका थियो । जीवनको बलिदान दिनुपरे पनि हामी जनताको मुक्तिबेगर कुनै प्रलोभन, दबाब र आतङ्कका अगाडि झुक्नेछैनौँ भनेका थियौँ । जनताको यो शपथ लिएका केही साथीहरू संसद्वादप्रति आत्मसमर्पण गरे पनि क्रान्तिको झन्डा उठिरहेको छ । झरेको बन्दुक भिरिएको छ र जनताको मुक्तिका लागि लडिरहिएको छ ।’

‘एकीकृत जनक्रान्ति भनेको सबै अस्त्रहरूलाई एकीकृत गर्ने हो’, कञ्चनले भने, ‘लेनिनले रुसी समाजवादी क्रान्तिका लागि रुसी पुँजीवादी साम्राज्यवादका विरुद्ध मजदुरको अस्त्र प्रयोग गर्नुभयो । माओ त्सेतुङले नयाँ जनवादी क्रान्तिका लागि चिनियाँ सामन्तवादका विरुद्ध किसानको अस्त्र प्रयोेग गर्नुभयो । हामीले वैज्ञानिक समाजवादका निम्ति दलाल पुँजीवादका विरुद्ध किसान, मजदुर, शिक्षक, विद्यार्थी, डाक्टर, प्रोफेसर, मध्यम वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, सेना, प्रहरी कर्मचारीलगायत देशका जात, जाति, जनजातिसहित सम्पूर्ण उत्पीडित नेपाली जनतालाई सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत गर्ने हो ।’ सबै उत्पीडित नेपाली जनता एकताबद्ध भएर नेपालको दलाल पुँजीवादी सत्ता र त्यसका पहरेदार संसद्वादीहरूलाई सत्ताच्यूत गरी जनताको सत्ता स्थापना गर्ने हो । कार्यक्रमामा मिठाइ वितरण गरिएको थियो ।

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :