नेकपा स्याङ्जाले बनायो ४८ वटा सङ्गठन


स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको २ महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत स्याङ्जामा पार्टी एकाइ तथा पार्टीका विभिन्न भ्रातृ सङ्गठनका ४८ वटा सङ्गठन निर्माण भएको छ । नेकपा स्याङ्जाको एकमहिने अभियानको समीक्षा बैठक गरी उक्त जानकारी दिएको हो ।

बैठकले संसदीय व्यवस्थाको विकल्पमा एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद हुँदै साम्यवादको बाटो पछ्याएको नेकपाले बर्सौंदेखि चलिआएको संसदीय व्यवस्थाले जनतालाई कुनै पनि राहत दिन नसक्ने निष्कर्ष निकाल्दै सुख, शान्ति र समृद्धिका लागि एकीकृत जनक्रान्तिको माध्यमबाट वैचारिक लडाइँका निम्ति सबै जनतालाई नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द हुन आग्रह गरेको जनाइएको छ ।
अभियानका क्रममा जिल्लाका नगरपालिका, गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर समसामयिक राजनीतिक परिस्थितिका बारेमा बहस, छलफल तथा अन्तरक्रिया गरी सङ्गठन निर्माण गरिएको जानकारी पार्टी केन्द्रीय सदस्य तथा अभियानका इन्चार्ज शीतलले दिए । शीतलले विभिन्न समुदायमा पुग्दा जनताले अहिलेसम्म जति पनि क्रान्ति भए अन्तिममा गएर सम्झौतामा टुङ्गिएर आफूहरुलाई उकुसमुकुस बनाएको र निष्कर्षको लडाइँ लड्न आफूहरु साथ दिन तयार रहेको बताएको जानकारी दिए ।

अभियान टिममा ब्युरो सदस्यहरू समर, गम्भीर, अमर, जगन, गोकुललगायतले स्याङ्जा अभियानका अनुभूति राखेका थिए । समीक्षा बैठकको सञ्चालन जिल्ला सेक्रेटरी गोकुलले गरेको जानकारी स्याङ्जाबाट पत्रकार ध्रुवले दिएका छन् ।

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :